उत्तराखण्डको घटनापछि नेपाली दूतावासको प्रष्टोक्ति
भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा आएको भीषण बाढीपहिरोमा हालसम्म नेपाली नागरिक हताहतीको कुनै खबर नआएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । जीवित उद्धार गरिएका तथा मृतकको सूचीमा अहिलेसम्म कुनै पनि नेपाली नागरिक नरहेको दूतावासको भनाई छ ।
गत मंगलबार आएको भीषण बाढीपहिरोमा हालसम्म तीन सय ७२ जनाको सकुशल उद्धार र दुई जनाको शव फेला परेपनि सो सूचीमा नेपाली नरहेको उत्तराखण्ड प्रहरीलाई उद्धृत गर्दै दूतावासले जनाएको हो । यद्यपि, उत्तराखण्डकै पौडी गडबाल जिल्लाको बागोडामा अस्ति गएको बाढी पहिरोपछि पाँच जना नेपाली बेपत्ता रहेको बताइएको छ ।
त्यस्तै, बाढी पहिरोमा घाइते भएका चार जना नेपालीमध्ये तीन जना उपचारपछि घर फर्केको र एक जनाको उपचार जारी रहेको पनि दूतावासको भनाई छ । विपद्ग्रस्त क्षेत्रमा रहेका नेपालीको अवस्था, बेपत्ताका खोजी र उद्धार, घाइतेको उपचार तथा आवश्यक सहयोगका लागि उत्तराखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग निरन्तर समन्वय गरिरहेको दूतावासको दाबी छ ।
टिप्पणीहरू