आन्तरिक खतरा
अहिले देशमा बहुदल मात्र होइन, दलहरूमाथि पनि संकट छ । दललाई सीधा आएको होइन । दलका नेतालाई आएको हो ।
दलका नेतालाई संकट आएपछि दललाई पनि आएकै सरह भयो । दलका नेताहरू भन्छन्, अहिले देशलाई बाह्य शक्तिबाट खतरा छ । तर दलका नेतालाई भने आन्तरिक शक्तिबाटै खतरा छ । त्यसैले हरेक दललाई दलकै केही प्रमुख व्यक्ति बाहिर गइदिए हुन्छजस्तो लागिरहेको छ ।
जस्तो हेर्नोस्, एमालेमा विद्या भण्डारी पार्टीबाट बाहिरिए हुन्छ जस्तो लागिरहेको छ केपी ओलीलाई । माओवादीमा जनार्दन शर्मा बाहिर गइदिए हुन्छ जस्तो लागिरहेको छ पुष्पकमल दाहाल प्रचण्डलाई । कांग्रेसमा शेखर कोइराला बाहिर गइदिए हुन्छ जस्तो लागिरहेको छ शेरबहादुर देउवालाई । नेकपा (एस) मा झलनाथ खनाल बाहिर गइदिए हुन्छ जस्तो लागिरहेको छ माधव नेपाललाई ।
राप्रपामा धवलसमशेर बाहिर गइदिए हुन्छ जस्तो लागिरहेको छ राजेन्द्र लिङ्देनलाई । नाउपामा रञ्जिता श्रेष्ठ बाहिर गइदिए हुन्छ जस्तो लागिरहेको छ रेशम चौधरीलाई । हरेक पार्टीमा प्रतिपक्षी नेता आफै भित्रबाट जन्मिरहेका छन् । दलहरूको अवस्था यस्तो छ । तर नेताहरू भनिरहेका छन्, देशलाई बाह्य शक्तिबाट खतरा छ । यो कुरा अनौठो भएन र भन्या !
टिप्पणीहरू