देउवापुत्रद्वारा आफैँ बाबुको दस्तखत

देउवापुत्रद्वारा आफैँ बाबुको दस्तखत

देशमा कानुनी शासनको दयनीय अवस्था दर्साउन परे ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने उखान स्मरणमा आउँछ । राज्य शक्तिमा रहेका पहुँचवाला व्यक्ति र आम सर्वसाधारणको हकमा ‘कानुनको नौ सिङ’ लाई कसरी व्याख्या गरिन्छ धेरैलाई थाहै छ । न्याय सम्पादनमा हुने पक्षपातलाई जनाउने यी दुवै उखानले नेपालको राजनीतिक अवस्था र न्याय प्रणालीको कटु यथार्थता बोकेको छ भन्दा अतिशयोक्ति नहोला ! 

खैर, यहाँ न्यायप्रणालीमा रहेका कमजोरीलाई सिद्धान्तको कसीमा राखेर समग्रतामा केलाउन खोजिएको होइन र त्यो सम्भव पनि हुँदैन । यसको एउटा सानो बान्की मात्रै प्रस्तुत गरिएको छ । सन्दर्भ हो, कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी सोही पार्टीकी केन्द्रीय सदस्य डा. आरजु राणाका छोरा जयवीर देउवा जोडिएको हिल्टन होटलसम्बन्धी मुद्दाको, जहाँ उनले बाबुको दस्तखस्त आफैं धस्काउँदासमेत अदालतले प्रश्न नउठाएको पाइएको छ ।

घटना गत वैशाख–जेठको हो । आफूविरुद्ध स्टाटस लेखेको भन्दै वैशाख ३१ गते जयवीर प्रहरीको साइबर ब्युरो गुहार्न पुगेका थिए । अघिल्लो दिन ३० गते अधिवक्ता सुजित केसीले आफ्नो फेसबुकमा ‘भ्रष्टाचारबाट आर्जित कालो धनलाई सेतो बनाउन गरिएको प्रपञ्च’ भन्दै एउटा समाचार लिंक शेयर गरेका थिए । त्यसले आफ्नो चरित्र हत्या गरेको जिकिरसहित कानुनी उपचार खोज्ने जयवीर आफैँले जाहेरी दरखास्तमा बाबु शेरबहादुर देउवाको ल्याप्चे र हस्ताक्षर दुरूपयोग गरेको खुलेको हो । 

प्रहरीले तयार पारेको जाहेरवालाको व्यक्तिगत विवरणमा जयवीर र शेरबहादुरको परिचयात्मक विवरण गोप्य राखी सांकेतिक नाम दिइएको छ । पीडित÷जाहेरवालाको व्यक्तिगत सुरक्षा, सम्मानपूर्वक बाँच्न पाउने हक तथा चरित्रसम्बन्धी गोपनीयताको संरक्षण गर्न व्यक्तिगत विवरण गोप्य राख्ने गरिन्छ । र, मुद्दाका क्रममा विभिन्न लिखत तयार गर्दा संकेत नामबाटै गरिनुपर्ने भएकाले प्रहरीले त्यसको मुचुल्का बनाएर सुनाउने गर्छ ।

सोहीअनुसार जयवीरको यो मुद्दामा संकेत नाम तय गरिएको विवरणको तपसिल खण्डमा ‘सम्बन्धित व्यक्तिको वास्तविक नाम, थर र वतन’ ‘दिइएको संकेत नामको विवरण’, ‘संकेत नाम सुनी पाएको व्यक्तिको विवरण’ ‘संकेत नाम सुनी पाएको व्यक्तिको दस्तखत’ र ‘कैफियत’ को छुट्टाछुट्टै कोलम राखेर हस्ताक्षर गरिएको छ । जयवीरको संकेत नाम साइबर ब्युरो ५५ लेखिएको छ भने उनले औंठाछाप र हस्ताक्षर पनि गरेका छन् । अर्को कोलममा जाहेरवालाका बाबुको परिवर्तित नाम साइबर ब्युरो ५५ (क) राखिएको छ । तर हस्ताक्षर र औंठाछाप भने यौटै छ ।

त्यसअघि जयवीरले दिएको ठाडो निवेदनमा उनको परिचय खुलाइएको छ भने बाबुको नाममा शेरबहादुर देउवा लेखिएको छ । साइबर ब्युरोका निर्देशकलाई संबोधन गरिएको पत्रमा ‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको छोरा म जयवीर देउवाको विरुद्ध भ्रामक तथा नकारात्मक टिप्पणीसहित होच्याई चरित्रहत्या गर्ने लगायतका अभिव्यक्ति दिई समाचार बनाई सम्प्रेषण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूर गरेको हुनाले निज कसुरदारलाई कानुनबमोजिम हदैसम्मको कारवाही गरिपाऊँ’ भनेर व्यहोरा प्रष्ट खुलाइएको छ ।

अर्को रोचक कुराचाहिँ, जयवीरले बिना हिच्किचाहट बाबुको सहीछाप आफूले गरेको सरकारी निकायबाट प्रमाणित कागजातमा स्वीकार गरेका छन् । अदालतमा भएको बकपत्रमा बाबुको औंठाछाप र हस्ताक्षर पनि आफैँले गरेको स्पष्टसँग खुलाएको देखिन्छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा भएको बकपत्रमा भने उनको नाम, थरबाहेक बाँकी सबै विवरण छर्लंग छ ।

इजलासबाट सोधिएको प्रश्न :

सवाल १– तपाईंका बाबुको नाम, आमाको नाम, उमेर कति वर्ष भयो ? घर कहाँ पर्छ, के काम गर्नु हुन्छ ? जवाफ १ – बाबुको नाम शेरबहादुर देउवा हो । आमाको नाम आरजु राणा देउवा हो । ३० वर्षको भएँ । व्यापार गर्छु । घर काठमाडौँ जिल्ला बूढानीलकण्ठ नपा वडा नम्बर २ हो ।

प्रतिवादीका कानुन व्यवसायी राजेन्द्र अधिकारीले गरेको जिरह यस्तो छ :

सवाल १८ - मिति २०८२/०१/३१ मा साइबर ब्युरोले तपाईंं र तपाईंंका बुबाको नामको गोपनीयता कायम गरिएको कागजमा गरेको सहीछाप तपाईंंको हो या होइन खुलाइदिनुहोस् ?

