बलि चढेका आकांक्षाहरु बौरिन सक्दैनन् कमरेड
बयान – १
हिजो साथी आएको खुशीमा, आज साथी गएको दुःखमा, खानेका बहाना अनेक । व्यक्तिका निजी जीवन, स्वभाव र स्वार्थ मात्र होइन सामाजिक तथा राष्ट्रिय सन्दर्भमा पनि यो जोड्न सकिन्छ । सामाजिक तथा राष्ट्रिय जीवनको चरित्र तिनका नीति र सिद्धान्त निर्देशित हुनुपर्छ यद्यपि तिनको कार्यान्वयन नेतृत्वकर्ताको नियत र भूमिकामा भर पर्छ । नेतृत्वको क्षमता हो, इमान्दार प्रयास वा स्विकारोक्ति । सक्नेले गर्ने र नसक्नेले सकिन भनेर पछाडि फर्किने । यदि, तर, किन्तु, यद्यपि आदि ‘मुख नबिसाई’ खानेका बहाना हुन् ।
मिसन ८४ को सपना तिनीहरूले बाँडिरहेका छन्् जो साढे ३ दशकदेखि नेपाली राजनीतिको केन्द्रमा छन् । मिसन ८४ तिनीहरूको सपना हुनुपर्ने हो जसले यसभन्दा पहिले कुनै अवसर र भूमिका पाएनन् । यसबारे एक युवा नेताको यो भनाइ सान्दर्भिक छ ‘हामी मिसन ८४ भनिरहेका छौँ, यो हलमा भएका कम्तीमा एक तिहाइले राज्यसत्ताको अभ्यास गरिरहेका वा गरिसकेका छौँ अनि जनतालाई ८४ देखाएर मात्र हुन्छ ? आज हामी के गर्दैछौँ भन्ने प्रश्न मुख्य होइन र ?’
यो सन्दर्भभन्दा पहिले राज्यको नीति र सिद्धान्तका कसीमा नेताको नियत र व्यवहारका केही उदाहरण हेरौँ । सबैलाई थाहा छ, दूधले नुहाएको कसैले छैन र जादुको छडी’ हामी कसैसँग छैन । नेपालको राजनीतिमा कमरेड पुष्पलालद्वारा अनुदित अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको ‘मेनिफेष्टो’मा हुनुपर्छ, ‘सामाजिक र राष्ट्रिय जीवनका समस्या वा प्राथमिकतामा यथास्थितिबाट अगाडि बढ्न विकल्प दिन सके वामपन्थी हो ।’
यस विचारमा बिर्को लगाएर पसेको कमिलो कम्युनिष्ट भएर जन्मियो ! नेता विपी कोइरालाको समाजवादको व्याख्याउपर प्रदीप गिरीका मिथकमा बाहेक कसैको नाम नलिँदा पनि नेपाली कांग्रेसका कुनै नेतामाथि अन्याय हुन्न । महामन्त्रीद्वयलाई सम्झिन हरिभक्त कटुवालको बाल गीतका यी हरफ सम्झे पुग्छ–
कहाँ जाने कहाँ जाने पुतलीका हुल
जता जता फुलेका छन् मीठा मीठा फूल ।
नेपाली कांग्रेसका बाँकी धेरै नेतालाई नाम र पदले सम्झन सकिन्छ । नीति, सिद्धान्त, कार्यक्रम र कामैले सम्झन तिनका आत्मवृत्तान्त पनि बिपी कोइरालाकै छायाँले छोपिदिन्छ । आत्मवृत्तान्त लेखन र प्रकाशन नेपाली समाजमा फस्टाएको व्यवसाय हो । सके आफैँ लेख्ने नसके फरक पर्दैन, बिपीले पनि गणेश राखेका थिए –गणेशराज शर्मा । सिर्जनशील लेखक मदनमणि दीक्षितले पनि हात गलेपछि गणेश नै राखेका थिए । उनका गणेश गुमनाम छन् । तर धेरैले ‘घोष्टराइटर’बाट काम चलाएका छन् । अब यही काम ‘एआई’ ले लेला ! तर अबका लेखक वा नेता न बिपी र मदनमणि हुन् न दिवंगत गणेशराज शर्मा नै तिनका गणेश हुन सक्छन् ।
पुष्पलालको वामपन्थमा बिर्को लागेसँगै मोहनविक्रम, मोहन वैद्य, प्रचण्ड, बाबुराम भट्टराई, विप्लव आदिमा कोही बुध्द, कोही कालिदास भइसके, कोही अंगुली मालकै अवतारमा अभिनय गर्दै छन् । नेकपा माले वा एमालेका सन्दर्भमा सीपी मैनाली, झलनाथ, मदन भण्डारीपछिका अवतारमा माधव नेपाल, केपी ओलीलाई सम्झनुपर्छ तर कम्युनिष्ट आन्दोलनको रोलक्रमको सम्झना केशरजंग रायमाझीसम्म सोझिन्छ । सुन्दा अप्रिय लाग्ला र दोहो¥याइरहनुपर्दा दुःख तर नेपाली राजनीतिका ध्रुवहरू ‘राष्ट्रिय माताहरू र राष्ट्रिय बाहरूका आन्तरिक कलह, दाजु भाउजूको लैलामजनुँ र बाँकी तिनको सुमेरु परिक्रमाको गाँठोमा अल्झिएको छ ।
