रास्वपालाई प्रधानमन्त्रीको प्रश्न: रविमाथि प्रतिशोध भए अरूको हकमा के हो ?

रास्वपालाई प्रधानमन्त्रीको प्रश्न: रविमाथि प्रतिशोध भए अरूको हकमा के हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिप्रति कसले प्रतिशोध साँध्यो भन्दै प्रश्न गर्नुभएको छ । 

आज प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक व्यक्तिमाथि प्रतिशोध साँधिएको भए थुनामा गएका अरूको कुरा के हो भनेर पनि सोध्नुभयो ।

'लाखौं जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ। अदालतले मुद्दा हेरिरहेको छ । पूर्वमन्त्री, पूर्वसांसद्, वहालवाला मेयरलगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौं व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको छ', ओलीको प्रश्न छ, 'तर अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ । एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो ? त्यो चाहिँ कानुनी कारवाही हो ?' 

देश र जनताको हितमा केन्द्रित बहस गर्नुपर्नेमा सोसल मिडियालाई कन्टेन्ट दिने काममात्रै भएको भन्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति असन्तुष्टि जनाउनुभयो ।    

'म संसद्‌मा सरकारले के काम गर्‍यो भन्ने प्रश्न उठोस् भन्ने चाहन्थे । यस्ता कप्टी बहसले देशलाई कहाँ लैजान खोजिएको छ ? केही गरौँ भन्ने पनि होइन । गालिगलौज र उत्तेजनालाई प्रेरित गरिन्छ', उहाँ भन्नुहुन्छ ।  

संसद्मा अनावश्यक विषयहरु उछालिने गरेको भन्दै प्रम ओलीले कतिपय विषय राष्ट्रिय प्राथमिकता र आवश्यकतामा आधारित नरहेको दाबी गर्नुभयो । सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको भन्दै आक्रोश पोख्नुभयो । 

'के आजको हाम्रो राष्ट्रिय आवश्यकता यही हो ? पोजिसनका हिसावले प्रतिपक्षमा भए पनि जनताको मत लिएर आइसकेपछि प्रतिपक्षको पनि देशप्रति केही न केही दायित्व त होला नि !', उहाँ भन्नुहुन्छ ।

टिप्पणीहरू