बा-आमाको रेखदेख गर्न बैठकमा नगएको तोसिमाको बयान

बा-आमाको रेखदेख गर्न बैठकमा नगएको तोसिमाको बयान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिजो पहिलोपल्ट राजधानीबाहिर संसदीय दलको बैठक आयोजना गर्यो । भैरहवा कारागारमा रहेका सभापति रवि लामिछानेसँग परामर्श लिएर गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलअगाडि रमादा होटलमा बसेको बैठकमा अधिकांश सांसदहरू उपस्थित थिए । तर, तोसिमा कार्की भने देखिइनन् । 

कतिपयलाई लाग्ला डेढ साताअघि अमेरिका पुगेकी कार्की उतैबाट नफर्केकी पो हुन् कि ! तर, त्यस्तो होइन उनी नेपालमै छिन् । नेपालमै भएर पनि किन बैठकमा सहभागी भैनन् त ? बाबुआमा सवारी दुर्घटनामा परेको र अहिले उपचार चलिरहेकोले राजधानीबाहिर जान नपाएको कार्कीले बताएकी छन् ।

पार्टीका कार्यकर्ता, समर्थक-शुभेच्छुकले नै खोजी गरेपछि उनले आज सामाजिक सञ्जालमार्फत् रुपन्देहीमा सम्पन्न संसदीय दलको बैठकमा सहभागी हुन नसक्नुको कारण खुलाएकी हुन् ।

‘पाटन अस्पतालको एचडियुमा १० दिन राखेर बुबाआमालाई घर ल्याएको छु, बुबाको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ, आमाको छातीमा पाँच वटा करङ भाँचिएको छ’, कार्कीले लेखेकी छन्, ‘म आफू नै सर्जन (डाक्टर) भएकाले मेरै निगरानीमा घरमै अस्पतालको बेड र सामाग्री राखेर उपचार गराइरहेको छु, यसै कारण उपत्यका छाडेर अझै केही हप्ता बाहिर जान नसक्ने व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु ।’

आफू रुपन्देहीको बैठकमा सहभागी हुन नसक्ने कुरा संसदीय दलका नेता, उपनेता र कार्यवाहक सभापतिलाई पहिले नै जानकारी गराएको पनि उनले स्पष्ट पारेकी छन् । 

स्मरणीय छ, संसदीय दलको बैठकका लागि रुपन्देही पुगेका अन्य सांसदहरुले भने पालैपालो जिल्ला कारागार पुगेर सभापति लामिछानेसँग भेटेका थिए । शुरुमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र प्रवक्ता मनिष झाले भेटेपछि अरू कारागार गएका थिए ।

रुपन्देही-३ मा हुने उपनिर्वाचनलाई समेत मध्यनजर गरेर रास्वपा टोलीले स्थानीयसँग भेटघाट गर्ने योजना बनाएको छ । त्यहि भएर हिजो बैठक सकेपछि पनि सांसदहरू काठमाडौँ फर्किएका छैनन् ।
 

टिप्पणीहरू