बयान – २
कसैले कति राम्रो गर्न किन सक्यो र सकेन भनेर गरिने मूल्यांकनका सूचांक धेरै हुन्छन् । तिनका आधारमा राम्रो गरेर परिणाम देखाएको अवस्थामा कुनै कसीमा घोट्नु र तर्कका फूलबुट्टाले छोप्नु पर्दैन । राम्रो काम गर्न नसक्नेका लागि पनि धेरै गुनासो गर्नु परेन । सकेन, गरेन, पछि हट्यो, सकियो । राम्रो गरेन र नराम्रो पनि गरेन भन्दै सहन सकिन्छ । व्यवहार र परिणामले राम्रो गर्न नसक्ने तर ‘ओगटेर’ बसेकाहरूलाई चाहिने हो बहाना, त्यो पनि मुखै खाली नगरी । नराम्रो नै गरे पनि सहन बुझाउन सकिने एउटा सूचांक हुन्छ, त्यो हो नेतृत्व कस्तो हस्तान्तरण ग¥यो ? राम्रो गर्नेले पनि हस्तान्तरण गर्न सकेन भने उसको मूल्यांकनमा राम्रो सूचांकको एउटा आधार घट्छ । नराम्रो गर्नेले पनि राम्रो नेतृत्व हस्तान्तरण ग¥यो भने उसको मूल्यांकनमा सूचांकको एउटा आधार बढ्छ । नेपालको राजनीति र समृद्धिको यही सूचांक र बहाना हो मिसन ८४।
एमालेमा देखाइएको नेतृत्व हस्तान्तरण र पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताको प्रहसन आकस्मिक झगडा वा विवाद होइन । मदन भण्डारी परिकल्पित जबजको बिउमा बिर्को लागेपछि पसेको निषेध र सिण्डिकेटले जन्माएको महत्वाकांक्षाको फल हो । राधिका शाक्य ओली हुन नपर्ने र विद्यादेवी पाण्डेलाई विद्यादेवी भण्डारी बनाउने ‘सनातनी राजतन्त्र’को नयाँ ध्रुव हो यो प्रहसन । माँझ किरातकी ती चेली झाँसीकी महारानी लक्ष्मी बाई, युरोपियन वामपन्थी नेत्री रोजा लक्जेम्बर्ग त होइनन् नै त्यही माझ किरातकी नेत्री योगमायाले सय वर्षपहिले हिँडेको बाटो पनि प्रेरणाको स्रोत हुन सकेन । सफलताको शिखर वा उपलब्धि के मान्ने भन्नेमा बहस गर्न सकिन्छ तर मुद्दा प्रधान हुने कि बनिबनाउ संरचनामा रमाउने ? यसमा द्विविधा अझै पनि छ र ? व्यक्तिको सफलतामा ‘मुद्दा’ हारेका छन् तर व्यक्तिको असफलतामा ‘मुद्दा’ हारेका छैनन् ।
राधिका शाक्य ओली हुन नपर्ने र विद्यादेवी पाण्डेलाई विद्यादेवी भण्डारी बनाउने ‘सनातनी राजतन्त्र’को नयाँ ध्रुव हो यो प्रहसन ।
विद्यादेवी भण्डारीलाई कमरेड केपी ओलीले निषेध गरेका होइनन् र यदि तेस्रो कुनै अदृश्य शक्तिको ‘मोहरा’ बनेकी होइनन् भने २ वटा कारणले राजनीतिमा पुनरागमनको सपना बोकेको हुनुपर्छ । पहिलो, ओलीसँगको पूर्वसमझदारीअनुसार भएका समझदारी र मित्रतामा आएको कटुता । यो कटुतामा इन्धन भर्ने काममा समकालीन नेतृत्वका हकदारहरूमा एकले अर्कालाई निषेध गर्ने प्रयास हो । केपी ओलीको नेतृत्वमा प्रतिस्पर्धा गर्ने वा अवसर पाउने कम सम्भावना भएपछि फेरिएको ध्रुवमा ‘सुमेरु परिक्रमा’ गर्न सकिने सपना हुनुपर्छ । जब कमरेड ओलीले नै आफ्नै हितमा ‘कठिन बाटो नहिँड्न’का लागि चिन्ता गर्नुभएको हो भन्ने थाहा छ भने ‘माझ किराँतकी चेली’को अवतार किन लिनुपथ्र्यो ?
