पैसा नखाए पनि पत्नी र नाता पोस्ने नेता
एमाले महासचिव शंकर पोखरेल तुलनात्मक रूपमा त्यागी छन् र अरुले जस्तो लालच देखाउँदैनन् भनिन्छ । प्रायः सधैं पहुँच र उच्च पदकै राजनीतिमा आसीन भए पनि नियुक्तिका लागि चलखेल नगर्नेमा अरु नेताभन्दा पृथक् नभएका होइनन् । तर, लोभी पापी, स्वार्थी र बदनामहरूको बिगबिगीका बीच पोखरेललाई पनि केही घटनाले कमजोर नै देखाउने गरेको छ ।
‘शंकर पोखरेलले पैसा खाएर सरुवा–बढुवा गर्दैनन् भनेर जनआस्थामा लेखिएको रहेछ तर यसको अर्को पाटो पनि छ ।’ पोखरेलकी श्रीमती सुजिता शाक्य एमाले पोलिटब्युरो सदस्य र काठमाडौं उपत्यका विशेष इञ्चार्ज हुन् । त्यहाँ कर्मचारीहरु छन् पर्यटन र निर्माण व्यवसायीहरु जिल्ला कमिटी छन् । पेशागत सबै जनसंगठनको भेला उनी मातहतमै हुने भयो । प्रतिष्ठित उद्योगी, व्यापारी र ठेकेदारलाई उनैले चलाउने हो ।
ठ्याक्क ठेकेदारहरूको अधिवेशन भयो भने उनी पहिलेनै गइहाल्छिन्, राजनीतिक जमघटभन्दा यस्ता कार्यक्रममा उहाँको चासो र झुकाव बढी रहन्छ । पोखरेल आफू बाहिर नदेखिएर के गर्नु ? एमालेले पाउने नियुक्तिमा पोखरेलको तर्फबाट सबै तारतम्य शाक्यले नै मिलाउने गरेकी छन् ।
‘चार वटा भिसी (उपकुलपति) मध्ये दुई जना आफ्नै ठाउँ दाङको बनाए शंकर पोखरेलले । मध्यपश्चिम विश्वविद्यालयमा ध्रुव गौतम र पोखरामा बेदराज केसी । अनि महेन्द्र संस्कृतको रजिस्ट्रार आफ्नो भाञ्जा माधव अधिकारीलाई दोहोर्याई–तेहर्याई कतिचोटि बनाए !’ पोखरेललाई जति निस्वार्थ भनिए पनि श्रीमतीका कारण कतिपय नियुक्तिमा उनी मुछिने गरेको बारे पार्टीकै जिम्मेवार नेताबीच पनि बेलाबेला गाइँगुइँ चल्ने गर्छ । प्रेस काउन्सिलमा शरद अधिकारीलाई दाङबाटै ल्याएर राखे । पहिले वामदेव गौतमको मान्छे थिए ।
आफू पहुँचमै भए पनि राजदूतमा भने पोखरेलले तलमाथि खासै गरेको पाइन्न । सायद नियुक्ति दिने खालका निकटवर्ती नभएर श्रीमतीले आँट नगरेकी हुन् कि ! पोखरेलले आफ्नै बहिनी मेनकालाई समानुपातिक सांसदको एक नम्बरमा राखे । पाँच–छ नम्बरतिर राखेको भए पनि आम मान्छेको नजर त पर्दैनथ्यो होला भन्नेहरु पार्टीभित्रै थुप्रै छन् । मान्छेको पहिचान पावरमा भएको बेला देखिने हो । हामीले भ्रष्टाचार गरेनौँ, केही दुरूपयोग गरेनौँ भनेर कसले पत्याउँछ ?
विद्याकै हकमा दुई दुईपटक राष्ट्रपति खाएको भन्ने ठूलो आरोप छ । पार्टीले औपचारिक निर्णय गरेरै सदस्यतामा बन्देज लगाइदियो । यस्तो अवसरमा पोखरेलले ‘केपी र विद्या दुवैले अभिभावकत्व ग्रहण गरौँ, भन्ने आँट पोखरेलले गर्दैनन् । सबैलाई स्वीकार्य हुने व्यक्ति अरु कोही नभए मलाई समर्थन गर भन्ने आँट पनि राख्दैनन् । बरु अध्यक्षमा ओलीलाई नै तेहेर्याउने भनेर आफू फतक्कै गल्छन् भने उत्तराधिकारीको कुरा कसरी आउँछ ?
विद्या हुँदैन भन्दै गर्दा पोखरेलसहितका केही प्रभावशाली नेताले ओली पनि हुँदैन भनेको भए परिस्थिति अर्कै हुन सक्थ्यो । विद्या राष्ट्रपति नभई उपाध्यक्ष नै रहिरहेको भए सायद पहिला नै उत्तराधिकारी बनिसक्नुहुन्थ्यो । दुई–दुईचोटि राष्ट्रपति भएपछि के पुगेन ? उहाँले मात्रै खानुपर्छ भन्ने छ ? पार्टीमा एकसे एक नेता छन्, उहाँले समर्थन गरे हुँदैन ? भन्ने पनि छन् । यो भनेको अरु नेताले पनि नेतृत्वका लागि आँट गरे हुन्थ्यो भन्ने हो । तर पोखरेलहरूलाई त्यस्तो लाग्दैन ।’
(जनआस्था साप्ताहिकको भदौ ४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू