बोलाइयो बालुवाटार, रोजियो च्यासल
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र सक्रिय राजनीतिमा फर्किनुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भएको भेटवार्ताको चर्चा चुलिएको छ । दुई जनाबीच पार्टी मुख्यालय च्यासलमा भएको दुई घण्टा वार्ताबारे दुबै पक्षले आफ्नै किसिमले व्याख्या गरेका छन् ।
भेटवार्ता थालनीको आधा घण्टासम्म वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य कर्ण थापालगायतका नेताहरु पनि सहभागी थिए । अरु नेताहरु कोठाबाट बाहिरिएपछि ओली–भण्डारीबीच ‘वान टु वान’ वार्ता भएको थियो ।
वार्ता सकेर निस्कँदै गर्दा भण्डारीले कुनै प्रतिक्रिया दिनुभएन । यद्यपि, वरिष्ठ उपाध्यक्ष पोखरेलले सकारात्मक वार्ता भएको बताएका छन् । स्थायी कमिटी सदस्य थापाले पनि पार्टीभित्रको अन्तरविरोधलाई अन्य गर्न सकारात्मक कुराकानी भएको बताएका छन् ।
सचिवालय बैठक र पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र दुई वर्षे कार्यकालको प्रावधान हटाउन विधान संशोधनको प्रस्ताव अनुमोदन गरेपछि प्रधानमन्त्री ओलीले भण्डारीलाई भेटको लागि बोलाउनुभएको हो । ओलीले बालुवाटार बोलाए पनि भण्डारीले च्यासल रोज्नुभएको थियो ।

टिप्पणीहरू