गलत प्रचारले समाजमा कस्तो सन्देश जाला ?

गलत प्रचारले समाजमा कस्तो सन्देश जाला ?

नेपाल वायुसेवा निगमले विभिन्न सञ्चारमाध्यममा प्रकाशित भ्रामक र असत्य समाचारको खण्डन गरेको छ । निगम र निगमका अध्यक्षप्रति लाञ्छना लगाइएको समाचारमा कुनै सत्यता नरहेको बताइएको छ । 

‘काठमाडौं र साउदीमा कामदार अलपत्र छाडेर अध्यक्ष लिन निगमको जहाज हङकङ’ शीर्षकको समाचार भ्रमपूर्ण रहेको स्पष्ट गर्दै निगमले घटनाको यथार्थबारे जानकारी गराएको छ । हिजो जारी विज्ञप्तिमा जहाजमा प्राविधिक समस्याका कारण काठमाडौं–दम्मामको उडान रद्द भएको उल्लेख छ । 

उडान रद्द हुँदा समस्यामा परेका यात्रुहरुलाई अन्तर्राष्ट्रिय नियमानुसार निगमकै खर्चमा होटल सुविधा उपलब्ध गराइएको र अर्कोदिन वैकल्पिक उडानबाट गन्तव्यमा पुर्याइएको निगमको भनाइ छ । ‘निगमको एउटा जहाजमा प्राविधिक समस्या आउँदा काठमाडौं–दम्माम सेक्टरको उडान रद्द गरिएको थियो र उक्त सेक्टरको यात्रुहरुलाई निगमकै खर्चमा अन्तर्राष्ट्रिय उड्डयन संस्थाको नियमानुसार बासको सुविधा उपलब्ध गराइएको थियो’,विज्ञप्तिमा भनिएको छ,‘साथै, उक्त सेक्टरमा होल्ड भएका यात्रुहरुलाई अर्को दिन वैकल्पिक उडानमार्फत गन्तव्यमा पुर्याउने व्यवस्थासमेत गरिएको थियो ।’

त्यसैगरी, हङकङको विमानबाट कार्यकारी अध्यक्ष युवराज अधिकारी, मार्केटिङ डाइरेक्टर टंकनिधि दाहाल र सिनियर पाइलट विजय लामालगायत फर्किनु एउटा संयोग मात्र भएको विज्ञप्तिमा उल्लेख छ । निगमका अनुसार उनीहरु नेपाल–हङकङ उडानको ४३ औं वर्षगाँठको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन त्यता गएका थिए । 

अगाडि भनिएको छ,‘निगमले आफ्नो उडान तालिकाको प्रभावकारितामा कायम गर्न एउटा उडान स्थगित भएपछि अर्को उडानलाई असर नगर्ने हेतुले हङकङ उडान सञ्चालन गरेको हो । उक्त दिन उडानमा निगमका कार्यकारी अध्यक्षलगायतका टोली फर्किने संयोग मात्र परेको हो ।’ 

साथै, निगमले हङकङस्थित नेपाली साहित्यानुरागीहरुले आयोजना गरेको कार्यक्रममा अध्यक्ष अधिकारीको उपस्थितिलाई लिएर गरिएको टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जनआस्थासँगको कुराकानीमा अधिकारीले भने, ‘अर्कै कार्यक्रममा गएको सन्दर्भमा विदेशमा नेपाली भाषा साहित्यको उत्थानका लागि आयोजित कार्यक्रममा सहभागी हुनुलाई सकारात्मक रुपमा लिनसक्नुपर्छ । वास्ताविकतालाई उल्टाउँदै गलत प्रचार गरिँदा समाजमा कस्तो सन्देश जान्छ ?’


 

टिप्पणीहरू