‘विद्या भण्डारीको मुख हेर्न पनि मन छैन !’

राति चार जनालाई अगाडि राखेर ओलीको रिस

‘विद्या भण्डारीको मुख हेर्न पनि मन छैन !’

संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली तुर्कमेनिस्तान जाँदै थिए । साउन १८ गते आइतवार गएर २३ गते मध्यरात फर्कने कार्यक्रम थियो । भ्रमणको तयारी चलिरहेकै बेला मदन भण्डारीको हिरक जयन्ती मनाउने टिमसँग विद्या भण्डारीको अनुहार पनि हेर्न मन नभएको भन्दै आक्रोश पोख्ने काम भयो ।

साउन १५ गते साँझ बाग्मतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, पूर्वपरराष्ट्रमन्त्री तथा चीनका निम्ति राजदूत महेन्द्रबहादुर पाण्डे, गण्डकी विश्वविद्यालयका पूर्वउपकुलपति डा. गणेशमान गुरुङ र इन्सेकका पूर्व अध्यक्ष सुशील प्याकुरेल ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । सन्दर्भ थियो, हीरक जयन्ती वर्ष कार्यक्रमका निम्ति मिति तय गर्ने र प्रमुख अतिथिका रूपमा ओलीलाई आमन्त्रण गर्ने । त्यसदिन बालुवाटारमा भीड थियो । साउन ५ र ६ गते बसेको नवौं केन्द्रीय कमिटी बैठकले नै विद्या भण्डारीको सदस्यता नवीकरण रोक्ने निर्णय गरिसकेको थियो । साउन ९ गते शुक्रवार भण्डारीले पत्रकार सम्मेलनमार्फत आफ्नो सदस्यता कसैले खान नसक्ने बताएकी थिइन् । यही सन्दर्भका कारण नेता–कार्यकर्ता बालुवाटार गइरहेका थिए । नेकपा एमालेबाट कर्णालीका नेताहरू ओलीलाई भेट्न कुरिरहेका थिए । भ्रमणको तयारी र कार्यक्रमको ब्रिफिङका लागि परराष्ट्र सचिव अमृतबहादुर राईसहितको टोली पनि तल प्रतीक्षा गरिरहेको थियो । ‘ज्येष्ठ नागरिकहरूलाई पहिला पालो दिनुहोस् ।’

डा. गणेशमान गुरुङले ओलीका स्वकीय सचिव राजेश बज्र्राचार्यलाई त्यसो भन्नासाथ ओलीले खाना खाँदै गरेको ठाउँमा यो टोलीलाई लगियो । ओलीले चारै जनालाई सञ्चो–बिसञ्चो सोधे । अनि शुरु भयो विद्या भण्डारीको प्रसंग । डोरमणि पौडेलले मदन भण्डारीको हिरक जयन्ती मनाउने सन्दर्भ निकाल्नासाथ ओली झाेंक्किए । खाँदै गरेको गाँस रोके । सहभागी एक जना सुरक्षाकर्मीले भने, ‘दुई वटा चम्चा यता र उता प्लेटमा खेलाउनुभयो खाना पटक्कै खानुभएन ।’ खान छोडेपछि, महेन्द्रबहादुर पाण्डे बोले, ‘पहिला खानुस् अनि कुरा गराैँला ।’ दुई वटा चम्चाले खानालाई यता र उता खेलाउँदै ओली बोले, ‘अर्को वर्ष आउने हीरक जयन्ती अहिलेदेखि किन मनाउनुपर्ने हो ?’ 

‘हजुरसँग सल्लाह भएरै हामीले यो जिम्मा पाएका हौंँ, यसलाई अब विवादित नबनाऊँ, हजुरको मार्गदर्शन चाहिन्छ, हजुरले एउटा मिति दिनुहोस् प्रमुख अतिथिका लागि ।’ डोरमणिको कुरा भुइँमा झर्न नपाउँदै ओली जंगिए, ‘म अलोकप्रिय भएँ रे, मैले काम गर्न सकिन रे ? के भनेको यो ? अनि अहिल्यै विद्यालाई छोड्नुपर्ने रे, के हो यो तरिका ? पार्टी कसरी चल्छ, विद्यालाई थाहा छैन ?’ 

