आँखा नदेख्ने नीरामाथि अन्याय
मन्त्रीले न्यूनतम मानवीय संवेदनासम्म ख्याल नराखी एक उपसचिव सरुवा गरेको विषयले महिला, बालबालिका मन्त्रालयको माहोल तातेको छ । नक्कली अपांग मालामाल, सक्कलीको बेहाल ! भइरहेको स्थितिमा एक अपांग महिला उपसचिवलाई महिला मन्त्रीले दुर्गमतिर ठेलेको विषयले कर्मचारी वृत्तलाई तरंगित बनाएको छ ।
मन्त्री भगवती न्यौपानेबाट पेलानमा परेकी दृष्टिविहीन कर्मचारी हुन् नीरा अधिकारी, जो महिला मन्त्रालयको सामाजिक समन्वय महाशाखामा कार्यरत थिइन्, दुई वर्षदेखि । महिला कार्यालय खारेजीमा परेपछि मन्त्रालयमा आएकी फरक क्षमताकी उनलाई दोलखाको भीमेश्वर नगरपालिकामा सरुवा गरिएको छ । जबकी न्यौपाने (गाइनो) स्त्रीरोगसँग संघर्ष गरिरहेकी छन् । दुई महिना लामो बिदा स्वीकृत गराएर अस्पतालमा उपचाररत उनै कर्मचारीको मन्त्रीले हुर्मत लिएकी हुन्।
उसो त अहिले पनि अधिकांश मन्त्रालय र कमाउ कार्यालयहरूमा मेडिकल बोर्डको कीर्ते र नक्कली सर्टिफिकेट बनाएर नक्कली अपांग कर्मचारीले अड्डा जमाइरहेका छन् । लेखा अधिकृत केदार देवकोटा तिनैमध्येका हुन् । यसअघि अर्थ मन्त्रालयमा रहेका उनको पालिकामा समायोजन हुँदा मेडिकल सिफारिस ल्याएर अहिले बूढानिलकण्ठ नगरपालिकामा लेखा शाखा चलाइरहेका छन् । यस्तै दीपक काफ्ले, जितेन्द्र बस्नेतका अलावा ध्रुव गैडा, राजेन्द्रराज ओझाले साधारण चश्मा लगाउनु पर्ने समस्या देखाएरै अपांगको परिचयपत्र लिइरहेका छन् ।
यसरी लाभ लिनेमध्ये केदार पेशागत महासंघका महासचिवसमेत हुन् । वीर अस्पतालमा कार्यरत टीकाराम पनेरु र युवराज सुवेदीलगायत दुबी आएकादेखि आँखाको पावर कम भएका (घ वर्ग) लेसम्म अपांग कोटाको सुविधा लिइरहेको बताइन्छ । उता हात नभएकी अधिकृत सुशीला ढकाल, आँखा नदेख्ने नीरा अधिकारीदेखि विजय लामिछानेजस्ता ‘ख’ वर्गका अपांग कर्मचारीहरू राज्यबाटै पेलानमा परिरहेका छन् । जसरी राजनीतिमा आरक्षण कोटाको प्रचुर लाभ लिनेमा डलर अर्वपति विनोद चौधरी, आरजु राणादेखि उमेश श्रेष्ठलगायत छन्, ठीक उही शैलीमा निजामतीमा समेत समावेशीताको लाभ लक्ष्यित समुदायले कम र धनी, टाठा–बाठा र स्रोत–साधनमा पहुँच भएकाहरूले बढी लिइरहेको भेटिन्छ । अवस्था यस्तो छ कि, अपांग कोटाबाटै बढुवा खाएका यिनै प्रशासकलाई अपांग भनिँदा मानहानीको मुद्धा लाग्ने डर !
उता पूर्व सचिवकी पत्नीले सरुवाको निर्णय १५ दिनमै उल्टाइदिएपछि हलचल छ । यसअघि सहसचिव निता अर्यालको सरुवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको थियो तर गत साउन अन्तिम साता भएको निर्णय १४ भदौमा उल्टिएको छ । उनी पूर्वसचिव लक्ष्मण अर्यालकी पत्नी हुन् । यसअघि नयाँदिल्लीस्थित नेपाली दूतावासको ‘इकोनोमिक मिनिष्टर’ थिइन् । २०७३ सालमा महिला कोटाबाट सहसचिव बनेकी ‘गुल्मेली चेली’ हुन् ।
उनीझैं बागमती प्रदेशमा सरूवा भएकी पार्वती शर्माले पनि दुई सातामै सरुवा उल्टाउन सकिन् । यता राजश्व अनुसन्धानमा जान खोजेका नुवाकोटे उदयबहादुर राना मगर त्यहाँ असफल भएपछि सम्पत्ति शुद्धीकरण जान जोडबल गरिरहेका थिए । उनलाई सञ्चार मन्त्रालयमा लगिएको छ । प्रदीप परियारमाथि भ्रष्टाचार मुद्धा चलेसँगै सूचना विभागको महानिर्देशक पद रिक्त छ । रानालाई त्यतै लैजाने तयारी हुनसक्छ ।
(जनआस्था साप्ताहिकको भदौ १८ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू