हाकिम खुशी पार्दै, प्रमिला बालिका फकाउँदै

हाकिम खुशी पार्दै, प्रमिला बालिका फकाउँदै

ओखलढुंगामा एक बालिकालाई कार्यालय प्रमुखसँग ‘सेटिङ’ गराउन खोज्ने कार्यालय सहयोगी पक्राउ परेकी छन् । जिल्लास्थित एक सरकारी कार्यालयमा कार्यरत कार्यालय सहयोगी प्रमिला विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उनले कार्यालय प्रमुखसँग रात बिताउन ती बालिकालाई निरन्तर फकाउँदै आएको तथ्य खुलेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डिएसपी मदन केसीका अनुसार सिद्धिचरण नगरपालिका–१३ निवासी ती बालिका कक्षा ८ मा अध्ययनरत छिन् ।  उनका बाबुआमा रोजगारीको सिलसिलामा भारतमा छन् ।

अभिभावक नभएको मौका छोपेर प्रमिलाले हाकिम खुशी पार्ने उद्देश्यले फकाएको प्रहरीको निश्कर्ष छ । ‘बालिका खेलकुदमा केही रुची राख्ने रहिछन् । महिलाले त्यो रुचीलाई आधार बनाएर हाकिमसँग नजिक बनाउन खोजेको भेटियो । कुन उद्देश्यले यो गरियो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ डिएसपी केसीले जनआस्थासँगको कुराकानीमा भने ।

उनका अनुसार प्रहरीले २० मिनेटभन्दा प्रमिलाको लामो अडियो समेत प्राप्त गरेको छ, जसमा उनले बालिकालाई– ‘सरले तिमीलाई मन पराउनुभएको छ, तिमीसँग बस्न चाहनुहुन्छ, खर्च पनि दिन्छु भन्नुभएको छ’ भन्दै मनाउने प्रयास गरेकी छन् ।

अडियोमा प्रमिलाले बारम्बार ‘ठूलो मान्छेसँग संगत गर्नुपर्छ, भविष्य राम्रो हुन्छ’ भन्दै दवाव दिएकी सुन्न सकिन्छ। कतिसम्म भने उनले ‘बच्चा बसिहाल्यो भने औषधि हुन्छ, अहिले कोही चोखो हुँदैन, सम्बन्ध राखे पनि हामीलाई मात्र थाहा हुन्छ, सरले तिमीलाई सुरक्षित ठाउँमा लैजानुहुन्छ, कसैले थाहा पाउँदैन’ भनेर खुला यौन प्रस्ताव राखेको समेत उल्लेख छ ।

लामो समयदेखि यस्तो दवाव सहनु परेपछि बालिकाले अन्य साथीहरुलाई यो कुरा बताएकी थिइन् । साथीहरुले प्रहरीलाई खबर गर्न सुझाएपछि उनी उजुरी लिएर नजिकैको प्रहरी चौकीमा पुगेकी हुन् ।

डिएसपी केसीका अनुसार प्रमिलालाई म्याद थपेर अनुसन्धान अघि बढाइएको छ भने कार्यालय प्रमुखलाई पनि निगरानीमा राखिएको छ । ‘महिलाको हकमा म्याद थपेर अनुसन्धान भइरहेको छ । हाकिमकै निर्देशनमा यो काम भएको हो कि महिलाले आफैं हाकिमलाई खुशी बनाउन गरेको हो— केही दिनमै स्पष्ट हुन्छ,’ उनले भने ।

टिप्पणीहरू