सिभिलको एक रोपनी जग्गा लिलामीमा

सिभिलको एक रोपनी जग्गा लिलामीमा

समस्याग्रस्त सिभिल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको धितो लिलामी प्रक्रिया अघि बढेको छ । 

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज सूचना जारी गर्दै सोल्टीमोडस्थित सहकारीको जग्गा बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो । करिब एक रोपनी जग्गा लिलाम बिक्रीका लागि राखिएको सूचनामा उल्लेख छ । 

जग्गाको मूल्य प्रतिआना न्यूनतम ७५ लाख रुपैयाँ तोकिएको छ । उक्त मूल्यमा नघट्नेगरी जग्गा सकार्न चाहने बचतकर्ता, संस्था तथा व्यक्तिलाई आगामी ३५ दिनभित्र गोप्य शिलबन्दीसहित बोलकबुल पेश गर्न भनिएको छ । 

‘सिभिल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको बचतकर्ताहरुको बचत रकम फिर्ता गर्ने प्रयोजनार्थ यस सहकारीको नाममा रहेको तपशिलमा उल्लेखित जग्गा समितिले तोकेको न्यूनतम मूल्यमा नघट्नेगरी तोकिएको शर्तको अधिनमा रही ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र आह्वान गरिएको छ’, सूचनामा उल्लेख छ ।  

सहकारीले निक्षेप फिर्ता नगरेको भन्दै बचतकर्ताको उजुरीपछि बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले २०८० भदौ २१ गते सिभिल सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । सहकारीका तत्कालिन अध्यक्ष इच्छाराज तामाङ सहकारी ठगीमा कारागारमा छन् ।

टिप्पणीहरू