बयान – ३
जबजका बारेमा मदन भण्डारीले परिकल्पना गरेको त्यतिमात्र हो कि कम्युनिष्ट पार्टीको आन्तरिक लोकतन्त्रमा आधारित पार्टी नेतृत्व तथा दलीय प्रतिष्पर्धाका आधारमा निर्बाचित सरकार र बाँकी विधिको शासन । यसैलाई सिद्धान्तका ‘अभेद्य पोथा’ बनाएर ‘हात्ती छामे’जसरी आ–आफ्ना बुझाइ र स्वार्थअनुसारका रोटी सेक्ने परिभाषाका तर्क गर्न सकिन्छ तर अबको समाजको गति त्यति धेरै संकिर्ण र अपारदर्शी पनि हुनसक्दैन । दृश्य र परिणामलाई जस्ताको त्यस्तै अर्थात् देखिने र सुनिने एउटै भएको हेर्न चाहन्छ अबको समाज । देखिने एउटा र सुनिने अर्को ‘सिद्धान्तको पोथा’मा विश्वास गरेर उधारो ‘ओथारो’ बस्न सकिन्न । अबको समाजको गति ४६ वा बीचमा कतै रोकिएर मिसन ८४ मा जान सक्दैन ।
नेपालको राजनितिक इतिहासमा समाजको गतिलाई रोकेर हामी हिँडेको आजमात्र होइन । सात दशक पहिलेदखिको राजनीतिक यात्रामा हामी त्यसरी नै पाइलैपिच्छे रोकिएका छौं । कहिले राणाहरूले, कहिले राजाहरूले र कहिले नेताहरूले हाम्रा पाइला र प्रगति रोके । हामी रोकिनु र पछाडि धकेलिनुमा बानि परिसक्यौं । विसं २००७, २०१५–१७, २०२८–२०३६, २०४६–२०५२, २०६२–६३ र २०७२ पछिका घटनाहरूमा नेतृत्वले संधै समयलाई रोकेर अगाडि बढ्ने बहाना र चाहना राखेको छ । पटक–पटकको परिक्षणमा असफल तथा परिणाममा शून्य तर पनि क्षमता र अवसरलाई सधँै कुण्ठित गरेको छ सनातनी नेतृत्वले । अब यो बाटोबाट कम्तीमा ईश्वर पोखरेलले ‘मेरा आकांक्षाहरू आवश्यकताले परिभाषित गर्नुपर्छ’ भनेपछि सकियो । उहाँले आफ्ना आकांक्षाहरूलाई नेताको ‘अहम्’सामु बलि चढाइसक्नु भयो । बलि चढेका आकांक्षाहरू बौरिन सक्दैनन् कमरेड ! हिजो ‘देशले मागे र पार्टीले खटाए’ भन्ने अनि अहिले आएर मेरो जन्म र बाल्यकाल, मेरो पारिवारिक विरासत वा कुन नेताले कहिले पार्टी सदस्यता दिएका थिए भनेर रुने ? मदनले दिएको सदस्यता अरू कसैसँग पनि छ होला नि ? जबजमा यो जबर्जस्ती कसरी गर्न मिल्छ ?
कमरेड केपीबाहेक बाहरूका दुःख र विद्या माताबाहेक अरुहरूका आँशु धेरै बगिसके । देश र जनताका प्राथमिकता र आवश्यकताहरूलाई विषयान्तर गरेर समय बिताउन ‘लोकदोहोरीका बिलौना’ नेताहरूले गर्ने होइन ! सही हो कमरेड ईश्वर, अब तपाईं तपाईंकै शब्दमा ‘आवश्यकताले परिभाषित गरेअनुसार चल्न सक्नुपर्छ ।’
टिप्पणीहरू