सामाजिक सञ्जालमा फोटो हाल्ने के हो चौधरीको दाउ ?
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको एक वर्ष नाघिसक्दा पनि भारत सरकारबाट अहिलेसम्म राजकीय वा औपचारिक भ्रमणको निम्तो पाउनुभएको छैन । आगामी भदौ मसान्तका दिन २४ घण्टे भ्रमणको तयारी भइरहेको खबर बाहिरिएको बेला नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले भारतीय राष्ट्रपति भवनमा आयोजित राजकीय भोजमा सहभागिता जनाएको फोटो हतार हतार सामाजिक सञ्जालमा हालेका छन् ।
उक्त भोज हालै भारत भ्रमणमा रहेका फिलिपिनो राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको सम्मानमा आयोजना गरिएको थियो । चौधरीले राष्ट्रपति भवनमा खिचिएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि नेपाली राजनीतिक वृत्तमा अनेका चासो र चर्चाको विषय बनेको छ । एउटा मुलुकको सांसद अर्कै मुलुकको राष्ट्रपतिका भ्रमणमा भारतीय राष्ट्रपति भवनमा देखिनुलाई केवल सामान्य भेटघाटको रुपमा लिन नहुने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।
कतिपयले चौधरीको उक्त उपस्थितिलाई नेपाल–भारत सम्बन्धको औपचारिक धारभन्दा अलग एवम् निजी र वैकल्पिक सम्बन्धका रूपमा हेरिनुपर्ने बताएका छन् । भारतीय राष्ट्रपति भवन पुगेर असम्बन्धित व्यक्तिको रुपमा चौधरीले उपस्थित जनाउनु र त्यसलाई औपचारिक रूपमा तस्बीरसहित सार्वजनिक गर्नुलाई विश्लेषकहरूले कूटनीतिक पहुँचको प्रदर्शन तथा नेपाली नेतृत्वको वैकल्पिक हैसियत देखाउने प्रयत्नका रूपमा लिएका छन् ।
पूर्वकूटनीतिज्ञ तथा विश्लेषकहरू भन्छन्, ‘राज्यप्रमुखहरूको भोजमा सहभागी हुने विशिष्टता सहज रूपमा दिइँदैन । त्यो पनि तेस्रो मुुलुकको सांसद तथा व्यापारीको यस्तो अवसरमा उपस्थिति केवल व्यापारिक सम्बन्धको परिणाम हो भन्न सकिन्न । योसँगै उनी भारतसँग राजनीतिक हिसाबले पनि सक्रिय छन् भन्ने संकेत दिन खोजिएको हो ।’
अर्काथरीले चौधरीको आकस्मिक र अस्वाभाविक उपस्थितिलाई नेपाल सरकारप्रति भारतको शीत–कूटनीतिको रुपमा लिनुपर्ने बताएका छन् । नेपालका शीर्ष नेता तथा अधिकारीहरुको अनुपस्थिति रहेको ठाउँमा भारतीय पक्षले चौधरीलाई अघि सारेर औपचारिक नेपाली नेतृत्वको सट्टा मारवाडी वा वैकल्पिक नेताहरूलाई प्राथमिकता दिन थालेको अर्थको रुपमा बुझ्न आग्रह गरिएको छ ।
सांसदको आवरणमा व्यवसायमा ब्रम्हलुट मच्चाइरहेका चौधरी विगत केही समयदेखि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो राजनीतिक ‘ब्रान्डिङ’ मा लागेको सहजै अनुमान गर्न सकिन्छ । अहिले भारतीय राष्ट्रपति भवनमा आयोजित असम्बन्धित मुलुकका राष्ट्रपतिको सम्मानमा राखिएको भोजमा भएको उनको उपस्थितिलाई भविष्यमा नेपालको नेतृत्व भूमिकामा ‘वैकल्पिक अनुहार’ को रूपमा उभ्याउने संकेत पनि हो भन्नेहरु भेटिएका छन् ।
टिप्पणीहरू