जवाफ १८ - सो कागजातमा गरेको सहीछाप मेरो आफ्नै हो ।

सवाल १९ - सोही कागजमा जाहेरवाला र जाहेरवालाका बुबाले गरेको सहीछाप र ल्याप्चे यौटै देखिन्छ । सो सम्बन्धमा के कसो भएको हो, खुलाइदिनुहोस् ।

जवाफ १९ - दुइटै सहीछाप मेरो आफ्नै हो ।

सवाल २० - तपाईंंले २०८२/०१/३१ मा गोपनीयता कायम गरिएको कागजमा गरेको हस्ताक्षर र जाहेरी दरखास्त तथा साइबर ब्युरोमा सोभन्दा अगाडि दिएको निवेदनमा हस्ताक्षर फरक देखिन्छ, के कसो भएको हो, खुलाइदिनुहोस् ।

जवाफ २० - हस्ताक्षर धेरै गरियो । हस्ताक्षर गर्दा गर्दा फरक पर्न गएको देखिएको मात्र हो, सोमा भएको सबै हस्ताक्षर मेरो आफ्नै हो ।

प्रश्न उठ्छ- औपचारिक सरकारी कागजातमा अर्काको औंठाछाप र दस्तखत गर्न मिल्छ ? जयवीरका ठाउँमा कुनै आम सर्वसाधारणले यसैगरी बाबुको सहीछाप आफैंले गरेको भए के हुन्थ्यो ? कानुनका जानकारहरू यसलाई गम्भीर त्रुटिका रूपमा औँल्याउँदै मुद्दा चल्नसक्ने कसूर हो भन्छन् । फौजदारी कानुनका जानकार अनन्तराज लुइँटेलका अनुसार खासमा जाहेरी दरखास्त दिँदा बाबुको हस्ताक्षर अनिवार्य गरिएको हुँदैन । भन्छन्– ‘यदि कसैको बाबुको मृत्यु भैसकेको वा अन्य कारणले उपलब्ध हुन नसक्ने अवस्थामा के प्रहरीले जाहेरी दर्ता नै गर्दैन त ? जयवीरले यो मुद्दा आवश्यक नपर्ने ठाउँमा पनि बाबुको संलग्नता देखाएर उनको पदीय हैसियत र राजनीतिक शक्तिको दुरूपयोग गर्न खोजेको अर्थ लाग्ने उनी बताउँछन् ।

यो मुद्दामा प्रतिवादीले हस्ताक्षर किर्ते भएको जिकिर लिएर मुद्दाको रोहमा प्रश्न उठाएको खण्डमा न्यायाधीशले हस्ताक्षर परीक्षण गर्न पठाउन सक्ने अधिवक्ता लुइँटेलको भनाइ छ । खासमा सर्वसाधारणको हकमा यस्तो गरेको भए मुद्दाको सुनुवाइकै क्रममा अदालतमा उठ्नुपर्ने विषय थियो यो । र, प्रतिवादीले आफूलाई फसाउनका लागि मिथ्या अभियोग लगाइएको दाबी गर्ने ठाउँ यसले दिएको छ ।

अर्कोतिर, प्रचलित कानुनले आफ्नो फाइदाका लागि कसैलाई झुक्याएर वा प्रभावमा पारेर झुटा विवरण उल्लेख गर्नुलाई गम्भीर अपराधका रूपमा लिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २७९ ले किर्ते जालसाजी गर्न नहुने भनेको छ । उक्त दफाको उपदफा १ मा कसैले जालसाजी गर्न गराउन नहुने भनिएको छ भने २ ले त्यसको थप व्याख्या गरेको छ । ‘कसैको हक मेट्ने, हदम्याद, तारिख जाने, कुनै किसिमले हानी, नोक्सानी गर्ने वा कसैलाई क्षति वा लाभ पुर्‍याउने नियतले जानी जानी नभएको वा नगरेको कुरा भए गरेको हो भनी वा झुटा मिति, अंक वा व्यहोरा उल्लेख गरी लिखत बनाएमा वा त्यस्तो लिखतमा सहीछाप गरे वा गराएमा वा आफ्नो हक नभएको कुरामा हक भएको देखाई कुनै काम गरेमा जालसाजी कसुर गरेको मानिने छ’ भनिएको छ ।

यस्तो कसुर गर्ने वा गराउनेलाई ३ वर्ष कैद, ३० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने उपदफा ३ मा व्यवस्था छ । अरूले आफ्नो चरित्रहत्या गरेको भन्दै कानुनी उपचार खोज्ने जयवीरको हकमा पनि मुलुकी अपराध संहिताको दफा २७९ को उपदफा ३ आकर्षित होला त ?

(जनआस्था साप्ताहिकको भदौ २५ गते बुधबारको अंकमा प्रकाशित)
 

टिप्पणीहरू