मलाई माफ गर्दे न सानी, गर्दे न है !
ओइ सानु प्लिज मलाई माफ गरी दे । जेसुकै सम्झेर भएपनि तैंले माफ गरिदिएर मलाई जिउने एक मौका दिलाइ दे !
जब–जब एक्लोपनाले सताउँछ, कुनै पीडाहरुले थकित र व्यथित महसुस गर्छु । तेरै यादले छोप्छ । किन किन तलाईं सम्झिन्छु त्यो गाह्रो, अप्ठेरोहरुमा । कहिलेकाहीँ खुशी हुँदा, कुनै सफलताले चुम्दा पनि तैँलाई सम्झन्छु । यो क्षण ऊ मसँग भएकी भए वा ऊसँग यो खुशी बाँड्न पाएको भए भन्ने हुँदो रैछ । पुरानो हिन्दी चलचित्र सिलसिलाको ‘ये कहाँ आ गए हम ...’ बोलको गीतमा ‘तुम होती तो ऐसा होता, तुम होती तो वैसा होता’ भनिएझैं ।
नभएपनि ठूलो गुनासोचाहिँ छैन । सानोमा माया पाएकै हो । दुनियाँ भुलेर एकअर्कामा हराएकै हो । मायामा सँगसँगै हाँसेको, रोएकै हो । अहिले भइन भनेर त्यति धेरै शोक होइन । छुट्नु त हाम्रो छँदै थियो र सँगै हुनेहरुको पनि बिजोग देखेको छु । अब त मेरो बिहे हुन्न पनि होला । एकमनले नगरुँ नै लागिरहेछ । बिहे गरेकाहरुको झन् टिठलाग्दो अवस्था देखेको छु । मान्छको शरीर एकातिर भएपनि मन अर्काेतिर हुने । तन पनि अन्त अन्त लगाइँदो नै रहेछ । अहिले त सम्बन्धहरुमा विश्वास र अरुको मनको भर लाग्न पनि छोड्यो । आफैंले भूल गरेंथे, त्यसैले बिझाइरहेछ तीखो काँडाले झैं ।
मेरी त हुन पनि सक्थिनौ । किनकि हाम्रो जातै मिल्थेन । मानव मानव बीचमै फरक फरक जात भनेर गरिएको विभाजनले समाजमा जुन किसिमको विभेदको रेखा कोरिएको छ, अहिले पनि थरको आधारमा दलित–गैरदलित भनेर वर्ग स्थापित गरिँदा जातीय विभेद र असमानताको स्थिति कायमै छ । नयाँ राष्ट्रिय परिचयपत्रमा समेत जात उल्लेख गर्नुपर्ने व्यवस्था लादिएको छ । कानुनबाट जातीय भेदभावको मात्र होइन, जातीय व्यवस्थाकै अन्त्य हुनुपर्छ । पीडितहरु सबैले थर फेर्दै जानुपर्छ ।
मसँग आउँदा तैंले परिवार, आफन्तलाई त्याग्नुपर्ने कारण हाम्रो बिहेचाहिँ हुन सक्दैन भन्ने नै थियो । हामी सँगै हुँदा कहिलेकाहीँ दुवै रुँदै अर्काे जुनीमा भेटिने वाचा गथ्र्याैं नि बिर्सिस् ? तँ मेरो नहुने भएरै पनि म बेपर्वाह बरालिँदै हिँडे कि ! जे भए नि भयंकर भूल त मबाट भएकै हो । विगतको त्यो डरलाग्दो भूतले आज पनि घरीघरी तर्साइरहन्छ नानु । निकै पिरोल्छ तेरो मन दुखाएको कुराले । त्यस्तो गल्ती जीवनमा फेरि कहिल्यै नहोस् भनेको छु ।
तैंले माफ दिइस् भने सबै कुरा हुन्छ सानु । साँच्चै म राम्रो गर्न चाहिरहेछु र गर्न सक्छु पनि । हिजो तैंले नै भनेकी थिइस्, ‘अरु भन्दा तैंले जीवनमा केही गर्छस्’ भनेर । तैंले क्षमा गरिस् भने बल्ल मेरो जीवनले मुक्ति पाउनेछ, किनकि मलाई तेरो मायामा विश्वास छ । माफीमाग्न लायक त छैन म । त्यसैले जहिल्यै तँलाई सम्झिँदा दिव्य सुब्बाको ‘म तिम्रो आँखामा सजाउन कहाँ योग्य छु र ?’ भन्ने पश्चातापको गीत याद आइहाल्छ । अनि तँसँग अन्तिम याचना गर्दै आस्था ब्यान्डको ‘एक मौका’ सुन्न मन लाग्छ र सुन्ने गर्छु ब्रायन एडम्सको ‘प्लिज फरगिभ मि ...।’ यसरी नै गीत–संगीतमा भुलिरहेछु । नत्र आत्मरतिमा रमाउनुबाहेक नीदमासमेत चैन छैन ।
