नाउपालाई सात दलको समर्थन

नाउपालाई सात दलको समर्थन

मधेशकेन्द्रीत सात राजनीतिक दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही-३ मा हुने उपचुनावमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का उम्मेदवारलाई समर्थन गर्ने भएको छ । 

आज काठमाडौँ महानगरपालिका-१० शंखमुलस्थित एवन पार्टी प्यालेसमा बसेको मोर्चाको बैठकले नाउपाले अघि सार्ने व्यक्तिलाई साझा उम्मेदवार मान्ने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै तमलोपाका नेता डा. विजय कुमार सिंहले सर्वसम्मतरुपमा सो निर्णय भएको  बताए । 

०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको गत चैत १९ गते निधन भएपछि उक्त क्षेत्र खाली छ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेसँगै दलहरु चुनावकेन्द्रीत तयारीमा लागेका छन् । 

तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृजेशचन्द्र लाल यादवको अध्यक्षतामा बसेको बैठकमा लोसपाका  अध्यक्ष महन्थ ठाकुर, नाउपाका रञ्जिता श्रेष्ठ, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोलगायत उपस्थित थिए । बैठकमा समसामयिक राजनीति, सरकारको काम, निजामती ऐनमा रहेको कुलिङ पिरियड र संवैधानिक नियुक्तिका सम्बन्धमा पनि चर्चा भएको थियो ।

‘निजामती ऐनमा घटेको घटनामा दोषीलाई कारबाहीको माग गरिएको छ, संवैधानिक नियुक्तिबारे हाम्रो गम्भीर आपत्ती रहेको छ’, उनले भने ।

टिप्पणीहरू