पूर्व राष्ट्रपतिको निम्तो प्रधानमन्त्रीद्वारा अस्वीकार

पूर्व राष्ट्रपतिको निम्तो प्रधानमन्त्रीद्वारा अस्वीकार

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो अस्वीकार गर्नुभएको छ । मदन भण्डारी हीरक जयन्ती मूल समारोह समितिको कार्यालय उद्घाटन समारोहमा सहभागी हुन मदन भण्डारी फाउन्डेसनको तर्फबाट पूर्व राष्ट्रपति तथा तत्कालीन उपाध्यक्षले गरेको निम्तो उहाँले इन्कार गर्नुभएको छ । फाउन्डेसनको संरक्षकका रुपमा उहाँलाई निमन्त्रणा गरिएकोमा सकारात्मक जवाफ नआएको बताइएको छ । 

पूर्व राष्ट्रपति भण्डारीको सम्पर्क कार्यालयका रूपमा समेत सञ्चालन हुने भनिएको सो कार्यालयको आज औपचारिक उद्घाटन गरिँदैछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षको हातबाट रिबन काटेर कार्यालय उद्घाटन गर्ने आयोजकको चाहना थियो । 

तर, अध्यक्ष ओलीले आफू कार्यक्रममा सहभागी हुन नभ्याउने भन्दै निम्तो नपठाउन सन्देश पठाएको फाउन्डेसन सम्बद्ध स्रोतको भनाइ छ । समितिका संयोजक डोरमणि पौडेलले औपचारिक निम्तो दिन प्रधानमन्त्रीसँग समय माग्नुभएको बताइन्छ । उहाँले प्रमुख अतिथि हुन इन्कार गरेपछि पूर्व राष्ट्रपति भण्डारीले कार्यालय उद्घाटन गर्ने तयारी गरिएको छ ।  

यसअघि प्रधानमन्त्री ओलीले मदन भण्डारी हीरक जयन्ती समारोहमा आफू आउने सन्देश पठाउनुभएको थियो । ‘उद्घाटनको अन्तिम तयारी सकिएपछि हिजो हामी छलफलमा बसेको थियौँ, प्रधानमन्त्रीज्यूले संयोजकज्यूलाई भेट्ने समय दिनुभएनछ, म आउँदिन र भ्याउँदा पनि भ्याउँदिन भन्नुभएछ’, समाचार स्रोतले सुनायो, ‘हीरक जयन्ती समारोहमा चाहिँ सहभागी हुन्छु भन्नुभएको छ, प्रमले निम्तो लिन नमानेपछि अब पूर्वराष्ट्रपतिज्यूले नै उद्घाटन गर्नुहुन्छ ।’

आजको समारोहलाई पूर्वराष्ट्रपति भण्डारीसहित एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने जनाइएको छ ।

टिप्पणीहरू