भाँडिएका हरेक घरको सानो कहानी

भाँडिएका हरेक घरको सानो कहानी

झट्ट हेर्दा निकै भलाद्मी, आदर्शवान र समझदार देखिने पुरुष साथीलाई कामको सिलसिलामा भेट्न गएको थिएँ, सजिलैसँग सबै काम गरिदिए । काम सकिएपछि सामाजिक सञ्जाल, मोबाइल नम्बरलगायत जे–जति छन् सबै एकापसमा सेयर गरियो । बेला–बेला कुराकानी भइरहन्छ । यति राम्रोसँग बोल्ने व्यक्तिबारे केही जान्न मन लाग्यो । विचार गरेँ, यस्तो सहयोगी, इमान्दार र शालीन व्यक्तिलाई श्रीमान्को रूपमा पाउने महिला पक्कै निकै भाग्यमानी हुनुपर्छ ।

एकदिन उनको प्रोफाइल पल्टाएर हेरेँ, अनि श्रीमतीको पनि हेरेँ, कतै देखेजस्तो लाग्यो । श्रीमतीलाई फ्रेण्ड रिक्वेष्ट पठाएँ, २–३ महिनापछि मात्र स्वीकार गरिन् । सामाजिक सञ्जालका पोष्टको बीच–बीचमा राम्रा कमेन्ट पनि गर्दै गएँ, कसरी हुन्छ म उनीसँग नजिक हुन चाहन्थेँ । बाहिर यति राम्रो व्यवहार गर्ने पुरुषले श्रीमती र परिवारलाई पनि त्यसै गर्छन् कि नाइँ भन्ने जान्न मन लाग्यो ! किनकि बाहिर खुशी देखिएकाहरू भित्रभित्रै पीडामा पनि हुन्छन् भन्ने सुनेको थिएँ ।

मेसो मिलाएर विस्तारै–विस्तारै उनकी श्रीमतीलाई हाइ, हेलो गर्न थालेँ । तर, जवाफै आएन । पछि तपाइँ त  चिन्नुहुन्न होला, मचाहिँ तपाइँलाई चिन्छु भनेपछि अलि सकारात्मक जस्तो भइन् । सबै कुरा एकैचोटि सोध्न पनि भएन । एक दिन भेटौं न भन्ने प्रस्ताव राखेँ । 

उनले म बाहिर कतै आउन सक्दिनँ, यहीँ मेरै अफिसमा आउनुस् भनिन् सोहीअनुसार कार्यालयमै भेट्न पुगेँ । उनी सरकारी जागिरे, निजामतीतर्फको । म त दंग, यति सिम्पल कि कुरै गर्न सक्दिनँ । त्यो दिन बसेर चिया खाइयो, व्यक्तिगत र पारिवारिकबाहेक खासै कुराकानी भएन । सानो हुँदा उनी र म पढेको स्कुल एउटै रहेछ, समय धेरै बितिसकेकाले बिर्सिसकेका रहेछौँ तर कुरा गर्दै गएपछि विगत मानसपटलमा आइहाले । उनका श्रीमान् पनि सरकारी कार्यालयमा अधिकृतस्तरका कर्मचारी हुन् । सेवासुविधा तथा आम्दानीका हिसाबले श्रीमान्को भन्दा राम्रो रहेछ उनको ।

त्यसपछि साथीसँग फोनमै कुरा गर्न थालेँ । एकदिन बाहिर कतै घुम्न जाऔँ न भनेर प्रस्ताव गरें तर उनले हुन्छ भनिनन् बरु पछि विचार गरौंला भन्ने जवाफ फर्काइन् । अलिक दिनपछि भनिन्, ‘म यत्तिकै कतै जान पाउँदिन, बरु यसो कुनै अफिसियल कार्यक्रम मिलाएर बोलाऊ न ।’

