साउने संक्रान्ति मनाइँदै, आजैदेखि बिपी राजमार्गमा राति यातायात बन्द

साउने संक्रान्ति मनाइँदै, आजैदेखि बिपी राजमार्गमा राति यातायात बन्द

आजदेखि सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेको छ । आजका दिन साउने संक्रान्ति मनाइन्छ । साउने संक्रान्तिमा स्नान र दान गरिन्छ । 

आजैदेखि सूर्य दक्षिणायन हुन्छ । असारमा धान रोपाइँलगायत खेतीपातीमा व्यस्त किसानले आजको दिन हिलोमैलो पखाल्ने मान्यता छ । हिलोका कारण छालासम्बन्धी रोग नलागोस् भनेर साँझ ‘लुतो फाल्ने’ चलन छ ।

परम्परानुसार भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीका पात र हाँगामा अगुल्टो राखेर धुरी कटाइन्छ । कतिपयले नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने चलन छ । 

यता बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आजदेखि एक महिनासम्म रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ । काभ्रेको सुरक्षा समिति बैठकले काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको नेपालथोक सीमासम्मको सडकखण्डमा सवारी आवागमन रोक्ने निर्णय गरेको छ ।

साँझ ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ । वर्षा पहिरो, कटानजस्ता सम्भावित विपद् जोखिमलाई ध्यानमा राखेर उक्त निर्णय गरिएको जनाइएको छ ।

टिप्पणीहरू