अध्यागमनको बदनामी, विभागको निगरानी

अध्यागमनको बदनामी, विभागको निगरानी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय बदनाम बन्दै गएपछि समस्याको जरो खोज्न थालिएको छ । विशेषतः भिजिट भिसा काण्डका कारण बदनाम बनेको अध्यागमन विभागले अब यस्ता बद्मासीमा संलग्न निकायमाथि निगरानी अघि बढाउने प्रक्रिया अघि बढाइएको छ ।

विभागले नेपालबाट विदेशका विभिन्न शहरमा उडान भर्ने वायुसेवा कम्पनी, ट्राभल्स एण्ड टुर्स कम्पनी, कन्सल्टेन्सी र म्यानपावर कम्पनीहरूको नियमन गर्न सम्बन्धित नियामक निकायले गर्नुपर्ने उद्देश्यका साथ सरोकारवालासँग गहन छलफल चलाएको छ । भिजिट भिसा प्रकरणमा ती संस्थाको भूमिका पनि देखिएकाले अध्यागमन विभाग तातेको बताइन्छ । विभागले विदेशी मुद्रा सटही कारोबार गर्ने ईजाजतप्राप्त संस्थामाथि पनि निगरानी बढाउने जनाएको छ ।

त्रिवि विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत केही कर्मचारीका कारण भिजिट भिसामा भएको अनियमिततामाथि सदनदेखि सडकसम्म प्रश्न उठेपछि यसको जरोमा पुग्न प्रयास थालिएको विभागको दाबी छ । विभागमा नयाँ महानिर्देशक र त्रिवि विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत पनि नयाँ भएपछि उनीहरूको काँधमा त्यहाँको सेवा चुस्त, दुरुस्त र विवादरहित बनाउनुपर्ने ठूलो जिम्मेवारी आइपरेको बताइन्छ । 

विभागले पत्रकार सम्मेलनमार्फत् सात बुँदे अनुरोध जारी गरेको छ । जसमा वायुसेवा कम्पनी, ट्राभल्स एण्ड टुर्स कम्पनी, कन्सल्टेन्सी र म्यानपावर कम्पनीहरूको बदमासीबारे समेत खुलाइएको छ । जसमा कतिपय वायुसेवा कम्पनीहरूले अत्यधिक ‘ओभरबुकिङ्ग’ गर्ने, टिकट लिएका यात्रुहरूलाई बोर्डिङ पास नै नदिई फिर्ता पठाउने गरेको पाइएको छ । यद्यपि, अध्यागमन कार्यालयबाट ‘अफलोेड’ गरिएको भ्रामक सूचना प्रचार हुने गरेकोमा विभागको गुनासो छ ।

त्यस्तै, ट्राभल्स एण्ड टुर्स कम्पनी, कन्सल्टेन्सी तथा म्यानपावर कम्पनीहरूले खासगरी पर्यटकीय प्रकृतिको भिसामा विदेश प्रस्थान गर्न आउने नेपालीसँग बार्गेनिङ गर्ने, नक्कली कागजात आफैं बनाइदिने वा बनाउन प्रोत्साहित गर्ने गरेको पाइएको छ । ‘ट्राभल्सहरूले यात्रुहरूको दुईतर्फी टिकट बनाउने तर विमानमा चढ्न नपाउँदै आफैं टिकट रद्द गर्ने गरेको पाइएको छ,’ विभागले भनेको छ । 

विदेशी मुद्रा सटही कारोबार गर्न ईजाजत प्राप्त कतिपय संस्थाले भिजिट भिसामा जाने यात्रुको राहदानीमा डलरको वास्तविक सटही र कारोबारबिना नै सटही र कारोबार भएको भनी प्रमाणित गर्ने गरेकोसमेत भेटिनुलाई गम्भीर सेटिङको रुपमा लिइएको छ । अवैध गतिविधिमा संलग्न विमान कम्पनीमाथि नियमनका निम्ति विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका साथै ट्राभल्स एण्ड टुर्स कम्पनीमाथि पनि निगरानी गर्न पर्यटन विभागसँग छलफल अघि बढाएको छ । यसैगरी, भिजिट भिसामा हुने मानव तस्करीमा म्यानपावर कम्पनीको संलग्नतामाथि निगरानी बढाउन वैदेशिक रोजगारी विभागसँग पनि छलफल गरिएको छ।

कन्सल्टेन्सीमाथि नियमनका निम्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय अघि बढाएको विभागले विदेशी मुद्रा सटही कारोबार गर्ने संस्थामाथि निगरानी गर्न राष्ट्र बैंकलाई अनुरोध गरिएको छ । विभागले आम सञ्चार माध्यमलाई पनि विदेश यात्रासम्बन्धी झुठ्ठा विवरण, फर्जी कागजात र अध्यागमनका नाममा भइरहेका ठगी तथा रकम उठाउने कार्यबारे जनमानसलाई सुसूचित गराई चनाखो बनाउन अनुरोध गरेको हो ।

यस्ता अवैध क्रियाकलापमा जुनसुकै निकाय वा तिनका कर्मचारीको संलग्नता पाइएमा प्रचलित कानूनबमोजिम अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने र सम्बन्धित संस्थाको विवरण सार्वजनिकीकरण गर्ने चेतावनीसमेत विभागले दिएको छ । साथै, अध्यागमन काम गराउनका लागि बुझाउनुपर्ने भनि कुनै व्यक्ति, निकाय, एजेन्सी, म्यानपावर कम्पनी वा कर्मचारीले रकम मागेमा सम्पर्कका निम्ति महानिर्देशकसहितका अधिकारीहरूको मोबाइल नम्बर विभागले सार्वजनिक गरेको छ ।

महानिर्देशक रामचन्द्र तिवारीः ९८५११४०००६

त्रिवि प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेः ९८५१४३३३७७

अध्यागमन सूचना अधिकारीः ९८५१३१३६८६

त्रिवि अध्यागमन सूचना अधिकारीः ९८५१२३१६९१

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (टोल फ्री)ः १६६०–०१–२२२३३

आवश्यक परेमा जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा पनि सम्पर्क गर्न भनिएको छ ।

टिप्पणीहरू