अरुभन्दा नि उसको नजरमा अड्न सकिनँ भन्ने अफसोस ज्यादा छ । मजस्तो गरीब, दलित, सकुमवासी केटालाई परिवार, आफन्त र समाजको छेकबार तोडेर अनेकको भनाइ, टोकेसो सहँदै भएपनि आफ्नो दिल चढाएकी हो । कसैले प्रेमकी रानी, मायाकी खानी भन्छ भने त्यो तँ होस् । साँच्चै तँ छुटेपछि प्रेमप्यासले व्याकुल छु । मेरो लागि प्रेमकी मूल थियौ तिमी । गएपछि मायाको मुहान नै सुकिगयो ।
ऊबेला माया गरेकै हो । अब त कहिल्यै माया पलाउँदै नपलाओस् त्यो मनमा मेरो मै भन्छु । त्यो कोमल हृदय फेरि कहिल्यै बिझाउन नपरोस् । विलिन भइजाउँ सदाका लागि तेरो स्मृतिबाटै । बस अलिकति सहानुभूति राखिदे न । घृणै गरेर भएपनि माफी दे थोरै शुभभाव राखेर । उतिबेला कुसंगत र कुलतमा लागेर रक्सीको मातमा मैले होस गुमाएको थिएँ । तँलाई पनि थाहा छ, बेहोसीको भूल थियो । माया त तैंलाई गरेको हो नि सानैदेखि, एकअर्काले बुझ्दै नबुझी, जानी–नजानी । कहिलेकाहीँ त लाग्छ तँलाई नै सम्झेर यो बाँकी जीवन कसैको चाहनाविना यसैगरी एक्लै बिताऊँ ! तर एकपटक प्रेममा परिसकेको, तेरो जस्तो चोखो, निर्मल मायाको सागरमा डुबुल्की मारेको तनमन प्रेमविना अब कहाँ सजिलै मान्छ र ?
तिमीले माफी दियौ भनेमात्र ईश्वर र प्रेमतत्वले पनि मलाई माफ गर्नेछन् । किनकि प्रेमकी देवी तँ होस् । प्रेमको उपहार पाएको थिएँ मैले तँबाट । मायाको वर्षा गरिदिएकी थियौ । त्यस्तो माया अब कोबाट पाऊँ ? आमाको जस्तो माया कसैको हुँदैन भनिन्छ । तेरो पनि कम थिएन । मायामा उच्चकोटीको नमूना हौ तिमी । भेटेर माफ माग्ने भाग्य रहेन । त्यसैले यो अन्तिम पत्र लेखें । बरु मन लाग्दैन भने कहिल्यै मलाई देख्न नपरोस् । मरी नै जाउँ ¤ तर यसरी साह्रै गाह्रो भएको छ सानी । विगतमा आफैंले कोरेका घाउहरु पाकेर टनटनी दुखिरा’छ । सम्झिँदा पनि आफैंदेखी घिन लागेर आउँछ । ग्लानि र हीनताबोधले सताउँछ । तँलाई रुवाएपछि माया र सम्बन्धहरुमा कहिल्यै रमाउन सकिनँ । श्रापित छु ।
सुनिदे न है एक अन्तिम मौका गुहारिरहेछु । यसरी नै प्रायश्चितमा जल्दै अझै कति बाँचु ? जीवन लामो भइसक्यो । आशा, उत्साह, खुशी, सपना सबै टुटेका छन् । अल्झिराछु, बल्झिराछु, तड्पिराछु, भड्किराछु म त । हिजो तँ हामी बसेको, भेटेको, खेलेको, रमाएको त्यो गाउँठाउँसमेत उजाड, उराठ, पट्यारलाग्दो भएको छ । विरानो लाग्छन् अचेल ती घरआँगन, बाटाघाटा र मान्छेहरु पनि । तँ नै छैनस्, कसलाई आफ्नो भन्नु मैले ?
चिसो बतास चल्दा, झरी बर्सिंदा तेरै याद मडारिएर आउँछ । तैंले पनि त यो संसार देखिस्, बुझिस् होला ! हामीले सानोमा कल्पना गरेजस्तो प्रेम, यौन र बिहे एकै सूत्रमा बाँधिने पनि त हुन्न रहेछ । पतिपत्नी भइसकेपछि पनि मान्छेले बाटो बिराउँदा रैछन् । मलाई पनि माफी दे न ! भेट्नुपर्ने, देख्नुपर्ने, बोल्नुपर्ने पनि होइन । मनैले माफी दिइस् भने जिन्दगीले पनि मलाई एक अन्तिम मौका दिनेछ पक्का ।
– अजय गोर्खाली
टिप्पणीहरू