यत्रो काण्ड यत्तिकै गुपचुप
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रम भन्दै भिजिट भिसामा स्पेन लैजाने गिरोहबारे रास्वपा सांसदले चर्को स्वरमा कुरा उठाए । संसदमा कांग्रेस–एमाले र रास्वपाका नेताबीच चर्काचर्की नै चल्यो । एकअर्कालाई व्यंग्य कसेर दोषारोपण गरिएका विषयले छानबिनको माग भयो । छानबिन आयोग बनेर काम अघि बढिरहेको पनि छ ।
स्पेन लैजानका लागि भएका तयारी, संकलित मानिस र तिनका पासपोर्ट, विमानस्थलबाट फर्काइएकाहरूको अभिलेखसहित खोजेर एउटा टेलिभिजन च्यानलले लामो रिपोर्ट बजायो । तर, यो प्रकरणमा जब रास्वपाका एक नेता रहस्यमय ढंगले जोडिए तर केस सामसुमजस्तै भयो । न संसदमा रास्वपाका सांसदहरू बोल्छन् न तिनले कुरा उठाएको कारणले यो प्रकरण बाहिर आएको हो भन्ने चित्रण गर्दै बनेका रिपोर्ट बज्छन् ।
युरोपको सबैभन्दा धेरै मानव तस्करी हुने मानिएको पोर्चुगलमा बसेर सेटिङ मिलाउन खप्पिस ती व्यक्ति रास्वपा केन्द्रीय प्रशिक्षण विभागको सचिव रहेका कमल सुवेदी भएको तथ्यतिर शंकाको सुइ सोझिएको छ । उनी रास्वपाका कार्यकर्तालाई प्रशिक्षण दिन देशैभर पुग्ने व्यक्ति मानिन्छन् । फिल्डमै पुगेका बेला अलि महत्वाकांक्षा भएका तर पैसा जुटाउन सक्ने र विदेश जान तयार कार्यकर्तालाई नै पनि केही वर्ष विदेश बस्नु र फर्किएर फाइनान्सियल्ली स्ट्रङ भई पोलिटिक्स गर्नु भन्दै उनैले उकास्ने गरेको बुझिएको छ ।
सुवेदीले यसरी मानिस पठाउने गरेको तथ्य न्युज ट्वान्टी फोरको सीधाकुरा कार्यक्रमबाट पहिलो दिन प्रशारित रिपोर्टमा लुसुक्क घुसेको पाइएपछि रास्वपाभित्र हल्लीखल्ली मच्चिएको छ । एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य अध्यक्ष र प्रदेश कमिटी सदस्य प्रदिपप्रसाद चौलागाईंसमेत त्यसमा जोडिएपछि चौलागाईं टेलिभिजन कार्यक्रममा सुवेदीबाट यो काम भएको हुन सक्ने भन्दै पन्छिएका थिए । आचार्य अध्यक्ष र चौलागाईं कार्यक्रम संयोजक रहेको, ललितपुरमा दर्ता रहेको, क्याम्पेन फर सोसल चेञ्ज नामक संस्थाबाट आफ्ना फिल्ड अफिसर जनकबहादुर टमाटालाई भिसा दिलाइदिन दिल्लीस्थित स्पेननिश दूतावासलाई लेखेको पत्र नै सिधाकुरा कार्यक्रममार्फत सार्वजनिक गर्दै भिजिट भिसासम्बन्धी रिपोर्ट प्रशारण गरेको टेलिभिजनले रास्वपा नेता र एमाले नेताको कनेक्सन भएपछि न रिपोर्टको फलोअप गर्यो न अनुसन्धान गर्ने निकायले यी विषयलाई आधार बनाए ।
यस्तो रिपोर्ट मिडियामा आएर सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि आचार्य र चौलागार्इंले संस्थाको छाप र लेटरप्याड दुरूपयोग भएको र दोषीलाई छानबिन गरी कार्वाहीमा सहयोग गरिदिन भनी जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरेका छन् । प्रशासन स्रोतका अनुसार निवेदनमा भने कोबाट दुरूपयोग भएको हुन सक्ने भनेर कुनै आशंका उल्लेख छैन । एमालेभित्र संस्थापनका प्रिय मानिने र व्यक्तिगत रूपमा उच्च नेतृत्वसम्म राम्रो प्रभाव भएका जिल्ला अध्यक्ष नै अध्यक्ष रहेको संस्थासँग रास्वपाका चलायमान नेता सुवेदीको यो सम्बन्ध राजनीतिक रूपमा संस्थागत हिसाबले नै जोडिएको हो वा व्यक्तिगत तहमा हो भन्ने दुवै पार्टीतिर गाइँगुइँ छ ।
(जनआस्था साप्ताहिकको साउन ७ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू