ओलीले थापा रोके, शंकरले अधिकारी
सत्तारुढ नेकपा एमालेको पोलिटब्युरो बैठकमा नेताहरूबीच नोकझोक चलेको छ । नेतृत्व तहमा रहेका नेताहरूले पोलिटब्युरो सदस्यहरुको बोलीमा लगाम लगाउन खोजेपछि गरमागरम बहस भएको बताइन्छ ।
बताइएअनुसार शुरुमै अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पक्षका स्थायी कमिटी सदस्य कर्ण थापाबीच तितो पिरो भैहाल्यो । सुरुमै बोल्न खोजेका थापालाई रोक्दै ओलीले ‘प्रस्ताव पेश भइसकेपछि बोल्नू’ भनेको बैठकमा सहभागी एक नेताले बताएका छन् ।
केही समयपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केन्द्रीय सचिवालयबाट पारित विधान संशोधनको प्रस्ताव पेश गरे । त्यसलगत्तै बोलेका थापाले अध्यक्ष ओलीलाई ‘आफैँले बनाएको विधान कार्यान्वयन गर्न किन डराएको ?’ भन्दै प्रश्न सोधेका थिए ।
‘तपाई ६० वर्षको हुँदा ७० वर्षे उमेर हदको कुरा उठाउनुभएको थियो, अहिले हामी ६० वर्ष पुग्यौँ, तपाई ७० वर्ष नाघ्नुभयो, अब हामीले चाहिँ उमेर हद कार्यान्वयन गर्नुपर्छ भनेर कुरा उठाउन नपाउने हुन्छ ?’, बैठकमा सहभागी नेताले थापाको भनाइ सुनाए ।
त्यस्तै, संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले पनि उमेर हद र दुई कार्यकालको प्रावधान लागू गर्नुपर्ने आशयको मत राखेपछि महासचिव शंकर पोखरेलले रोकेका थिए । अधिकारीले आफू विधान लागू गर्नुपर्ने ठाउँमा भए पनि थुप्रै त्रूटी भएको धारणा राखे ।
तर, उनले त्रूटीबारे बोल्नुअघि नै महासचिव शंकरले ‘यो आत्मालोचना गर्ने ठाउँ हैन, संशोधन प्रस्तावमाथि केन्द्रित भएर धारणा राख्नुहोस्’ भन्दै रोकेको बताइएको छ । त्यसपछि अधिकारीले विषय बदलेको उनै पोलिटब्युरो सदस्यले जानकारी दिए ।
टिप्पणीहरू