यसरी हाँस्ने दिन कहिले आउला ?

यसरी हाँस्ने दिन कहिले आउला ?

इरान–इजरायलबीचको छोटो युद्धमा विराम लागेको केही दिनभित्रै चीन–अमेरिकाबीच नयाँ व्यापार सम्झौता भयो । एकखाले युद्धको त्रासलाई अन्त्य गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका थिए– ‘...मैले इरान–इजरायल युद्ध अन्त्यको घोषणा गरेको छु ।’

युद्धको विभिषिकाले कसलाई फाइदा पुग्छ ? सायद यसो हुँदो हो भने तेस्रो विश्वयुद्ध धेरै पहिले नै भइसक्थ्यो तर त्यसको त्रास कायमै छ । हुन त इतिहास युद्धकै गर्भबाट जन्मिएको हो र यो रगतद्वारा लत्पतिएको हुन्छ भनिन्छ । यद्यपि एउटा नेपाली आँखाबाट हेर्दा आजको संसारको पछिल्लो चरित्रका कारण मानवीयता खतरामा छ । 

बेइजिङस्थित इन्स्टिच्युट फर इन्टरनेशनल स्टडिजका प्रोफेसर डा. गाडर्न कोन्सवेन भन्छन्, ‘ट्रम्प आए पनि उनीहरुको नीति एउटा छ । बाइडेनअघि पनि ट्रम्प नै राष्ट्रपति थिए तर विश्वलाई हेर्ने तिनको नीति फेरिएको छैन ।’ प्रोफेसर कोन्सवेनको दृष्टिबाट हेर्दा चिनियाँ सोच समभावमा आधारित छ । 

तर, प्रश्न आजको प्रजातन्त्र अनि शासन प्रणालीबाट मानिस सन्तुष्ट छ कि छैन भन्ने हो । म यतिबेला चीनका केही मुख्य शहरमा रुमल्लिरहेको छु । राजधानी बेइजिङदेखि ठूला नगरपालिकाहरु थ्यान्जिन र सेन्जेनसमेतको भ्रमण गर्दा अनि दुई वर्षअघिको सांघाई र ग्वाङजाऊ क्षेत्रलाई नियाल्दादेखि नै त्यो प्रश्नभित्रै घोत्लिँदै आएको छु । आफू देशबाहिर भएकै बेलादेखि हाम्रोमा संसद चलिरहेको छ । संसदीय व्यवस्थालाई संभवतः संसारकै उत्कृष्ट व्यवस्था मानिन्छ तर नेपालको संसदीय अभ्यास र प्रणालीले उल्टो गति लिएको प्रतीत हुन्छ । 

२०२३ मा गरिएको सर्भेले भन्छ, नेपाल संसारकै सबैभन्दा खुशी देशको ८७ नम्बरमा परेको छ । पहिलो नम्बरमा स्क्याण्डिनेभियन मुलुक फिनल्याण्ड छ । प्रश्न यहाँनेर छ– मानिस खुशी कसरी हुन्छ ? राम्रो व्यवस्था भएर कि असल नेता पाएर ? अथवा मनमौजी गर्न पाएर ? सो सूची हेर्दा धेरैजसो युरोपियन देश खुशीको मापनमा अगाडि छन् ।

मानिस खुशी कसरी हुन्छ ? राम्रो व्यवस्था भएर कि असल नेता पाएर ?

हामी लोकतन्त्रको कुरा गर्छौं तर जनता खुशी नहुने लोकतन्त्रको के अर्थ भो र ? जहाँ जनता खुशी छैनन्, शासन प्रशासन विरुप छ, त्यहाँ लोकतन्त्र छ भनेर कसरी भन्ने ? फेरि उही कुरा गर्छ भन्ने लाग्ला । जनतालाई कडा शासन होइन, सुन्दर शासन प्रणाली चाहिएको छ । जहाँ एक जना नागरिकले शासकको विरोध गरे भने उसले सत्ता छोड्नु परोस् ।

यस्तो दिन आउला र ! उफ् ! 

