हाकिमविरुद्ध पाँचौं भ्रष्टाचार मुद्दा, छ जना प्रतिवादी

हाकिमविरुद्ध पाँचौं भ्रष्टाचार मुद्दा, छ जना प्रतिवादी

राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा लागेको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै १६ करोड रुपैयाँको पाँचौं भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि आर्थिक वर्ष २०७६÷७७ मा हाइ कम्प्युट इन्फ्रास्ट्रक्चरसम्बन्धी योजनामा आपूर्ति, जडान तथा स्थापनासम्बन्धी ठेक्कामा आपसी मिलिभगतमा १५ करोड ८८ लाख रूपैयाँ भ्रष्टाचार गरेको दाबी गरेको छ । गुरुयोजनाबिना स्पेसिफिकेसन तयार गरेको र पौडेलले ३० करोड ९९ लाख ९९ हजार भ्याटसहित लागत अनुमानको बोलपत्र आह्वान गरेको आयोगको अनुसन्धानबाट पुष्टि हुन आएको हो ।

अभियोगपत्रमा पौडेलले २०७६ माघ १५ गते कान्तिपथस्थित वल्र्ड डिस्ट्रिब्युसन नेपालको भ्याटसहित ३० करोड ६५ लाख ५५ हजारको बोलपत्र स्वीकृत गर्दै खरिद सम्झौता गरेको उल्लेख छ । भ्रष्टाचार मुद्दामा पौडेलसहित केन्द्रका निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वल्र्ड डिस्ट्रिब्युसन नेपाल प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण श्रेष्ठलाईसमेत प्रतिवादी बनाइएको छ । 

अख्तियारका अनुसार केन्द्रका लागि निर्धारित शर्त तथा मापदण्डविपरीत गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरेको अभियोग दाबी लिइएको छ । आपूर्तिक्रममा झुटा कागजातहरू पेस गरी अस्वाभाविक मूल्य कायम गरेको तथ्य अनुसन्धानबाट फेला परेको छ । नेसनल पेमेन्ट गेटवे (एनपीजी) भ्रष्टाचार प्रकरणमा २३ करोड भ्रष्टाचार, राष्ट्रिय सूचना प्रविधि केन्द्रको एनआईटीसी÷जीएनसीबीमा ५ करोड ७९ लाख भ्रष्टाचार, अकुत सम्पत्ति आर्जन, घुस मुद्दासहित यसअघि चार वटा मुद्दा दर्ता भइसकेको छ ।
 

टिप्पणीहरू