विद्याका समर्थकलाई एमालेमा बन्देज

विद्याका समर्थकलाई एमालेमा बन्देज

नेकपा एमालेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर जनवर्गीय संगठनका नेताहरू भटाभट कारवाहीमा पर्न थालेका छन् । 

भण्डारीको सदस्यता खारेज गर्दै राजनीतिक प्रतिवन्ध लगाउने केन्द्रीय समितिको निर्णयपछि जनवर्गीय संगठनमा उनी समर्थित नेता-कार्यकर्तामाथि कारवाहीको तरबार उज्याइएको हो । पछिल्लो पटक सामाजिक सञ्जालमार्फत पूर्व राष्ट्रपतिको पक्षमा धारणा राख्ने युवा संघका दुई नेता निलम्बित भएका छन् । 

गत साता केन्द्रीय कमिटी बैठक उद्दघाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेता-कार्यकर्तालाई भण्डारीको प्रवक्ता नबन्न चेतावनी दिँदै अन्यथा कारवाहीको विषय बन्ने स्पष्ट पारेका थिए । सोही बैठकले उनको सदस्यता खारेज गरेसँगै तल्लो तहमा पनि पूर्व राष्ट्रपति समर्थकहरू कारवाहीमा पर्न थालेका हुन् । 

अस्ति शुक्रबार भण्डारीको पत्रकार सम्मेलनमा सहभागी युवा संघकी केन्द्रीय सदस्य युवान्तिका कुलुङलाई निलम्बनको कारवाही गरिएको छ । हिजोमात्रै संघका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलमाथि कारवाहीको डण्डा बर्साइएको थियो । 

साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको बताइएको छ । संघको पोखरामा सम्पन्न १०औं महाधिवेशनका सन्दर्भमा प्रष्टीकरण मागिएकोमा यनले गैरजिम्मेवार जवाफ पठाएको, केन्द्रको निर्देशन नमानेकोजस्ता आरोप थोपरिए पनि मुख्यत: अध्यक्ष केपी शर्मा ओलीको प्रतिकूल हुनेगरी सामाजिक सञ्जालमार्फत नेतृत्व परिवर्तनको बहस गरेकाले खरेललाई पदबाट हटाइएको बताइन्छ ।  

यता, आज निलम्बित सदस्यहरुले विषेश पत्रकार सम्मेलन गरी औपचारिक धारणा सार्वजनिक गर्न लागेको बुझिएको छ ।
 

टिप्पणीहरू