चारै जना मुखामुख भए । एकछिनपछि महेन्द्र पाण्डे बोले, ‘हजुरहरू एकआपसमा संवाद गर्नुपर्‍यो, यसरी बाहिर वादविवाद गरेर भएन ।’ ओलीले एकछिन सबैलाई हेरे । चुप रहे । यही बेला डा. गणेशमानले कुरा राखे, ‘आहा, कति राम्रो सम्बन्ध थियो हजुरहरूको, तलतल त्यस्तै सम्बन्ध देख्न चाहेका छन् ।’ सुशील प्याकुरेलतिर फर्केर ओली बोल्न थाले,‘ जे मन लाग्यो बोलेको छ, पार्टीलाई कमजोर बनाउन खोजेको छ, यसरी पार्टी बन्छ ? अर्काले खोसेर लगेको पार्टी जोगाएर यो तहसम्म पुगेको नदेख्ने, चौतर्फी घेराबन्दी हुँदा लोकप्रिय मत ल्याएको कसको नेतृत्वले हो ?’ जंगिएर प्रस्तुत भएका ओलीले अगाडि थपे, ‘म नभएको भए यो पार्टीको नाम र चिह्न आज कहाँ हुन्थ्यो, अनि उहाँले राजनीति गर्न कहाँ जानुहुन्थ्यो !’

सुशील प्याकुरेलले निकै आग्रह गरे । दुवै जना मिलेर जानुपर्छ भने । विगतका केही कुरा कोट्याए । ओली रोकिनेवाला थिएनन्, ‘विद्याको अनुहार पनि हेर्न मन छैन, म आउँदिन, सक्नुहुन्छ भने यस्ता गतिविधि नगर्न भन्नुहोस् ।’ ओली निकै आक्रोशित थिए । अब धेरै कुरा गरेर अर्थ नहुने देखेपछि गणेशमान गुरुङले खुइय गरे, ‘परराष्ट्रका कर्मचारीहरू कुरिरहेका छन्, तिनलाई धेरै कुराउनु भएन ।’ यसपछि यो टोली ओलीसँग बिदा भएर निस्कियो । 

ओलीले भनेका थिए, ‘साथीहरूसँग सल्लाह गर्छु, नआत्तिनू !’

साउन २ र ३ गतेको एमाले सचिवालय बैठकमा विद्या भण्डारीबारे छलफल भयो । उनलाई पार्टी राजनीतिमा आउनबाट रोक्न सकिने आँकलनहरू आए । नेताहरूले पनि यस्तै अभिव्यक्ति दिन थालेपछि भण्डारी र ओलीबीच ४ साउनको दिन च्यासलमा भेट भएको थियो । बाहिर चर्चामा रहेका र सचिवालयमा भएको छलफलबारे भण्डारीले चासो राखिन् । विद्या भण्डारीलाई आश्वस्त पार्दै ओलीले भने, ‘साथीहरूसँग सल्लाह गर्छु, उहाँहरूले राखेका विचारबारे कुरा गर्छु, धैर्य गर्नु– सबै ठीक हुन्छ ।’

ओलीसँग विगतको सहकार्यबारे भंगालमा गएकाहरूले सोध्न थालेपछि निकटहरूसँग विद्या भण्डारीले साउन ४ गतेकोे यसरी प्रष्ट्याउन थालेकी छन् । ओलीले एउटा कुरा, अर्काे व्यवहार गर्ने गरेको उनको गुनासो छ । महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीसँग संवाद गर्नुस् भन्नेहरूलाई उनले जवाफ दिने गरेकी छन्, ‘कठिन घडीमा सहकार्य गरी यो स्थानमा पुगेका साथीहरूलाई केही भनिरहनु पर्दैन, मेरो घर देख्नु भएकै छ, छलफल गर्न चाहनुभयो भने आउन सक्नुहुन्छ । विगतलाई बिर्सेर एकांगी हुनुहुन्छ भने त के नै लाग्छ र !’

(जनआस्था साप्ताहिकको भदौ ११ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू