गृहमन्त्रीको प्रेस सल्लाहकारका भाइ नक्कली भारुसहित समातिए
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३, जोनापुरबाट नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ परेका छन् । जसमध्ये दुई नेपाली र तीन जना भारतीय नागरिक भएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट साढे ७३ हजार रुपैयाँ बराबरको नक्कली मुद्रा बरामद गरिएको छ ।
पक्राउ परेका नेपालीहरूमा शुक्लाफाँटा–१, बन्साहका ३२ वर्षीय सौगातबहादुर सिंह र २४ वर्षीय चन्द्र बोहरा छन् । भारतीय नागरिकहरुमा २५ वर्षीय कुलदिप चतुर्वेदी,२० वर्षीय अमित यादव र २४ वर्षीय हिमांशु शर्मा छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चतुर्बेदी बरेली तेसिलमिगञ्ज ग्रामका,यादव बरेली फटितेगञ्जका र शर्मा उत्तराखण्डको उद्धमसिंह नगरका बासिन्दा हुन् । उनीहरूलाई नेपाली सेनाको रणसिंह सुरक्षा गण,जोनापुर पोस्टले चेकजाँच गर्ने क्रममा नक्कली जस्तो देखिने ५ सय दरका एक सय ४७ थान भारुसहित पक्राउ गरिएको हो । यसबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय झलारीको टोलीले सेनाको चेकपोस्टमा उनीहरूलाई पक्रेको बताइन्छ ।
ती सबै भारतीय नम्बर प्लेट युपी १४ बीएच २०७३ भएको गाडीमा नेपाल आउँदै थिए । पक्राउ पर्नेमध्ये ३२ वर्षीय सौगातबहादुर सिंह गृहमन्त्री रमेश लेखकका प्रेस सहयोगी शेरबहादुर सिंहका भाइ (काकाको छोरा) रहेको खुलेको छ ।
टिप्पणीहरू