पूर्वमा आमहड्तालको प्रभाव न्यून
पूर्वका पहिचानवादी समूहले कोशी प्रदेशका आठ जिल्लामा गरेको आम हड्ताल प्रभावहीन देखिएको छ ।
लिम्बुवान राज्य पुनर्स्थापनाको माग गर्दै संघीय लिम्बुवान पार्टी, लिम्बुवान राष्ट्रिय मोर्चा र लिम्बुवान क्रान्तिकारी पार्टीले आज हड्ताल घोषणा गरेका थिए । तर, बन्दको खास प्रभाव देखिएको छैन ।
प्रहरीका अनुसार झापा, मोरङ, सुनसरी, पाँचथर, इलाम, ताप्लेजुङ लगायतका जिल्लामा लिम्बुवानका कार्यकर्ताले यातायात बन्दको प्रयास गरेपनि सफल भएनन् । ति जिल्लामा निर्वाध ढंगले सवारी साधन संचालन भैरहेको छ ।
सडकमा बन्दकर्ताको उपस्थिति अत्यन्त न्यून रहेकाले आम हड्ताल सफल नभएको सुनसरीका प्रहरी प्रमुख एसएसपी सुमनकुमार तिमिल्सिनाले जानकारी दिए ।
यसअघि प्रहरीले आठै जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको थियो । प्रदेश प्रहरी कार्यालयले थप ६५ जना सुरक्षाकर्मी खटाएको थियो । तर, लिम्बुवानका कार्यकर्ता न्यून संख्यामा मात्रै सडकमा देखिएको एसएसपी तिमिल्सिनाले जनआस्थालाई जानकारी दिए ।
‘लिम्बुवान पक्षधरका तीन दलले एउटा विज्ञप्ति निकालेर आमहड्तालको घोषणा गरेका थिए, हामीले पनि त्यहीअनुसार सुरक्षा संयन्त्र परिचालन गरेका थियौँ’, उनले भने, ‘तर सोचेभन्दा निकै कम मान्छे देखिएका छन्, अहिलेसम्म कहिकतै यातायात अवरुद्ध छैन ।’
लिम्बुवान स्वायत्त राज्यको माग गर्दै पहिचानवादी समूहले यसअघि पनि पटक-पटक आन्दोलन गरिसकेका छन् ।

टिप्पणीहरू