कमरेडहरुको यता पनि उस्तै छ किचलो
नेकपा माओवादी केन्द्र दाङमा आन्तरिक द्वन्द्व, गुटगत खिचातानी र सांगठनिक असमझदारी चर्किएको छ । जिल्ला सचिव विश्वराज आचार्यले पार्टीभित्रको अवसरवाद, सांगठनिक अराजकता, अपारदर्शी आर्थिक चलखेल र सांस्कृतिक विचलनविरुद्ध प्रश्न उठाएपछि शुरु भएको विवादले उग्ररूप लिएको बताइन्छ ।
एकातिर आचार्यले वैचारिक सुधार, सांगठनिक शुद्धीकरण र वर्गीय राजनीतिको बहस उठाएका छन् । अर्कातिर लामो समय पार्टी सत्तामा बसेका, युद्धपश्चात आर्थिक लाभमा केन्द्रित भएको आरोप लागेको समूह त्यसविरुद्ध आक्रमक देखिएको छ।
आचार्यको पाँच बुँदे प्रश्न: वैचारिक समीक्षा वा राजनीतिक चुनौती ?
जिल्ला सचिव आचार्यले सार्वजनिक रूपमै पार्टीभित्र देखिएका गम्भीर समस्याहरूप्रति असन्तुष्टि जनाउँदै पाँच विषयमा गहिरो छलफलको माग गरेका छन् । पार्टीले दिएको अवसरलाई वैचारिक योगदानको साटो व्यक्तिगत लाभका लागि प्रयोग गर्ने प्रवृत्तिले इमान्दार कार्यकर्ताहरू हतोत्साहित बनेको उनी बताउँछन् ।
गैर–कम्युनिस्ट कार्यशैली: विगतमा पार्टी बाहिरका तत्वसँग गुप्त समझदारी हुँदै कार्यकर्तालाई रक्षात्मक बनाइएको र अहिले पार्टीको वर्गीय आधार कमजोर बनाउँदै लगिएकोप्रति चिन्ता व्यक्त गरिएको छ ।
चाकडी र चाप्लुसीलाई पुरस्कृत गर्ने प्रणाली: छलफल, प्रतिस्पर्धा र सैद्धान्तिक योग्यताको सट्टा, चाकडी गर्नेहरूलाई जिम्मेवारी दिने प्रवृत्तिले पार्टीमा बहसको वातावरण समाप्त गरेको उनी बताउँछन् ।
नोकसाही प्रवृत्ति र क्षेत्रीय/जातीय राजनीति: जिल्लाभर जातीय, क्षेत्रीय मनोविज्ञानलाई संकीर्ण स्वार्थमा प्रयोग गर्ने र सांगठनिक निर्णयमा नोकसाही शैली हावी भएको भन्दै उनले सचेत गराएका छन् ।
सांस्कृतिक विचलन र अपारदर्शी आर्थिक सम्बन्ध: मादक पदार्थ सेवन, अनैतिक सम्बन्ध र आर्थिक अपारदर्शिताको विषय उठाउँदै उनले यस्तो क्रियाकलापले पार्टीको सार्वजनिक छवि धुमिल पारेको उनको ठहर छ ।
सचिव हटाउने योजनामा मास्की समूह: गुटगत रणनीति खुल्दै
सचिव आचार्यले यसरी गम्भीर प्रश्न उठाएपछि केन्द्रीय सदस्य धनबहादुर मास्कीको नेतृत्वमा उनलाई हटाउने अभियान प्रारम्भ भएको दाबी उनी पक्षधरहरूको छ ।
उक्त समूहमा लुम्बिनी प्रदेश उपाध्यक्ष लुमाकान्त (सागर) न्यौपाने, विक्रान्त शर्मा (लमही), मिलन डाँगी (घोराही), अनुपम खड्का (तुल्सिपुर), भिमबहादुर ओलीलगायत नेताहरू सक्रिय रूपमा सामेल छन् । उनीहरूले पार्टीको प्रदेश र केन्द्रीय तहसम्म सचिवविरुद्ध दबाब सिर्जना गर्ने प्रयास गरिरहेको आचार्य खेमाका एक कार्यकर्ताले बताए ।
स्रोतका अनुसार झन्डै १५ वर्षसम्म नियुक्ति खाएर रमाँउदा पार्टी बिग्रेको चासो र चिन्ता नहुनेहरु नै अहिले सचिव आचार्यमाथि आरोप थोपर्ने उद्धत छन् र यसले गुटगत लडाई सतहमा ल्याएको छ । यसले जिल्लाको गुटीय ध्रुवीकरण दिनदिनै चर्काउँदै लगेको छ ।