भर्खरै जापानका कृषिमन्त्रीले चामलको मूल्य बढेपछि त्यसमा आफ्नो गल्ती स्वीकार्दै राजीनामा दिए । यस्ता नैतिक प्रश्न अरु पनि होलान् तर नेपालको संसदमा पटाक्षेप हुने नाटकको अन्त्य कहिले होला ? अथवा जनताले चाहेको समुन्नत लोकतन्त्र कहिले आउला ? अर्थात् जनताले आफ्नो देशका नेताप्रति गौरव गर्ने दिन कसरी आउला ? 

चीनका पार्कहरुमा साँझपख मानिस जुम्बा डान्स गरिरहेका भेटिन्छन् । रेष्टुरेण्ट र मेट्रोहरुमा भीडभाड छ तर सडक सुनसान देखिन्छ । अनि युरोप, अमेरिका त टाढाका देश भए, मिडिल इष्टका दुबई, कतार, साउदीजस्ता देशकै उदाहरण काफी छन् । यसैपटकको चीन भ्रमणमा थ्यान्जिनस्थित चीन–सिंगापुर फ्रेण्डसिप लाइब्रेरीको नजर लगाइयो । एकपटक नेपाली नेताहरुले नेपाललाई सिंगापुर बनाउने कुरा गरेको प्रसंग उठ्यो त्यहाँ । एकजना नेपाली सहभागीले हाम्रा नेताहरुले धेरै पहिले नै नेपाललाई सिंगापुर बनाउँछौं भनेका थिए तर चीनले त भर्खर पो बनाएछ भनेर रमाइलो पाराले भन्दा मलाई नरमाइलो लाग्यो । आफैं र आफ्नै देशमाथि नमीठो व्यंग्यवाण प्रहार भएझैं लाग्यो । तर, अलिपर रहेकी चिनियाँ साथी म्याक्स हाम्रा कुरा सुनेर हाँस्दै थिई । कुरा बुझिन्छ, ह्वाट...ह्वाट भन्दै थिई । हामीले यसै टार्‍यौं । 

हैट... यसरी हाँस्ने दिन कहिले आउला ? ऊ आफ्नो देशले गरेको प्रगतिका कथा सुनाउँदा बेला–बेला हाँस्छे खुशीले । स्क्याण्डेभियन मुलुकका जनता उसैगरी हाँस्दा हुन् । आफ्नो देशले गरेको तरक्कीको कथा सुनेर हाँस्दा हुन् कि संसारको दुःखरुपी युद्ध पनि एकलौटी अन्त्य गरेर ट्रम्पले संसारलाई जसरी हँसाए, त्यसरी नै हामी आफैंमाथि व्यंग्य गरेर हाँस्दा हुन्। 

कहिलेकाहीँ नराम्रा तथ्यले पनि हँसाउँदो रहेछ । बेलाबेला प्रचण्डले गरिरहने बुँदागत सम्झौताले जसरी हँसाउँछ, त्यसरी नै हाम्रा प्रधानमन्त्रीज्यूले दिने सुशासनको गफले पनि हँसाइरहेकै हुन्छ । अनि दीपक खड्काले कुलमानलाई हटाएर नदुखेको टाउको किन दुखाएको होला भन्दा आउने हाँसो र महावीर पुनको किताब बेच्ने तरिकाले पनि हाँसो नै दिन्छ । तर, प्रश्न मान्छे किन र कसरी हाँस्दैछ ? उसको हाँसो कतातर्फ लक्ष्यित छ भन्ने मूल प्रश्न हो । तैपनि मान्छेहरु हाँस्न पाइरहेकै छन् । कमेडी नाइट्स र कमेडी दरबारहरुमा वा संसदमा मञ्चन हुने नाटकहरुमा । तर, खुशी हुन धेरै त के चाहिँदो रहेछ र ? ग्वार्कोको बाइपास बन्दा नै काफी हुने रहेछ । 
 

टिप्पणीहरू