‘जेन जी’ पुस्ताको आन्दोलन : आशा थोरै, आशंका धेरै
जन्मँदा नै मोबाइल र इन्टरनेट बोकेर जन्मेको एउटा झुण्डले पहिलोपटक राजधानी काठमाडौं तताउन लागेको छ । १५ देखि २८ वर्षभित्रका रहरलाग्दा ती युवाहरूको झुण्डको अनेपेक्षित र अत्यावश्यक आन्दोलनको शुभमुहूर्त आज बिहान ९ बजे तोकिएको छ । सामाजिक तर यथार्थपरक संरचनाभन्दा पनि सामाजिक सञ्जालमै गाँस, बास र कपास खोजिरहेका, बुर्कुसी मार्दै हुर्कँदै गरेका जेन जी पुस्ताको यो आन्दोलनको पक्ष र विपक्षलाई लिएर बनाइएका खुराकहरू यतिखेर घिटिपिटी सास चल्दै गरेको सामाजिक सञ्जालमा छरपस्ट छ ।
देशको बेथिति, विकृति र विसंगतिविरुद्ध युवा झुण्ड जुरमुराउनुपर्छ, त्यो स्वागतयोग्य हो । हुन पनि बेथितिको बाङ्गो नाच मात्र होइन, विकृतिको नाङ्गो नाचबाट पनि स्वाभिमानी नेपालीहरूको शीर निहुरिनु परेको अवस्थामा एउटा बेजोड आन्दोलनको आवश्यकतालाई नकार्न सकिँदैन । तर, के जेन जीको यो आन्दोलनले ती विकृति, विसंगति, विचलन, नैराश्यता, भ्रष्टता र अराजकताको अल्छिनी अलंकारहरूमाथि आगो लगाउन सक्षम हुन्छ त ? कतै जुरमुराहटको नाममा फगत जोरी खोज्ने काम मात्र हुन लागेको त होइन ?
त्यसो हो भने यो आन्दोलन कुनै पनि मानेमा स्वागतयोग्य हुन सक्दैन । किनभने यतिखेर जेन जीले गर्ने भनेको आन्दोलनको उद्देश्य प्रष्ट हुन सकेको छैन । आन्दोलनको औचित्य पुष्टि गर्दै कुनै आधिकारिक सन्देश कतैबाट सम्प्रेषण भएको छैन । सामाजिक सञ्जाल प्रयोगकर्ता मात्र होइन, वरिष्ठ भनिएका केही पत्रकारहरूले पनि यसको उद्देश्यबारे आ–आफ्नो ढङ्गबाट व्याख्या गर्न थालेका छन् ।
कसैले यसलाई सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलन भनेका छन् । कसैले पद पावरको दुरुपयोग गर्दै अकूत सम्पत्ति कमाएका बाउआमा र त्यही सम्पत्तिमा विलासिताको जीवन जिउने पानीमरुवा छोराछोरीविरुद्ध भनेका छन् । कसैले भ्रष्टाचार र अन्यायविरुद्ध भनेका छन् । कसैले तीन दशकसम्मको लुटको अन्त्य भनेका छन् । कसैले सरकार बदल्ने नभई व्यवस्था नै बदल्ने आन्दोलनको हुँकार दिएका छन् । कसैले प्रत्यक्ष राष्ट्र प्रमुखका लागि आन्दोलन भनेका छन् ।
राजनीतिमा नयाँ धक्काको आवश्यकता छ तर परिपूर्तिको नाममा माछा–माछा भ्यागुता नहोस्, आन्दोलनको प्रष्ट खाका आउनुपर्छ, आन्दोलन कुहिरोको काग नबनोस्
सत्तापक्षले अराजक आन्दोलन भनेर फुकिरहेको छ । प्रतिपक्ष कोही मौन छन्, कोही समर्थनको मसिनो सास फेर्दैछन् । आन्दोलनको पूर्वसन्ध्यामा आइपुग्दा यसको लक्ष्यमाथि अनेक लख काट्न थालिएको छ, जसले डिजिटल अन्धकारमा बाँचिरहेका केही आत्माहरूलाई विलखमा पारेको छ । अझ अचम्म त के भने, आन्दोलनमा होमिन कम्मर कसेर बसेका केही युवाहरूको भनाइ आपसमा पटक्कै मेल खाएको देखिँदैन । उनीहरू पनि आ–आफ्नो ढङ्गबाट आन्दोलनको औचित्य पुष्टि गर्ने मेलोमा छन् ।
यही अन्योलको पूर्ण फाइदा उठाउँदै जेन जीविरुद्ध केही व्यक्तिहरू सलबलाउन थालेका छन् । उनीहरूले एआईबाट निर्मित सामाग्री पोस्ट्याउँदै विभिन्न प्रचारसमेत गरेका छन् । कतिपयले आन्दोलनको डिजाइन प्रचण्डका छोरी ज्वाइँले गरेको आरोपसमेत लगाउन भ्याएका छन् ।