मैले एउटा कार्यक्रमको सन्दर्भ पारेर निमन्त्रणा गरेँ । सो दिन सँगै बस्यौँ । बल्ल उनी मसँग खुल्दै जान थालिन् । कुरा सुन्दा उनी यति दुःखी रहिछन् कि आफैं सक्षम भएर पनि विभिन्न पीडा सहँदै बसेकी । बोल्दाबोल्दै निकै भावुक हुन्थिन्, आजसम्म कहीँ–कतै खोल्न, भन्न नसकेको मनका कथा र धर्ती पखालिउञ्जेल रुने धोको सायद आज पूरा भएजस्तो लाग्यो । त्यो सुन्दा मलाई पनि निक्कै गाह्रो भयो । म पनि सम्हालिन सकिनँ, सँगै रोएँ ।

सबै विवरण एकदिन उसको अफिसमा गएर छापामार शैलीमा कम्प्युटरमा खोज्न थालें, त्यहाँ ती महिलासँग सम्बन्ध चिसिँदै गएपछि लेखिएका, खोजिएका फेहरिस्त फेला पारें । 

उनका पीडा बाँड्न त सकिँदैन तर सुनेर भए पनि केही हल्का गरिदिएजस्तो लाग्यो । मैले उनको श्रीमान् जो निकै भलाद्मी लाग्थ्यो उसलाई सम्झिएँ र यिनलाई हेरेँ, कति–कति फरक ! मान्छेको हेराइ, गराइ र भोगाइमा धेरै फरक पर्दोरहेछ । भन्दैथिइन्– अरू त अरू आफ्नै कमाइ पनि मसँग हुँदैन, सबै उनैले चलाउँछन् आफूलाई आवश्यक परेको बेला माग्ने नै हो । उनैको हात थाप्ने हो । मसँग मेरै अकाउन्ट छैन, एटिएम छैन, पिनकोड थाहा छैन । थप्दै गइन्, बिहे गरेको पनि यत्तिका वर्ष बितिसके । तैपनि आजसम्म तिमी भनेर सम्बोधन गरी बोलेको थाहा छैन, खै किन हो मसँग ऊ खुशी छैन भने आफ्नो व्यवस्था गर्नु पनि भनेँ तर त्यसो गर्न आफ्नो इज्जत र प्रतिष्ठाले दिँदैन रे तर घरमा श्रीमती छोराछोरीलाई पीडा दिएर बाहिर रमाउन मात्र किन खोज्नु ! मैले उसका धेरै म्यासेज देखेको छु परस्त्रीसँगका तैपनि चुपचाप सहनबाहेक केही गर्न सक्दिनँ । 

एउटासँग हैन ३–४ जनासम्म संवादको म्यासेज भेटेको छु । घरमा हुँदा कसैसँग कुरा गर्दैनन् तर अफिस आवरमा मात्र कल गर्नु भनेर लेखेका हुन्छन् । अनि घरमा आउँदा सबै म्यासेज, कल डिलिट गरेर आउनेरहेछन् अझै कामको सिलसिलामा बाहिर जाँदा त झन् फ्रि ! भिडियो कलसमेत गरेर आफू कहाँ छु, के गर्दै छु भन्ने कुराको प्रत्यक्ष जानकारी दिने तर घरमा श्रीमतीलाई भने कल गर्न पनि गाह्रो मान्ने । एकपटक उसैको नजिक बस्ने स्टाफले उसले च्याटिङ गर्दै गर्दाका क्लिप्सहरू थाहा नपाउने गरी खिचेर पठाइदिएका थिए । त्यसपछि त झन मलाई ऊमाथि विश्वास, भरोसा कम हुन थाल्यो ।

