प्रशासकीय अधिकृत बितेपछि श्रीमती र छोराविरुद्ध मुद्दा

प्रशासकीय अधिकृत बितेपछि श्रीमती र छोराविरुद्ध मुद्दा

भ्रष्टाचारमा संलग्न देखिएका धनुषाको सबैला नगरपालिकाका पूर्वप्रशासकीय अधिकृत बालवीर ठाकुर बितेपछि श्रीमती र छोराविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुसहित सात जनाउपर आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

मुद्दा चलाइएकामा स्व.ठाकुरकी पत्नी पलवी र छोरा रौनित, नगरपालिकाका तत्कालिन इन्जिनियर रंजितकुमार यादव, लेखापाल शिवकुमार झा, पशु सेवा शाखा प्रमुख राजकिशोर सल्हैता, वडा नम्बर ८, का वडाध्यक्ष दुर्गाप्रसाद राय र अर्चना कृषि सहकारीकी अध्यक्ष संजुकुमारी यादव छन् । 

आर्थिक वर्ष २०७७–०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्राको साना व्यवसायिक कृषि उत्पादन पकेट विकास कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले १५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । 

उनीहरुले मिलेमतोमा कोरोना महामारीलाई कारण देखाउँदै पत्रपत्रिकामा सूचना ननिकाली अर्चना सहकारीलाई कार्यक्रम सञ्चालन गर्न दिइएको र कार्यक्रमअन्तर्गत बोका, पाठी, च्यापकहर, डाले घाँस केही पनि खरिद नगरी झुट्टा बिल बनाएर रकम हिनामिना गरिएको अख्तियारको ठहर छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम १४ हजार ६६ हजार ५०० रुपैयाँ कायम गर्दै प्रतिवादीहरुमाथि कैद र जरिवाना सजाय हुन माग गरेको छ ।

टिप्पणीहरू