लखेटिएका नेताहरु सुरक्षित,टिकटकमा भ्रम मात्रै

लखेटिएका नेताहरु सुरक्षित,टिकटकमा भ्रम मात्रै

भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध जेनेरेशन जेड अर्थात ‘जेन जी’ पुस्ताले थालेको आन्दोलनले अराजक र उग्र रुप लिँदा मुलुक अनपेक्षित मोडमा पुगेको छ । आन्दोलन नियन्त्रणभन्दा बाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओली हिजो पदबाट राजीनामा दिएर अज्ञातस्थलतर्फ लागेका छन् । रास्ट्रपति रामचन्द्र पौडेललाई पनि सेनाले सुरक्षित स्थानमा राखेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा दम्पत्तीमाथि बुढानिलकण्ठस्थित निवासमै कुटपिट भएको छ । उनीहरुलाई सेनाले पछि घाइते अवस्थामै रेस्क्यु गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुनै अत्तोपत्तो छैन । कुनै मन्त्रीलाई खोलै खोला लखेटिएको टिकटक बनाइएको छ भने कुनैलाई नाङ्गेझार बनाएर सडकमा घिसारिएको  र महाराजगन्जका डिएसपी मारिएको प्रचार गरिएको छ तर ती कोही पनि वास्तविक पात्र हैनन् । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई धोबीखोलामा लखेटिएको भन्ने भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । टाउकोमा हेल्मेट र हाफ प्यान्ट लगाएका उनलाई खोलामा लखेटेर कुटिएको भनिएको छ तर उनी त्यसअगाडि नै आन्दोलनकारीको भीडबाट बचेर प्रहरी मुख्यालय पुगिसकेका छन् । यता,मन्त्री पौडेल,सभामुख देवराज घिमिरे,राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल पनि श्रीमतीसहित त्यहीँबाट अन्यत्रै प्रहरीको सुरक्षामा छन् । 

पूर्वमन्त्री तथा सांसद एकनाथ ढकाललाई कट्टु मात्र लगाएर सडकमा घिसारिएको भनिएको भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भेटिन्छ । यता,राष्ट्रको सुरक्षामा खटिएका प्रहरीको पनि ज्यान लिइएको छ । तीन प्रहरीलाई कुटेर मारिएको छ भने धेरै प्रहरी सम्पर्कविहिन छन् ।  देशभरका थुप्रै प्रहरी कार्यालय र चौकीमा आगजनी गरिएको छ ।

टिप्पणीहरू