नखाऊँ भने दिनभरिको शिकार....
केही वर्षअघिको घटना हो, त्यतिबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा जारी गर्नुभएको थियो । टाउकोतिर चुच्चो निस्केको नक्सा । त्यसैले यसलाई नेपालमा ‘चुच्चे नक्सा’ पनि भन्ने गरिन्छ । तर अहिले दुई/चार वर्षपछि आएर थाहा भयो, यो चुच्चे नक्सामा चुच्चो मात्रै नेपालको रहेछ, नक्साचाहिँ भारतकै रहेछ । अहिले भारतले त्यही नक्सा हुँदै चीनसँग व्यापार थाल्ने सम्झौता गरेको छ । नेपालकै चुच्चो हुँदै चीन र भारतले व्यापार गर्न लागेको देखेर नेपाल हेरेको हेर्यै छ ।
केपी ओलीले आफ्नो राष्ट्रवादी छवि देखाउन संसदबाटै चुच्चे नक्सा पास त गर्नुभयो तर साँच्चै फिल्डमा पनि चुच्चो कायम गर्नतिर भने लाग्नुभएन । ओलीलाई लाग्यो होला, संसद भनेको सर्वोच्च निकाय हो । संसदले पास गरेपछि भइहाल्छ । तर संसद नेपालमा छ । चुच्चो भारतमा छ । यहाँबाट पास गर्दैमा कसरी हुन्छ ? चुच्चोमाथि भारतले दावी गर्यो । नेपालले नेपालमै हुँकार निकाल्यो । सकियो । त्यसपछि भारतले त्यो चुच्चोमा बाटो बनायो । नरेन्द्र मोदीले उद्घाटन गरेको दिन हामीलाई थाहा भयो । त्यसपछि नेपालमा हुंकार चल्यो । फेरि सकियो । अब त्यो बाटोबाट ब्यापार नै गर्ने सम्झौता पनि भयो । अब फेरि हुँकार चलिरहेको छ । तर हुँकारले कस्तो रुप ग्रहण गर्ला पत्तो छैन ।
केपी ओलीलाई प्रधानमन्त्री भएपछि भारत जाने ठूलै इच्छा थियो । त्यसैले निमन्त्रणा पत्र प्राप्त गर्न ठूलै प्रयास भइरहेको थियो । अहिले निमन्त्रणापत्र त प्राप्त भयो । तर निमन्त्रणा प्राप्त भएको चार दिन पछि व्यापार सम्झौताको जानकारी पनि प्राप्त भयो । यो त अनौठै संयोग भयो । नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने आफ्नै कान्छाबाउको अनुहार भनेको यही त होला नि । नजाउँ भने त्यत्रो मेहनत गरेर पाएको निमन्त्रणा, जाऊँ भने आफ्नै भूमि हड्पेर हेपेको अवस्था । अब गर्नु के ?
टिप्पणीहरू