प्रधानमन्त्री विदेश गएको मौका छोपेर...

प्रधानमन्त्री विदेश गएको मौका छोपेर...

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभिलमा आयोजित विकासका लागि आर्थिक लगानी विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन गत असार १४ गते शनिवार कतार एयरको उडान नम्बर क्युआर ६४९ बाट दोहा हुँदै म्याड्रिडतर्फ प्रस्थान गरी असार २० गते शुक्रबार कतार एयरकै उडान नम्बर क्युआर ६४६ बाट नेपाल फर्किएदेखि केही मानिस उतै छुटेको भनी विवाद निकालिएको छ ।

शुरुमा प्रधानमन्त्रीको टोली २८ जनाको थियो । अन्तिममा निजी चिकित्सक स्मृति शाक्यले मिर्गाैला रोग विशेषज्ञलाई समेत लैजान सल्लाह दिएपछि डाक्टर पुरुषोत्तम ढुंगेल अन्तिममा थपिएका थिए । र, १३ जना सदस्य बढेर १४ हुन पुगे । टोलीमा एक प्रमुख सेनानी (कर्णेल) र एक प्रहरी उपरीक्षक (एसपी) सहित ३ जना सञ्चारकर्मीसमेत थिए ।

सुरक्षा टोलीका ३ सदस्यमध्ये सेनाका एक जना र स्पेनस्थित नेपाली दूतावासमार्फत सहभागी हुन परराष्ट्र मन्त्रालयका एक अधिकृत १२ गते नै त्यसतर्फ प्रस्थान गरिसकेका थिए । राजदूत सनिल नेपालसहितको टोली सहभागी हुँदा संयुक्त राष्ट्रसंघको स्थायी नियोग न्युयोर्कबाट ५ जना आइपुगेका थिए । प्रधानमन्त्री सवार विमानमा भ्रमण दलका सदस्यसहित जम्मा ४८ जना नेपाली  थिए । भ्रमण दलका औपचारिक सदस्यबाहेक चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरि र सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकाकी उपप्रमुख अप्सरा लम्साल लामिछानेसमेत थिए । नगर प्रमुख गिरि असार २१ गते र उपप्रमुख लामिछाने २३ गते कतार हुँदै नेपाल फर्किए ।

उक्त टोलीमा रहेका तनहुँको दमौली बस्ने अधिकारी थरका र गैरसरकारी संगठनका सञ्चालक, भवानीपुर–४ कलैया बाराबाट न्यौपाने थरका व्यक्ति, काठमाडाैँबाट नेवार समुदायका एक, ताप्लेजुङबाट शेर्पा थरका एक र धुनिबेशी–६ धादिङ नौबिसेबाट उप्रेती थरका, कांग्रेस भ्रातृ संगठन तरुण दलका सदस्य फर्किसकेका छन् भने एक प्राध्यापकसहित २४ जनाको अझै अत्तोपत्तो छैन ।

यसमा त्रिभुवन विमानस्थलस्थित अध्यागमनका कर्मचारी त संलग्न छैनन् ? जाने बेला लामो समयदेखि अध्यागमनमा कार्यरत गार्डहरूको सक्रियता अधिक देखिनुका साथै उनीहरूसँग परिचित शैलीमा जानेहरूले संवाद गरेको बुझिएको छ । भ्रमण दलका वास्तविक सदस्यहरू अध्यागमनमा पुगेका बेला उनीहरू पनि मिसिनु र प्रधानमन्त्री जाने–फर्कने दिनकै दुईतर्फी टिकट अधिकांशसँग हुनु संयोग मात्र त नहोला । केही यात्रुले भने २१ गते नेपाल आइपुग्ने टिकट कटाएको पाइएको छ । शंका नहोस् भन्ने पार्नको लागि प्रधानमन्त्री फिर्ता हुने उडानमा सिट नपाएकाले भोलिपल्टका लागि बनाइएको भन्ने बनाउन पनि त्यसो गरेको हुन सक्छ ।

