‘विविधतामा एकता’ खोज्दै सयौं सञ्चारकर्मी चङ्चौमा

‘विविधतामा एकता’ खोज्दै सयौं सञ्चारकर्मी चङ्चौमा

चीनको मध्यभागमा रहेको हेनान प्रान्तको राजधानी चङ्चौमा भेला भएका सयौं विदेशी र चिनियाँ सञ्चारकर्मीले विश्वमा ‘विविधतामा एकता’ को नयाँ मोडेल निर्माण,आपसी विश्वासको सुदृढीकरण र शान्तिपूर्ण एवम् स्थिर वातावरणका लागि थप समन्वय गर्नुपर्ने विषयमा छलफल थालेका छन् ।

सांघाई सहयोग संगठन (एससिओ) को आयोजनामा आजदेखि शुरु भएको  मिडिया र थिंक ट्यांक समिटका सहभागी राष्ट्रहरूले परस्पर सशक्त साझेदारी,वैश्विक शान्ति र समृद्धिको दिशा निर्धारण गर्ने उद्देश्य राखेका छन् । समिटले एससिओका सदस्य राष्ट्र र अन्य सम्बद्ध मुुलुकबीचको सहयोगलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।

दुई दर्जनभन्दा बढी मुलुकका दुई सय बढी सञ्चारकर्मीहरुसँगै संयुक्त राष्ट्र संघ, चीस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु आज आयोजित छ वटा विभिन्न सेसनमा सहभागी भएका थिए । थिंक ट्याङ फोरम,एक्सपर्ट फोरम,सिन्ह्वा विश्व मामिला,कूटनीतिक छलफल,युवा वार्ता र सांस्कृतिक सम्पदासम्बन्धी छलफल र भोलिको उच्चस्तरीय सम्बोधनपछि चङ्चौ घोषणापत्र जारी हुने बताइएको छ ।

सम्मेलन चिनियाँ समाचार एजेन्सी सिन्ह्वा,चाइनिज एकेडेमी अफ सोसल साइन्सेज र हेनान प्रान्तीय जनसरकारको सहआयोजनामा भएको हो । सांघाई सहयोग संगठनका सदस्य राष्ट्रहरू,पर्यवेक्षक र संवाद साझेदार मुलुकका उच्च प्रतिनिधिहरू,मिडिया र थिंक ट्यांकका व्यक्तित्व सहभागी सम्मेलनको मुख्य नारा ‘साङ्हाई स्पिरिटको विकास र साझा घर निर्माण’ राखिएको छ ।

सम्मेलनमा नेपालबाट प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना,चीनका लागि पूर्व राजदूत लीलामणि पौड्यालसहित गोरखापत्र,रासस,जनआस्था लगायतका प्रतिनिधिको सहभागिता छ । भोलि बिहान हेनान प्रान्तका गभर्नर वाङ काइले सम्मेलनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू