पुरस्कार दिनुअघि प्रधानमन्त्रीद्वारा आफ्नै प्रशंसा
प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक शक्ति भनिएका राजनीतिक दलहरुलाई संघर्षको वास्तविक अर्थ थाहा नभएको बताउनुभएको छ ।
राजनीतिक परिवर्तनका लागि कांग्रेस र कम्युनिष्टहरूले ठूलो बलिदानी गरेको भए पनि नयाँ दलका नेताहरुले त्यसलाई आत्मसात गर्न नसकेको उहाँको गुनासो छ । सरकारी निवास बालुवाटारमा आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रममा प्रम ओलीले आफूलाई अधिनायकवादी भनिएकोमा पनि चित्त दुखाउनुभयो ।
‘अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ तर अधिनायकवाद कस्तो हुन्छ भने त्यसबेला भोग्ने बीपी र हामीहरूलाई थाहा छ’, उहाँले भन्नुभयो, ‘जेल, हतकडी र कालकोठरी भोग्नेहरूलाई थाहा हुन्छ कठाेर संघर्ष , अहिले त प्रजातन्त्र आएको छ, सजिलो छ ।’
ओलीले दरबार हत्याकाण्डपछि पनि दलहरुमाथि अघोषित प्रतिबन्ध लागेको स्मरण गर्नुभयो । त्यसबेला नेताहरूलाई घर-घरबाट पक्रेर झूठा मुद्दामा फसाइएको उहाँले बताउनुभयो ।
‘दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभने पनि प्रतिबन्ध त लागेकै थियो’, प्रम भन्नुहुन्छ, ‘नेताहरूलाई घरघरबाट समातेर जेलमा लगेर थुन्ने, सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुसीले मुद्दा लगाउने र फसाउने काम भएकै हुन् ।’
पूर्व राजा ज्ञानेन्द्र शाहले शाही आयोग गठन गरी नेताहरूलाई भ्रष्टाचारको मुद्दामा जेल हालेको कुरा पनि ओलीले आज उच्चारण गर्नुभयो । आफ्ना सत्ता साझेदार शेरबहादुर देउवालाई शाही आयोगले मुद्दा चलाएकोमा उहाँको चित्त दुखाई प्रकट भयो ।
‘नेताहरूलाई मुद्दा लगाउनका लागि एउटा शाही छानबिन आयोग कि के बनेकाे थियाे, ज्ञानेन्द्र शाहले भ्रष्टाचार विरोधी देखिन शेरबहादुर देउवाविरुद्ध मुद्दा चलाएका थिए, यो भन्दा अर्को ड्रामा के हुन्छ ? यो ड्रामालाई अर्को के नाम दिने ? यस्ता ड्रामाको लागि अस्तिसम्म पनि लड्न परेकै हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
कार्यक्रममा नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्बाङ (वैरागी काइँला) र भुवन ढुङ्गाना कोइरालालाई जनही एक लाख रुपैयाँसहित पुरस्कार प्रदान गरिएको थियो ।
टिप्पणीहरू