बैंककबाट आएका भारतीयको झोलामा गाँजाको पोको

बैंककबाट आएका भारतीयको झोलामा गाँजाको पोको

थाइल्याण्डको राजधानी बैंककबाट नेपालमा गाँजा ओसार्ने भारतीयहरू फेरि सक्रिय भएका छन् । 

भारतीय नागरिकले काठमाडौँलाई ट्रान्जिट बनाएर बैंककबाट अवैध लागूऔषध गाँजा ओसारपसार गर्नेक्रम केही महिनायता ह्वात्तै बढेको तथ्यांक आइरहँदा आज पनि त्यस्तै एउटा घटना बाहिर आएको छ । प्रहरीका अनुसार लियावन पुङथार नामकी भारतीय महिलालाई साढे ५ किलो भन्दा बढी गाँजासहित त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । 

एयर एसियाको उडानमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका २९ वर्षीया उनको लगेजमा ५ किलो ७४५ ग्राम गाँजा फेला परेको थियो । शंकाश्पद हर्कत गरेपछि भन्सार क्षेत्रबाट उनलाई पक्रेको प्रहरीले जनाएको छ । 

पुङथारलाई आवश्यक कारबाहीको निम्ति गाँजासहित प्रहरीको लागुऔषध अनुसन्धान ब्युरोको जिम्मा लगाइएको छ । यसअघि गत चैतमा पनि भारतीय नागरिक गाँजा ल्याउनेक्रममा फन्दामा परेका थिए । चैत १६ गते काठमाडौँ आएका इरफान अहमद बसिर नामका भारतीयको लगेजमा १० केजी गाँजा भेटिएको थियो । 

त्सअघि चैत १४ र १६ गते बैंककबाट आएका भारतीयहरुले पनि गाँजा ल्याएका थिए । १४ गते दुई जनाले २० केजी र दुई दिनपछि आएका दुई जनाले पनि छ केजी गाँजा ल्याएका थिए । ती सबै थाइ एअरवेजको उडानमा आएका थिए ।

टिप्पणीहरू