नेपालमा ठगी, बेइजिङको बास

नेपालमा ठगी, बेइजिङको बास

भ्रष्टाचारको मुध्दा लागेका दुई जना चिनियाँ र एउटा सफ्ट्वेयर कम्पनीका प्रतिनिधिलाई उपस्थित हुन विशेष अदालतले आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुध्दामा विपक्षी बनाइएका उनीहरुलाई बाटोको म्यादबाहेक ३० दिनभित्र  उपस्थित हुन विशेषले सार्वजनिक सूचना जारी गरेको छ । 

चीनको राजधानी बेइजिङस्थित एसियाइन्फो युआनहाङ (पूर्ववर्ती एसियाइन्फो लिंकेज टेक्नोलोजिज (चाइना) लिमिटेड, उक्त कम्पनीका अपरेसन प्रोजेक्ट म्यानेजर अफ एआई सिआरबीटी एण्ड सीएस परियोजनाका ह्वाङ वेइ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत लोङ योङलाई सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।  

बेइजिङको हाइतियनस्थित सिबेइवाङ पूर्व सडकमा रहेको एसिया इन्फो प्लाजा नम्बर १० को उक्त कम्पनी र त्यसका दुई जनालाई उपस्थित हुन जारी सार्वजनिक सूचनामा भनिएको छ, ‘यस अदालतमा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतको प्रतिवेदनको आधारमा भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता भएको छ । सो मुद्दामा नेपाल सरकार वादी र तपाईंलगायत अन्यलाई प्रतिवादी बनाइएको छ । त्यस सन्दर्भमा, उपस्थितिका लागि तपाईंको नाममा यो आदेश जारी गरिएको छ । बाटोको म्याद बाहेक ३० दिनभित्र उपस्थित हुनुहोला । तोकिएको समयावधिभित्र उपस्थित नभएमा कानूनबमोजिम तपाईंको अनुपस्थितिमा पनि मुद्दाको फैसला हुनेछ ।’

अख्तियारले गत जेठ २५ गते नेपाल टेलिकमकी प्रबन्ध निर्देशक (एमडी) सङ्गीता पहाडी, पूर्व एमडी सुनिल पौडेलसहित १८ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा ती चिनियाँ पनि प्रतिवादी छन् । अख्तियारले एनटिसीको बिलिङ प्रणाली खरिद तथा वार्षिक मर्मतसम्बन्धी सम्झौतामा अनियमितता गरिएको आरोपमा ३३ करोड ४८ लाख बराबरको क्षतिपूर्ति, कैद सजाय र जरिवाना माग गर्दै अभियोगपत्र दर्ता गरेको छ । 

आरोपमा चिनियाँ एसिया इन्फो लिंकएज टेक्नोलोजीज (चीन) कम्पनीसँग सेवा खरिद गर्दा अस्वाभाविक दर निर्धारण गरिएको उल्लेख छ । अघिल्लो सम्झौतामा पाँच प्रतिशत छुट दिने प्रस्ताव हुँदाहुँदै पनि त्यसलाई बेवास्ता गरेर ठूलो रकम चलखेल भएको आरोप छ ।

टेलिकमको विभिन्न सेवा (मोबाइल, इन्टरनेट, फाइबर, लिज्ड लाइन, ताररहित सेवा आदि) को एकीकृत बिलिङ प्रणालीका लागि चिनियाँ कम्पनीसँग सफ्टवेयर खरिद गरिएको थियो । जसमा तत्कालीन प्राविधिक अधिकृत प्रतिभा वैद्य, प्रमुख वित्त अधिकृत राजेन्द्र श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, निर्देशक विनिता श्रेष्ठ, कार्यकारी निर्देशक अमुल प्रधान, प्रबन्धक देवेन्द्र खतिवडा, उपप्रबन्धकहरू राजीवकुमार केसी, सन्तोषकुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा रामप्रताप कर्ण र परमात्मा भट्टराई छन् ।

चिनियाँ कम्पनीको स्थानीय एजेन्ट अरनिको इन्टरनेसनलका निर्देशक शैलेश श्रेष्ठविरुद्ध पनि मुद्दा छ ।

टिप्पणीहरू