नेपालमा भोल्टे रोमिङ शुरु गर्ने एनसेल पहिलो
नेपाल भ्रमणमा आउने विदेशीसँगै विभिन्न मुलुक जाने आफ्ना ग्राहकका लागि भ्वाइस ओभर लङ टर्म इभोल्युसन (भोल्टे) अन्तर्राष्ट्रिय रोमिङ सेवा शुरु गर्ने एनसेल पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ ।
योसँगै अब एनसेलका ग्राहक विदेश यात्रा गर्दा पनि स्पष्ट सुनिने भ्वाइस कल र उच्च गतिको डेटा प्रयोग गर्दै सधैं अन रहन सक्नेछन् । एनसेलले पहिलादेखि नै विभिन्न देशबाट नेपाल आउने विदेशीलाई इनबाउन्ड भोल्टे रोमिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले आफ्नो सेवा विस्तार गर्दै भारत जाने ग्राहकका लागि एयरटेलसँगको साझेदारीमा आउटबाउन्ड भोल्टे रोमिङ सेवा पनि प्रदान गर्न थालेको छ । भोल्टे दूरसञ्चार क्षेत्रको नयाँ प्रविधि हो ।
यसले फोरजी नेटवर्कमार्फत झन् छिटो कनेक्ट हुने उच्चस्तरीय आवाजसहितको एचडी कल सुविधा प्रदान गर्दछ । यो सेवा थपिँदा पहिला नै रोमिङ अफरको फाइदा लिइरहेका ग्राहकलाई झन् लाभ पुग्ने एनसेनको विश्वास छ ।
भारतमा रोमिङ सेवा विस्तारसँगै थप अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायकसँग भोल्टे रोमिङ विस्तार गर्न परीक्षण गरिरहेको एनसेलले जानकारी गराएको छ ।
उसका अनुसार भारतको जियो र भोडाफोन, अमेरिकाको एटी एन्ड टी, टी मोबाइल र भरिजोन, जापानका सफ्टबैंक र एनटीटी डोकोमो, चीनको चाइना मोबाइल र चाइना युनिकम तथा क्यानडाको बेल र टेलसलगायत प्रमुख अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायकसँग आउटबाउन्ड रोमिङ सेवा परीक्षण भइरहेको छ ।
इनबाउन्ट भोल्टे रोमिङका लागि एनसेलले एयरटेल र जियो (भारत), चाइना मोबाइल, ओरेडू (कुवेत), मोबिली (साउदी अरेबिया) एटी एन्ड टी (अमेरिका) र भियटेल (भियतनाम) का ग्राहकलाई भोल्टे रोमिङ उपलब्ध गराउँदै आएको छ ।
आफ्ना ग्राहकलाई देश बाहिर जहाँ गएपनि उनीहरुका परिवारजन, साथीभाइ र व्यवसायसँग सधैं कनेन्टेड रहन एनसेलले विश्वव्यापी रोमिङ नेटवर्क विस्तार गरिरहेको छ ।
टिप्पणीहरू