नयाँ ‘भाइरस’ छिराएर एमाले कमजोर बनाउने रणनीतिमा ‘ब्रेक’

नयाँ ‘भाइरस’ छिराएर एमाले कमजोर बनाउने रणनीतिमा ‘ब्रेक’

नेपाली राजनीतिमा आफूलाई निकै चतुर ठान्ने भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्ला दिनमा राजनीतिक भीरमा पुगेको अर्थ लगाउन थालिएको छ । कार्यकर्ता खुशी पार्न र आन्तरिक सन्तुलन मिलाउन भन्दै कार्यकर्ता संख्या वृद्धिमा लागेका प्रचण्ड अहिले आफ्नै पार्टीको ढुंगो अडिएको अवस्थामा देखिन्छन् ।

पार्टी सुदृढीकरणका नाममा उनले एकपटक तीन हजार नौ सय ९९ केन्द्रीय सदस्यसम्म बनाएका थिए । तर २०७४ सालको चुनावमा पार्टीले आशा गरेअनुसारको नतिजा ल्याउन सकेन । अहिले फेरि मान्छे भित्र्याउने प्रयास भइरहे पनि पार्टीभित्र चिरा पर्ने संकेत देखिएको छ ।

पूर्वराष्ट्रपति विद्या भण्डारीसँगको समीकरण मिलाउँदै उनले राजनीतिक लाभ लिने ‘विद्या कार्ड’ खेल्न खोजे । तर, विद्याका साथ ‘जन्ते बाख्रो खान’ खोज्दा प्रचण्ड झन् भीरतर्फ तानिए । उनलाई लाग्यो कि विद्यालाई एमालेको लाइनमा ल्याएर नयाँ समीकरण बनाउन सकिन्छ । विद्यामा पनि एमालेमार्फत् फेरि सत्तामा पुग्ने लोभ पलाएको थियो ।

तर, घटनाक्रमले गम्भीर मोड लियो । एमालेको केन्द्रीय निर्णयले न विद्यालाई स्थान दिनसक्ने संकेत दियो, न प्रचण्डको योजना नै सफल हुने देखिन्छ । उल्टै एमालेभित्र ‘विद्या भाइरस’ छिराएर पार्टीलाई कमजोर बनाउने रणनीतिमा लागेका प्रचण्ड आफैं संकटमा परेका छन् ।

सत्तारुढ गठबन्धनका प्रमुख दलका नेता प्रचण्डले विपक्षी एमालेभित्रको समीकरण बिगार्न खोज्दा उनी स्वयं पनि उल्झिए । केपी शर्मा ओलीसँग खुलेर राजनीतिक टकराव लिने रणनीति प्रचण्डलाई नै महँगो पर्ने देखिएको छ ।

संविधानले पूर्वराष्ट्रपतिलाई राजनीति गर्न रोक लगाएको छैन, तर सार्वजनिक नैतिकता, संवैधानिक मर्यादा र राजनीतिक अभ्यासका दृष्टिकोणले यो विवादास्पद विषय हो । 

गत असार १४ गते काठमाडौंमा आयोजित कार्यक्रममा ‘राजनीतिमा आउने’ घोषणा गरेकी विद्याले एमाले भित्रिने संकेत दिइन् । त्यसपछि साउन ९ मा आयोजित पत्रकार सम्मेलनले उनको चाहना थप प्रष्ट भयो । तर एमालेले स्पष्ट रूपमा उनको बाटोमा ‘रातो झण्डा’ देखाएपछि प्रचण्डको योजना धराशायी हुनपुगेको हो ।

संविधानले पूर्वराष्ट्रपतिलाई राजनीति गर्न रोक लगाएको छैन, तर सार्वजनिक नैतिकता, संवैधानिक मर्यादा र राजनीतिक अभ्यासका दृष्टिकोणले यो विवादास्पद विषय हो । पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कन मिल्छ कि मिल्दैन भन्ने बहस सैद्धान्तिक मात्र होइन, व्यावहारिक पनि हो । प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा ल्याएको उदाहरण दिँदै विद्यालाई एमालेमा ल्याउने रणनीति बनाए, तर ओली नेतृत्वको एमालेले त्यो योजना कुण्ठित गरिदियो ।

के भन्छ अन्तर्राष्ट्रिय अभ्यास ?

अमेरिकालगायत थुप्रै मुलुकमा पूर्वराष्ट्रपतिहरू सक्रिय राजनीति वा सार्वजनिक जीवनमा देखिन्छन्, तर प्रायः औपचारिक पदमा बस्दैनन् । छिमेकी मुलुक भारत र चीनमा पूर्वराष्ट्रपतिहरू खुला दलीय भूमिकामा फर्कने अभ्यास नै छैन । नेपालको संविधान पनि यस विषयमा मौन छ, जसले विद्याको उपस्थितिलाई थप जटिल बनाइदिएको छ ।

विद्या भण्डारीको सक्रियता प्रचण्डका लागि नयाँ समीकरणको अवसर थियो, तर अहिले परिस्थिति उल्टिएको छ । पहिले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, घनश्याम भूसालजस्ता नेताहरूको काँध चढेर राजनीतिक खेल खेलेका प्रचण्ड अहिले विद्यालाई उचाल्ने नाममा आफैँ संकटमा परेका छन् । 

विद्यालाई अगाडि लगाउँदै ‘खसी खान’ जान खोज्दा, न जन्ती नै भनेको ठाउँमा पुग्यो, न खसी नै पाइयो । उल्टै प्रचण्डको रणनीतिक ‘हावा’ खुस्किएकाले उनी स्वयम् राजनीतिक भीरको डिलमा पुगेकोमा दुई मत छैन ।

टिप्पणीहरू