राजीनामाको दबाबमा परे रामहरि

राजीनामाको दबाबमा परे रामहरि

प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई पद छोड्न नैतिक दबाब परेको छ । 

संसदीय छानविन विशेष समितिले संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको चलखेलमा नैतिक जिम्मेवार ठहर्याएपछि पार्टीभित्र र बाहिरबाट उनी दबाबमा परेका हुन् । यसअघि खातिवडाले यसमा आफ्नो संलग्नता पुष्टि भए एकक्षण पनि पदमा नबस्ने भन्दै आएका थिए । 

आजको प्रतिनिधि सभा बैठकमा विपक्षी पार्टीका सांसदले यो कुरा चर्को रुपमा उठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले कुलिङ पिरियडमा भएको गडबडीमा खतिवडा दोषी देखिएको भन्दै राजीनामा मागे ।  

विगतमा सञ्चारमाध्यमहरूमा समाचार आउँदा रास्वपालाई नैतिक प्रश्न सोधिने गरेको स्मरण गरेका उनले खातिवडामाथि पनि त्यस्तै प्रश्न उठाए । 

‘कर्मचारीको कुलिङ अफ पिरियडको विषयमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिज्यूमाथि नैतिक प्रश्न उठेको छ । छापाहरुमा यस्तै समाचार आउँदै गर्दा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो । अब उहाँलाई नैतिक प्रश्न’, उनले सोधे, ‘यो नालायकीपनको जवाफ कसले दिने ? यसको जिम्मेवारी पनको जवाफ कसले दिने ? मेरो नाम लेखेको छैन भन्दैमा उम्किन पाइन्छ ? अहिलेको प्रधानमन्त्री भनेपछि हामी कसको नाम सम्झिन्छौं ? यहाँ पदको नाम लेखिएको छ नि ।’

कांग्रेसभित्रै पनि खतिवडाको भूमिकालाई लिएर एकथरी नेता असन्तुष्ट देखिएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले छानविन समितिको प्रतिवेदनको मर्म अनुसार यसबारे पार्टीले निर्णय लिने प्रतिक्रिया दिएका छन् ।

खतिवडा सभापति रहेको राज्य व्यवस्था समितिले निजामती विधेयकमा 'कुलिङ अफ पिरियड' राख्ने सर्वसम्मत निर्णय गरेर प्रतिनिधिसभामा पठाएको थियो । तर, प्रतिनिधि सभाबाट पारित हुँदा भने कुलिङको प्रावधानलाई नै निस्तेज पार्नेगरी नयाँ व्यवस्था घुसाइएको थियो ।  

सांसदहरूले समेत थाहा नपाउनेगरी फरक प्रावधान राखेर विधेयक पारित भएपछि त्यसउपर छानविन गर्न विशेष समिति गठन भएको थियो । कांग्रेस नेता जीवन परियारको नेतृत्वमा रहेको सात सदस्यीय समितिले हिजो सदनमा पेश गरेको प्रतिवेदनमा खतिवडाको भूमिकामाथि प्रश्न उठाइएको छ । 

तर, उनले भने पदबाट राजीनामा नदिने अडान लिएका छन् । समितिले प्रतिवेदन बुझाएपछि संसद भवन बाहिर उभिएर उनले भने, 'मेरो दोष छ भने म राजीनामा दिन तयार छु भनेर शुरुदेखि भन्दै आएको छु । कुलिङ पिरियड मेरो मुद्दा हो । यो रहनुपर्छ भन्नेमा म हिजो पनि थिएँ, आज पनि छु । राष्ट्रियसभाले सच्याएर ल्याओस् भन्ने पक्षमा छु ।'
 

टिप्पणीहरू