सचिवविरुद्ध सार्वजनिक प्रचारको सशक्त माध्यम बनेको छ प्रेस सेन्टर नेपाल, तुल्सिपुरका अध्यक्ष टेकराज भण्डारीको फेसबुक स्टाटस । उक्त स्टाटसमा उनले सचिव आचार्य र इन्चार्ज दुबैलाई “दुई भाइ कम्पनी” को आरोप लगाउँदै नेतृत्व विफल भएको ठहर गरेका छन् ।
उनले लेखेका छन्, “दाङ जिल्लाको अन्तरसङ्घर्ष अन्ततः पार्टी निर्माणमा पुग्नेछ । तर अहिलेको नेतृत्व असक्षम छ । अखिल क्रान्तिकारीको अस्तित्व नै नरहने सम्झौता भयो । पार्टी एउटै परिवार केन्द्रित भएको छ ।”
यस पोस्टलाई मास्की समूहद्वारा प्रेरित र योजनाबद्ध प्रचारको रुपमा आचार्यका मान्छेहरुले लिएका छन् । विशेषगरी नेपाल संस्कृत विश्वविद्यालयमा अखिल (क्रान्तिकारी) ले चालेको आन्दोलनबारे उनले आरोप लगाउँदै आन्दोलनलाई नेतृत्वले कमजोर पारेको टिप्पणी उनीहरुको छ ।
अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गोबिन्द मल्लको प्रतिक्रिया “सामना गर्न तयार छु, दोष नथोपारौं ।”
उक्त स्टाटसमा तत्काल प्रतिवाद गरेका छन् अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गोबिन्द मल्लले । मास्की समूहप्रति लक्षित गर्दै कमेन्ट लेखेका छन्, “तपाईं र मबीच औपचारिक चिनजान छैन । तर पनि अखिल र विश्वविद्यालय आन्दोलनलाई लिएर भ्रम फैलाइरहनु भएको छ । हामीले सामूहिक निर्णयमा आन्दोलन गरेका थियौं र सामूहिक निर्णयमै ताला खोलेका थियौं ।”
उनी थप भन्छन्, “म अध्यक्षको हैसियतले पूर्ण जिम्मेवारी लिन्छु । तर यदि आन्दोलनका नाममा कसैले व्यक्तिगत लाभ लिन खोजेको हो भने, पार्टीले छानबिन गरोस्, म प्रस्तुत हुन्छु ।”
सचिव निकट नेताहरू भने आचार्यले उठाएका विषयहरू संगठन सुधारका लागि अत्यन्त जरूरी भएको बताउँछन् । उनीहरूका अनुसार यी प्रश्नहरूलाई दबाउने होइन, औपचारिक छलफलमार्फत समाधान खोज्नुपर्छ ।
एक नेताले भने, “गुट बनाएर सचिव हटाउने अभियान पार्टीलाई अधोगति तिर लैजाने कार्य हो । संगठन विधि, विचार र सैद्धान्तिक स्पष्टीकरणबाट अगाडि बढ्नुपर्छ । व्यक्तिगत र क्षेत्रीय स्वार्थमा आधारित गुटबन्दीले पार्टीको जरो खनिन्छ ।”
विश्वराज आचार्य जनयुद्धकालमा विद्यार्थी राजनीति हुँदै जेलनेल भोगेका नेता हुन् । उनी निरन्तर सांगठनिक जिम्मेवारीमा रहँदै आएका छन् । धनबहादुर मास्की जनमुक्ति सेनाबाट उदाएका र शान्ति प्रकियापछि प्रदेश मन्त्रीसमेत भइसकेका नेता हुन् ।
स्रोतका अनुसार, प्रदेश कार्यालय र केन्द्रीय नेतृत्वले हालको गुटबन्दीबारे गम्भीर चासो व्यक्त गरिरहेका छन् । एक पार्टी केन्द्रीय सदस्य भन्छन्, “गुटले होइन, विचारले पार्टी बन्छ। गुटबन्दी संस्थागत भयो भने दाङ मात्रै होइन, लुम्बिनीभर पार्टी कमजोर हुनेछ ।”
नेकपा माओवादी केन्द्र दाङमा अहिले विचार र स्वार्थबीचको संघर्ष निर्णायक मोडमा पुगेको छ । एकथरीले आचार्यले उठाएका विषयहरू संगठन सुधारको दृष्टिकोणबाट महत्वपूर्ण भनेका छन् । यिनै प्रश्नलाई मौन गराउन उनलाई नै हटाउने प्रयास हुनु संगठनकै आन्तरिक संकटको सूचक हो भन्ने उनीहरुको ठहर छ ।
मास्की पक्षले भने वैचारिक बहसका नाममा पार्टीभित्र गुट सृजना गर्ने काम स्वीकार्य नहुने बताउँदै आएको छ ।
टिप्पणीहरू