आन्दोलन आज बिहान संसद भवन, नयाँबानेश्वर बाहिर हुने भनिएको छ । कसैले माइतीघर मण्डला पनि भनेका छन् । आन्दोलनस्थलमै अन्योल सिर्जना भएको छ । त्यसमाथि यो आन्दोलन कति दिनका लागि हो ? निश्चित वा अनिश्चित ? कुन कालसम्मको आन्दोलन हो ? कसैले प्रष्ट पारेका छैनन् । आन्दोलनका मुख्य माग के हुन् ? ती माग लिपिबद्ध गर्दै ध्यानाकर्षणपत्र सरकारसमक्ष बुझाइयो कि बुझाइएन ? आन्दोलनको नेतृत्व कसले गर्ने ? स्वरूप कस्तो हो—धर्नामुखी, जुलुसमुखी, बन्दमुखी, अनशनमुखी, नारामुखी ? या के हो ? यी सबै विषयमा रनभुल्ल देखिन्छ । मूलभूत यथार्थ के हो भने आन्दोलनले देशलाई के दिन सक्छ ? के यो युवाशक्तिको नयाँ स्वरूप हो वा केवल उन्माद ? गम्भीर प्रश्न यहाँनेर उठेको छ ।
आन्दोलनलाई स्वतःस्फूर्त र सामूहिकताको रटान दिइएको छ । यसरी रटान दिने जेन जी पुस्तालाई थाहा छ कि छैन, आन्दोलन र पब्जी एउटै होइन भनेर ? कतिपय अवस्थामा सामूहिक नेतृत्वको फाइदा भए पनि स्पष्ट संरचना नहुँदा, खासगरी आन्दोलन जस्तो संवेदनशील क्षेत्रमा विनायोजना होमिन खोज्दा एकातिर आन्दोलन दिशाहीन भएर अराजक बन्न सक्छ भने कतिपय अवस्थामा छिट्टै तुहिन पनि सक्छ । यसतर्फ जेन जिले रणनीतिक जराहरू केलाएका छन् कि छैनन् ? धमिलो पानीमा माछा मार्ने तोरीहरूको कमी छैन मुलुकमा । मौकामा चौका हान्दै पशुपतिको जात्रामा सिद्रा बेच्ने अघोरीहरूको पनि कमी छैन मुलुकमा । यस्ता अवसरवादीहरूको बारेमा अध्ययन गरेका छन् कि छैनन् जेन जी का जवानहरूले ?
भर्खरै ओठमाथि जुंगाले जुरेली हाल्न थालेका युवाहरू विवेकभन्दा पनि पाखुरीमा विश्वास गर्ने गर्छन् । भनिरहनु पर्दैन—जेन जी त्यही पाखुरीमा बढी विश्वास गर्ने उमेर समूहको लर्को हो । त्यसैले आन्दोलन पाखुरीको बलमा हुने हो कि विवेकको बुतामा ? हेर्न बाँकी छ । तर एउटा शाश्वत सत्य भने के हो भने आन्दोलनको आवश्यकता अब कथाको माग बनेको छ । शासकहरूको पतनको कहानी लेख्ने बेला आइसकेको छ ।
आन्दोलनलाई स्वतःस्फूर्त र सामूहिकताको रटान दिइएको छ । यसरी रटान दिने जेन जी पुस्तालाई थाहा छ कि छैन, आन्दोलन र पब्जी एउटै होइन भनेर ?
जेन जीका आत्मीय जीवनहरूसँग सप्रेम सोध्न चाहन्छु—बुढो पुस्ताको पतनपछिको परिदृश्यमा शासक को बन्ने हो ? जेन जि पुस्तासँग झिन्जी हुन लागेको पुस्ताका यी र यस्तै धेरै प्रश्न छन् । झिन्जी हुन लागेका म जस्ता हजारौं पुस्ता पनि देशको स्थिति र परिस्थितिबाट हैरान भएको यथार्थ घामजस्तै छर्लङ्ग छ । नैराश्यता र कुण्ठाको कहालीलाग्दो कान्लामा उभिन अभिशप्त छ । पक्कै पनि हामी झिन्जी पुस्ता निभ्न लागेको ज्योतिको अवस्थामा छौं । तर, जेन जी पुस्ता तिमीहरू त आशाका किरण हौ ।
देशको स्थिति र परिस्थितिसँग पौठेजारी खेल्दै आन्दोलनकै अगुल्टो झोस्ने यो भगीरथ प्रयत्न कतै प्रत्युपादक नहोस् भन्ने हाम्रो चाहना हो । दुर्गा प्रसाईंहरूको घुसपैठ हुने खतरा कताकता सुनिएको छ । प्रसाईंको आन्दोलनको नियति जेन जीले भोग्नु नपरोस् भन्ने चाहना हो । कोही सुपरमार्केटभित्र छिरेर आइसक्रिम लुट्दै गरेको दृश्य देख्न नपरोस् भन्ने अपेक्षा छ । राजनीतिमा नयाँ धक्काको आवश्यकता छ तर परिपूर्तिको नाममा माछा–माछा भ्यागुता नहोस्, आन्दोलनको प्रष्ट खाका आउनुपर्छ, आन्दोलन कुहिरोको काग नबनोस्—कामना यही हो ।
निश्चय पनि नेपालको इतिहासमा अधिकांश आन्दोलनले केही न केही नयाँ मोड ल्याएको छ । इतिहासमा पहिलोपटक २८ वर्षमुनिका युवाहरूले आन्दोलन छेड्ने प्रयत्न गर्दैछन् । यो आन्दोलन परिवर्तनको बाटो बन्छ कि केवल सामाजिक सञ्जालकै ट्रेन्डमा सीमित हुन्छ, त्यो भने हेर्न बाँकी छ ।
टिप्पणीहरू