दुई नेताको सवाल-जवाफपछि टियु मैदानको चर्चा

दुई नेताको सवाल-जवाफपछि टियु मैदानको चर्चा

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सवाल-जवाफपछि कीर्तिपुरको क्रिकेट मैदानलाई लिएर शहरी विकास मन्त्रालय तातेको छ ।

मन्त्रायलले क्रिकेट मैदान स्तरोन्नती काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई कडा निर्देशन दिएको छ । बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चरले प्याराफिट निर्माण गरिरहेको छ भने विशन ईश्वरी जेभीले फ्लडलाइट जडानको काम गरिरहेको छ । 

दुवै कम्पनीले असार ३० गतेभित्र निर्माण सम्पन्न गरिसक्ने सम्झौता गरे पनि अझै पूरा भएको छैन । सोही कारण आयोजनाको कूल रकमको ०.०५ प्रतिशत हर्जाना लगाइएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले प्याराफिट निर्माणको लागि ४९ करोड २५ लाख र फ्लडलाइट जडानको लागि ४७ करोड ३७ लाख सम्झौता भएको जानकारी दिँदै अब निर्माण सम्पन्न नहुँदासम्म कम्पनीले दैनिक दुई लाख हर्जाना तिनुपर्ने बताए । 

उनले भने, ‘यसरी हर्जना तिरेर बढीमा २०० दिनसम्म अर्थात् आयोजनाको कुल रकमको १० प्रतिशत हर्जना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था छ । सो अवधिमा पनि काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने व्यवस्था छ ।’

प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष प्रचण्डले सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सरकारको पहिलो घोषणा स्मरण गराउनुभएको थियो । आफ्नै प्रधानमन्त्रीकालमा स्तरोन्नतीको ठेक्का आह्वान गरिएको दावी गर्दै भन्नुभएको थियो, ‘तीन सय दिनमा बनाइसक्ने घोषणा भएको थियो, आज ३६५ दिन पुगिसक्यो, त्यहाँ बन्यो त प्याराफिट ? जोडियो त फ्लडलाइट ?’

प्रचण्ड संसदमा बोलेको एक घण्टा नहुँदै प्रधानमन्त्री ओलीले पनि फेसबुकबाट जवाफ फर्काउनुभएको थियो । आफूले टाइमलाइन नै तोकेर काम गरिरहेको दावी गर्दै भन्नुभएको थियो, ‘बनिरहेको प्यारापिट हेर्न कीर्तिपुर जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्, बनिरहेको छ ।’

टिप्पणीहरू