छोराछोरी छन् तर श्रीमती छैन, अरू परिवार गाउँमा बस्छन् भन्ने आशयको कुराकानी गर्दारहेछन् । त्योभन्दा पहिला झन् कुनै एक गैरसरकारी संस्थामा काम गर्ने महिलासँग सम्बन्ध रहेछ । सँगै भेटघाट, घुमफिर, खानपान चलिसकेको रहेछ, पैसा पनि समय–समयमा दिने गरेको रहेछ । पछि अचानक खै किन हो ती महिलाले सम्पर्क कम गर्दै लगिछन् । अहिले त पूर्णरूपमा सम्पर्कविहीन छु भन्छन् तर के हो थाहा छैन । यी सबै विवरण एकदिन उसको अफिसमा गएर छापामार शैलीमा कम्प्युटरमा खोज्न थालें, त्यहाँ ती महिलासँग सम्बन्ध चिसिँदै गएपछि लेखिएका, खोजिएका फेहरिस्त फेला पारें ।  महिलालाई भेट्नका लागि उनका बाबु–आमा दिदी, भाइ सबैसँग सोधखोज–सम्पर्क पनि गरिएको रहेछ । 

सायद नयाँ नयाँसँग सम्बन्ध बनाउँदै रमाउने बानी नै परेर हो कि अहिले पनि अर्की महिलासँग दोस्ती छ । अझै पनि मलाई विभिन्न बहाना बनाई धम्की दिने, डिभोर्स माग्ने, तिमीहरूलाई छोडेर बेपत्ता भइदिन्छु भन्ने जस्ता कुरा गरिरहन्छन् । अब तपाइँ आफै भन्नुस्, यस्तो बेलामा म कसरी बाँचेको छु र अब पनि कसरी बाँचौं, के गरौं ! कहिलेकाहीँ त सोच्दा–सोच्दै डिप्रेसनमै जान्छु कि जस्तो लाग्छ, न मर्न सक्छु, न राम्रोसँग बाँच्न नै । मरौं भने छोराछोरी सानै छन् । अहिले त यस्तो अवस्था छ, म नहुनेबित्तिकै झन् यिनीहरूको के हालत होला भन्नेजस्तो लाग्छ र फेरि सम्हालिन्छु  तर खुशीसँग बाँचाैँ त दिनरात नदेखिने टर्चरले झनझन गाह्रो बनाएको छ । जस्तोसुकै परिस्थिति आइपरे पनि चुपचाप केही वर्ष बाँच्न पाए हुन्थ्योजस्तो लाग्छ, त्यसपछि त छोराछोरी ठूला हुन्छन् भनेर मनका पीडा सुनाइन् ।

एकपटक एक जनासँग अलिकति सल्लाह खोजेकी रहिछन् तर पत्रकार सम्मेलन गर, नभए फाइल बढाऊ भन्ने कुरा आएछ । पत्रकार सम्मेलन गरेर के गर्नु, त्यहाँबाट सबै परिवार उदांगिनुबाहेक केही हुन्न । जे छ आफैसँग छ । आजसम्म कतै नभनेका र सहेर पनि बचाइराखेका इज्जत किन छरपस्ट पार्नु, आखिर समाधान त्यति मात्र पनि त होइन नि ! चाहेको यत्ति हो, कसैले श्रीमान्लाई परामर्श देओस् सायद कुनै सकारात्मक परिवर्तन आउँछ कि ? कसैको एकबचनले पनि जीवन सहज हुन्थ्यो कि ! 

एउटी नारी घरमा थाकेर, टुटेर पनि कहाँ जानु छ र जसको माइती नै हुँदैन भैहाले पनि धेरै दिन बस्नै सकिन्न । नदुख्ने चित्त, नरुने आँखा, कसैलाई नखोज्ने मन अनि नथाक्ने शरीर भैदिए कति आनन्द हुन्थ्यो होला ? समयले सबै कुरा स्वीकार्न बाध्य पारिदिँदो रहेछ । उसको मप्रतिको धोका सत्य प्रमाणित भएर पनि चुपचाप सहेर बसेकी छु, सहन गर्न र धैर्य रहन पनि सिकेकी छु जुन छोराछोरीको भविष्यसँग जोडिएको छ र त... चूपचाप छु साथी । यो कथा कसैको जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ । 
 

टिप्पणीहरू