माओवादीको आपत्ति र मनिषा कोइरालाको सहभागिता सँगसँगै
सहकारी ठगी प्रकरणमा कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई छुटाउन राष्ट्रिय स्वतन्त्र पार्टीले चलाइरहेको हस्ताक्षर संकलन अभियानमा अभिनेत्री मनिषा कोइराला सहभागी भएकी छन् । आज वनस्थलीस्थित घण्टीघर पुगेर उनले हस्ताक्षर गरेकी हुन् ।
यसअघि कलाकार विपिन कार्की, खगेन्द्र लामिछाने, निर्देशक दिपेन्द्र कुमार खनाललगायतले पनि रविको पक्षमा हस्ताक्षर गरेका थिए । रास्वपाले यसरी हस्ताक्षर संकलन अभियान चलाइरहँदा कतिपयले अदालती प्रक्रियामा प्रभाव पर्ने विश्लेषण गरिरहेका छन् ।
उता, नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत हस्ताक्षर गरेको भनेर रास्वपाले गरेको प्रचारप्रति आपत्ति जनाएको छ । रास्वपा नेता तथा कार्यकर्ताले केही दिनअघि प्रचण्डले हस्ताक्षर गर्दै गरेको एउटा तस्बिर समाजिक सञ्जालमा भाइरल बनाएका थिए ।
तर, रास्वपाले पुरानो तस्बिर दुरुपयोग गरेको माओवादीको ठहर । त्यसबारे स्पष्ट पार्दै सांसद राजन दाहालले भनेका छन्, ‘हाम्रो पार्टीका श्रद्देय अध्यक्ष कमरेड प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीको हस्ताक्षर अभियानमा हस्ताक्षर गर्नु भएको भनि भिन्न सन्दर्भको पूरानो फोटोको दुरूपयोग गरी सामाजिक सञ्जालमा गरिएको पोष्टमा सच्चाइ नरहेको र अध्यक्ष कमरेडले हस्ताक्षर गर्नु नभएको व्यहोरा अवगत गराइन्छ ।’
टिप्पणीहरू