भारतमा रक्सी प्रतिबन्धको असर कोशीमा भयावह बन्दै

भारतमा रक्सी प्रतिबन्धको असर कोशीमा भयावह बन्दै

लागुऔषध दुव्र्यसनी पछिल्लो समय समाजमा भयावह समस्या बनिरहेको छ । मुलुकभर लागुऔषध सेवनकर्ताको संख्या बढिरहेको छ । अन्य प्रदेशझैं कोशीमा लागुऔषध सेवन र ओसारपसारका घटना ह्वात्तै बढेको छ । प्रहरीको पछिल्लो तीन वर्षको तथ्याङ्कले प्रदेशमा लागुऔषधको डरलाग्दो अवस्था प्रष्ट पार्छ ।  

प्रदेशमा २०७९ देखि ८१ सम्म लागुऔषध ओसारपसारमा पाँच हजार १०७ जना पक्राउ परेका छन् । जसमा पुरुष चार हजार ७३२ र महिला ३७५ रहेका छन् । ०७९–८० मा एक हजार १५२ जना, ०८०–८१ मा एक हजार ५८६ जना र ०८१–८२ मा दुई हजार ३६४ जना समातिएका छन् ।

पछिल्लो तीन वर्षमा प्रहरीले करिब ११ केजी ब्राउन सुगर, एक सय ग्राम चरेश, ५० ग्राम अफिम, ४५ हजार केजी गाँजा अनि ३६ लाख ३४ हजार थान मेडिकल ड्रग्स (क्याप्सुल, टयाब्लेट र सिरिन्ज) बरामद गरेको छ । कोशीमा भारततर्फबाट केमिकल ड्रग्स, ब्राउनसुगर, चरेस र अफिम भित्रिन्छ भने नेपालतर्फबाट पहाडी जिल्लामा उत्पादन भएका गाँजा भारतमा तस्करी गरिन्छ ।

कोशीमा लागुऔषध कारोबार दिन दुईगुणा र रात चार गुणाले बढिरहेको देखिन्छ । लागुऔषध सेवन र ओसारपसार नियन्त्रण गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने विज्ञहरुको भनाइ छ । जनप्रतिनिधिहरुले पालिकामार्फत्, नागरिक समाजले संघसंस्थामार्फत् अनि संघ  र प्रदेश सरकारले आफनो नीति र बजेटमार्फत् प्रहरीलाई सहयोग गर्नुपर्छ । अन्यथा यसले प्रदेशमा भयावह रुपमा लिने संकेत देखिँदै छ ।

सीमाना जोडिएको भारतको बिहारमा रक्सी प्रतिबन्ध भएपछि ब्राउनसुगरको कारोबार अचाक्ली बढेको छ । रक्सी खाने युवाहरुले ब्राउनसुगर सेवन गर्न थालेको बताइन्छ । कोशीका सीमावर्ती जिल्लाहरु झापा, मोरङ र सुनसरीमा ब्राउनसुगर तस्करी हुने गरेको छ । जसले सेवनकर्ता मात्र नभएर उसको घरपरिवार र समाजलाई तहसनहस बनाएको पाइन्छ ।

टिप्पणीहरू