बागमतीका बानियाँ विश्वासको मतमै च्यापिने सम्भावना
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विश्वासको मत लिने क्रममा अप्ठेरोमा पर्ने सम्भावना बढेको छ । नेपाली कांग्रेसभित्रको आन्तरिक किचलो निकालेर सत्ता कब्जा गरेका बानियाँको दुई दिनको कार्यकालमा उक्त संकेत देखिएको भन्न थालिएको छ ।
कांग्रेस केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठको समर्थन र सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीको लगानी जोगाउने रणनीति लिएर अघि बढेका बानियाँले बूढानीलकण्ठको निर्देशनसमेत उल्लङ्घन गरेको बताइन्छ । यिनै कारणले बानियाँ नेतृत्वको सरकारको भविष्य अन्योलमा पर्ने सम्भावना बढेको हो ।

चौधरीको असन्तुष्टि र लामाको बहिर्गमन
अघिल्लो सरकारमा आर्थिक मामिलामन्त्री रहेका बहादुरसिंह लामाले चौधरी ग्रुपले आयात गर्न खोजेको तर बंगलादेशमा अस्वीकृत इभी ट्याक्सीलाई अनुमति नदिएपछि चौधरी असन्तुष्ट बनेका थिए । त्यसपछि चौधरीको लगानी जोगाउने अभियानअन्तर्गत बानियाँलाई मुख्यमन्त्री बनाउने खेल सफल भए पनि उनको बेलगाम हर्कतले चौधरी स्वयम् पनि जोखिममा परेको विश्लेषण गरिएको छ।
उक्त ट्याक्सी आयातलाई तत्कालीन श्रममन्त्री प्रेमभक्त महर्जन (उनका छोरा चौधरी ग्रुपमा कार्यरत छन्) ले बारम्बार अगाडि बढाउने प्रयास गरेका थिए । तर मुख्यमन्त्री लामाले ‘कार्यविधि अनुसार मापदण्ड नपुगेको’ भन्दै प्रस्ताव अस्वीकार गरेपछि सोही निर्णय नै लामाको विस्थापनको सूत्रपात बनेको भनिन्छ ।

गगन, आरजू र बानियाँको चुलिँदो सम्बन्ध
केही वर्षदेखि बूढानीलकण्ठ प्रवेशमै रोक लगाइएका बानियाँ पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी एवम् परराष्ट्रमन्त्री डा. आरजू राणाका प्रिय पात्र कसरी बने भन्ने प्रश्नले पार्टीभित्रै हलचल ल्याएको छ । महासमिति बैठकमा गगन थापासँग खुलेरै देखिए पनि, गगनकै प्रतिवेदनमा सार्वजनिक रूपमा विमति जनाएका बानियाँप्रति उब्जिएको आशंकाको पर्दा अब खुल्न थालेको भन्नेहरु पनि छन् ।

देउवासँगको सहमति लत्याउँदै नयाँ खेलमा बानियाँ
बानियाँले मुख्यमन्त्री बनेपछि संसदीय दलका नेता लामा र सभापति देउवासँग भएको दुई बुँदे सहमति उल्लङ्घन गरेका छन् । जसअनुसार लामाले पछिल्लो समय नियुक्त गरेका तीनजना मन्त्रीलाई नयाँ सरकारमा यथावत राख्नुपर्ने र सरकार सञ्चालनमा समान अधिकार हुने सहमति भएको थियो । अहिले बानियाँले ती मन्त्रीलाई शपथ नखुवाउने रणनीति लिएपछि लामापक्ष आक्रोशित भएको हो ।
उक्त समूहका १५ जना सांसदले विश्वासको मत नदिने तयारी थालेको बताइन्छ । यस्तो अवस्थामा बानियाँको बहुमत जुटाउने सम्भावना कमजोर हुनपुग्ने निश्चित छ । पार्टी सभापति देउवाले यही विषयमा छलफल गर्न मुख्यमन्त्री बानियाँलाई बूढानीलकण्ठ बोलाएका हुन् ।


टिप्पणीहरू