राहदानी नम्बर पिए १९१३०९७ वाहक पूर्वीरुकुमका अभिशेक बुढा ०८० साल मंसिर १३ गते पर्यटक भिसाका लागि सेटिङ मिलाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्सको दुबई गएका थिए । उनी ०८१ भदौ १० गते नेपाल फिर्ता भए । उनी एक महिनाको भिसा लिएर त्यसतर्फ गएको भए पनि दुबई पुगेर भिसा परिवर्तन गरेको देखिएको छ । त्यसो त उनी मंसिरमा दुबई उड्न ४ गते गए पनि अध्यागमन कार्यालयले यात्रा शंकास्पद देखिएको भन्दै प्रस्थान अनुमति नदिई फिर्ता पठाएको थियो । त्यसलगत्तै उनको दोस्रो प्रयास सफल भयो ।

म्याग्दीका ठकुरी दाजुभाइको कहानी पनि यस्तै छ । बेनी घर भई ४७ वर्षका लक्ष्मणकुमार चन्द ०५९ सालदेखि संयुक्त अरब इमिरेट्सको दुबईमा चालकको काम गर्दै ०७२ सालसम्म रमाइरहेका थिए । ०७२ भदौमा दुबई गएर फागुन १० गते फर्केपछि बेनीमै व्यवसाय गर्दै बसे । उनको भाइ नाताका ३७ वर्षे रविनबहादुर मल्लले ०७० देखि ०७९ सम्म दुबईलाई कर्मथलो बनाएर काम गर्दै आएका थिए । उनीहरू दुबै जना ०८० साल मंसिरमा पछिल्लो पटक सेमिनारका लागि भन्दै सामाजिक सेवाको नाममा दुबई गएर १२ दिनपछि फिर्ता भए । उनी त्यसबेला पनि स्पेन जाँदाको जस्तै कागजात पेश गरेर दुबई गएका थिए । लक्ष्मणले १०९६५९२१ नम्बरको राहदानी लिएका छन् भने रविनको पिए २२३३९०८ हो ।

राहदानी नम्बर पिए ३१५५४६१ वाहक झापाका ४३ वर्षीय आइतराज योङहाङ र राहदानी नम्बर ११०४८८२८ बाहक म्याग्दीका ५२ वर्षीय हर्कबहादुर योङहाङले दुईतर्फी टिकट देखाएर प्रस्थान गरेको भए पनि असार २१ गते नेपाल फिर्ता हुनुपर्नेमा टिकट रद्द गरेबाट उनी पनि करिब नेपाल नफर्कने मनस्थितिमा रहेको सहजै अनुमान लगाउन सकिन्छ । प्रधानमन्त्री गएको भोलिपल्ट त्यही संख्याको अर्को टोली स्पेनतर्फ उडेको थियो । दुई प्रहरी अधिकृत पनि उक्त टोलीमा थिए ।

त्यसरी फ्लाई दुबईको उडान नम्बर एफजेड ११३४ बाट सात जना र कतार एयरको उडान क्युआर ६४९ बाट १२ जना गरी जम्मा १९ जना स्पेनको राजधानी मड्रिडका लागि उडेको पत्ता लागेको छ । उक्त टोलीमा रहेका सर्लाही र अर्घाखाँचीका प्रहरी निरीक्षकद्वय पनि फिर्ता भइसकेका छन् भने नेपाल मेडिकल कलेजकी केसी थरकी एक प्राध्यापक २७ गते र झापास्थित सिर्जनशील नेपाल संस्थाबाट गएकी उप्रेती थरकी महिला २९ गते आइतवार नर्वे भएर फिर्ता भएकी छन् । रामेछापको पिस फाउण्डेसनका एक प्रतिनिधि र मकवानपुर युनेस्को क्लब बागमतीका दुई प्रतिनिधिलगायत नौ जनाको टोली नेपाल फिर्ता भए पनि दोस्रो टोलीका १० जना भने आएका छैनन् ।

– सँगै गएका एक यात्री
 

टिप्पणीहरू