‘फ्रि भिसा’ पछि चीनमा पर्यटकको ओइरो
चीनको राष्ट्रिय आप्रवासन प्रशासन कार्यालयले चालु वर्षको पहिलो छ महिनामा विदेशी पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको जनाएको छ । यसको प्रमुख कारण चीनको भिसामुक्त यात्रा नीति (फ्रि भिसा) रहेको बताइएको छ ।
गत जनवरीदेखि जुलाई अन्तसम्म चीन पुगेका र त्यहाँबाट फर्केका विदेशी पर्यटकको संख्या तीन करोड ८० लाखभन्दा बढी देखिएको छ । यो संख्या गत वर्षको सोही अवधिभन्दा ३० प्रतिशत बढी हो ।
चीन घुम्न आएकामध्ये अष्ट्रेलिया र युरोपका पर्यटक बढी छन् । अष्ट्रेलियाबाट चीन पुगेका एक जना पर्यटक भन्छन्, ‘म ग्रेटवाल र फर्बिडन सिटी हेर्न निकै उत्साहित छु । साँच्चिकै रोमाञ्चक लागेको छ ।’
त्यस्तै नेदरल्यान्ड्सका पर्यटकको चाहना बेग्लै छ । उनी भन्छन्, ‘म अहिले भर्खरै आइपुगेको हुँ । तीन दिन बस्छु र मलाई चिनियाँ परिकार निकै मन पर्छ ।’
यसैबीच, बेइजिङ जनरल स्टेसन अफ एक्जिट एण्ड इन्ट्रिी फ्रन्टियर इन्स्पेक्सनले यात्रुहरूको सहुलियतका लागि आठ वटा मोबाइल एप सञ्चालनमा ल्याएको छ । साथै, पर्यटकहरूले चीन प्रवेश गर्दा अध्यागमनमा भर्ने फारामका लागि थप स्थान पनि थपिएको छ ।
अध्यागमन अधिकृतहरुका अनुसार थपिएका सुविधाका कारण पर्यटकहरुलाई निकै सहज भएको छ । बेइजिङका एक जना सीमा निरीक्षण अधिकृत भन्छन्, ‘बेइजिङ क्यापिटल इन्टरनेसनल एयरपोर्ट र बेइजिङ तासिङ इन्टरनेशनल एयरपोर्ट दुवैमा अस्थायी प्रवेश अनुमति दिनका लागि जम्मा ११ वटा विशेष च्यानल थपिएका छन्। यसले प्रक्रिया सरल बनाएको छ, जसअन्तर्गत एकैपटक सूचना समीक्षा, अनुमतिपत्र जारी र प्रमाणीकरण कार्य पूरा हुन्छ। यसले अस्थायी प्रवेश अनुमति दिने कार्यक्षमतामा उल्लेख्य वृद्धि भएको छ ।’
चीनको ‘फ्रि भिसा’ नीतिको सुविधा ४० भन्दाबढी मुलुकका नागरिकलाई प्रदान गरिएको छ । जसअन्तर्गत पर्यटकहरूले ३० दिनसम्म सजिलैसँग चीन बस्न पाउँछन् ।
स्रोत : सिसिटिभी प्लस ।
टिप्पणीहरू