प्रधानमन्त्रीले पानी दिने प्रतिवद्धता गरेको उपेन्द्रको दाबी

प्रधानमन्त्रीले पानी दिने प्रतिवद्धता गरेको उपेन्द्रको दाबी

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा विद्यमान खानेपानी समस्या समाधानका लागि प्रधानमन्त्रीसँग कुरा राखेको बताएका छन् । 

बारा, पर्सा लगायतका जिल्लामा तीव्र हुँदै गएको पानी अभावको विषय आफूले उठाएको र प्रधानमन्त्री केपी शर्मा ओली समस्या समाधानका लागि तयार रहेको उनले फेसबुकबाट जानकारी गराए । 

सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको एक सातापछि यादव हिजो सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिए । त्यहिक्रममा आफूले पानीको समास्या समाधानका लागि कुरा उठाएको उनले दाबी गरेका हुन् । 

बैठकमा भएका कुरा उल्लेख गर्दै यादवले फेसबुकमा लेखेका छन्, 'आज प्रधानमन्त्री निवासमा केही महत्वपूर्ण राजनीतिक विषयमा छलफल भयो । म आफूले बारा र पर्साजस्ता जिल्लामा खानेपानीको चरम अभाव रहेको कुरा बैठकमा उठाएँ ।' 

उनका अनुसार प्रधानमन्त्री ओलीले उक्त विषयलाई गम्भीरताका साथ लिँदै तुरुन्तै आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । 'प्रधानमन्त्रीले भोलीदेखि नै डिप बोरिङ्गलगायत अन्य आवश्यक प्रक्रिया अगाडि बढाएर ती जिल्लाहरूमा पानीको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो', यादवले भने ।

टिप्पणीहरू