नेपाली नागरिकताको आडमा अकुत सम्पत्ति
भारतीय नागरिक निरञ्जनकुमार अग्रवालले झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएर ५१ करोडभन्दा बढीको सम्पत्ति अवैध रूपमा आर्जन गरेको खुलासा भएको छ । भारतको राजस्थान घर भई पर्साको वीरगञ्ज महानगरपालिका–१०, लाठगल्लीबाट नेपाली नागरिकता लिएका ४६ वर्षीय अग्रवालमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।
विभागका अनुसार अग्रवालले नागरिकता प्राप्तिपछि श्रीमती रितुदेवीलाई वैवाहिक अंगीकृत नागरिकता दिलाएका थिए । त्यसपछि आफू, परिवारका सदस्य र अन्य व्यक्तिका नाममा अवैध रूपमा करोडौं सम्पत्ति जम्मा गरेको देखिन आएको हो ।
‘अग्रवालले झुट्टा विवरणमा नागरिकता लिई नागरिकताको दुरुपयोग गर्दै गैरकानुनी सम्पत्ति आर्जन गरेका छन्,’ विभागको अभियोगपत्रमा उल्लेख छ । अग्रवालसहित पत्नी रितुदेवी र थप दुई जनालाई प्रतिवादी बनाएर पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
विभागका अनुसार अग्रवालले ५१ करोड ११ लाख ९५ हजार रुपैयाँ बराबरको सम्पत्ति अवैध स्रोतबाट आर्जन गरेको देखिन आएको छ । तीमध्ये कतिपय सम्पत्ति अन्य व्यक्तिको नाममा राखिएको पाइएको छ ।
यो घटनाले नेपाली नागरिकताको दुरुपयोगमार्फत् हुने कालो धनको कारोबार र सम्पत्ति शुद्धिकरणको सम्भावित जोखिमलाई उजागर गरिदिएको छ । अग्रवालको अन्य सम्पत्तिबारे थप अनुसन्धान भइरहेको बताइन्छ ।
टिप्पणीहरू