सेन्ट्रल कलेजका नाममा वाईबीको चटक

सेन्ट्रल कलेजका नाममा वाईबीको चटक

शैक्षिक परामर्श तथा भाषा प्रशिक्षणको नाममा नियमविपरीत सञ्चालित कन्सल्टेन्सी १११ वटा  कन्सल्टेन्सीहरुको विवरण जिल्ला प्रशासन कार्यालयले श्रेणीसहित सार्वजनिक गरेको छ । तेस्रो स्तरमा राखिएका १५ वटा कन्सल्टेन्सीहरुलाई पूर्णरुपमा अवैध भन्दै बन्द गर्ने चेतावनीसमेत दिइएको छ । 

दर्ता प्रक्रिया पुर्याएर ठीक ढंगले सञ्चालित विभिन्न ४६ वटा कन्सल्टेन्सीहरुलाई पहिलो श्रेणी दिएको जिल्ला प्रशासन कार्यालय चितवनले ५० वटालाई बी ग्रेडमा राखेको छ । मापदण्ड पूरा नभएको जनाउँदै बी ग्रेडका कन्सल्टेन्सीहरुलाई यही असार २२ गतेभित्र आवश्यक कागजात पेश गर्न सूचित गर्दै अन्यथा प्रचलित कानुनबमोजिम हुने व्यहोरा जानकारी गराइएको छ । जिल्लामा बढी नै फूर्तिफार्ती देखिएको सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ्ग प्रा.लि. नै दोस्रो दर्जामा देखिएपछि यसको कैफियत खोज्दै भोलिपल्टै जिल्ला प्रशासन कार्यालय पुग्दा प्रशासनका कर्मचारीले ‘किन सेन्ट्रल कलेजकै चाहियो ?’ भन्दा जिल्लामा ठूलो तमाशा उसैको देखिएको बताए । 

शहीदचोकको प्रेसमार्गमा २–४ वटा कोठा भाडामा लिएर चलेको सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ्ग प्रालिले अहिले लायन्सचोकमा जग्गा किनेर आफ्नै तलै तला भएको ठूलो टावरसमेत ठड्याएको छ । कारोबारको हिसाबले जिल्लाको टप लेभलमै देखिन्छ । प्रचारप्रसार पनि भरमग्दुर उसैको छ । कलेजको विज्ञापनमा सञ्चालक यज्ञविलाश पौडेल (वाईबी पौडेल)ले आफ्नो फोटो छपाएर गाइजात्रा देखाइरहेको पनि बताए । 

वाईबीले सेन्ट्रल कलेजको नाममा आफ्नै फोटोसहितको होर्डिङ,फ्लेक्स र लाइट बोर्डहरु बनाएर भरतपुर,चितवनका बजारभरि टाँगेका छन् । शहरदेखि गाउँगाउँसम्म,सडक गल्ली जताततै उनैको फोटोसहितको ठुल्ठूला विज्ञापन बोर्डहरु देख्न सकिन्छ । आसपासका जिल्लामा पनि वाईबीको होर्डिङ्ग बोर्ड आतंक व्याप्त छ । पत्रपत्रिका र अनलाइन मिडियामा समेत उनैको फोटोसहितको विज्ञापन भरमार देखिन्छ । क्यालेन्डरहरुमा पनि सर्वत्र उनको फोटो विज्ञापनको नाममा छापिएको छ । अलिकति पैसा फ्याँकेर मिडिया र प्रचारप्रसारमार्फत् जे पनि गर्न सकिन्छ भन्ने ठानेका उनले पछिल्लो सयम मिडियामा आफैंले लगानी समेत गरेका छन् । चितवनको नारायणी अनलाइन उनैको सेयर लगानीमा चलेको भन्ने बुझिन्छ ।   

सेन्ट्रल कलेजबारे के कसो भएको हो भन्ने जनआस्थाको जिज्ञासामा सिडिओ प्रकाश पौडेलले आफ्नै ठूल्ठूलो फोटो राखी होर्डिङ्ग बोर्डहरु टाँग्नु, प्रचारप्रसार गर्नु अस्वभाविक भएको बताए । कर्मचारीलाई यस्ता एउटै बोर्डको भाडा मासिक पाँच हजारसम्म लिनुपर्ने भनी प्रजिअ त्यहाँबाट निस्किए । 

सेन्ट्रल कलेजको विज्ञापनमा विदेशी प्रशिक्षकबाट प्रशिक्षण हुनेसमेत बताउने गरिएको छ । विदेशी प्रशिक्षकको नाम बेचिएको तर विदेशी प्रशिक्षक केही पनि नभएको प्रशासन फाँटका कर्मचारीले बताए । सेन्ट्रल कलेजमा विदेशी प्रशिक्षक दुई जना रहेको भनिएको छ तर उनीहरुको श्रम स्वीकृति र भिसाको प्रक्रिया नै पूरा नगरिएको ती कर्मचारीले जानकारी दिए । यसको कर चुक्ता पनि २०७९/०८० सम्मको मात्रै रहेको उनले बताए । 

जिल्लामा धेरै ठूलो कारोबार गर्ने सेन्ट्रल कलेजले थोरै मात्र कारोबार देखाएर व्यापक मात्रामा करछलीसमेत गर्दै आएको आरोप पनि लाग्दै आएको छ । सिडिओ कार्यालयबाट लगत्तै यसको राजस्व चुक्ताको अवस्थाबारे बुझ्न आन्तरिक राजस्व कार्यालय भरतपुर पुग्दा लायन्सचोक,क्षेत्रपुरमा बडेमानको बिल्डिङ ठड्याएको, कलेजको विज्ञापनमा समेत आफ्नै भव्य फोटो राखेर प्रचारप्रसार गर्ने र विद्यार्थी बोक्न आफ्नै बससमेत सञ्चालन गर्दै आएको भनेरै राजस्व कार्यालय प्रमुखसँग सेन्ट्रल कलेजबारे सोधनी गर्दा प्रमुख कर अधिकृत पुण्यविक्रम खड्काले आफ्नै टेबलमा रहेको स्थानीय दैनिक पत्रिका पल्टाए । पत्रिकाको फ्रन्ट पेजमा ठूलै साइजमा छापिएको कलेजको टावर र वाईबीको फोटोसहितको विज्ञापन उनैले देखाउँदै यसबारे अलि बढी नै निगरानी राख्न आवश्यक देखिएको प्रमुख कर अधिकृतले पनि बताए ।     

उता,अनुगमन अधिकृतसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमसित उनैको कार्यकक्षमा रहेको क्यालेन्डरमा वाईबीको फोटोसहित छापिएको सेन्ट्रल कलेजको विज्ञापन देखाउँदै जिज्ञासा राख्दा उनले पनि त्यसलाई अनुचित मान्दै ‘विज्ञापन छाप्नेले नै हामी यस्तो छाप्दैनौं भन्नुपर्ने हो नि !’ भने । कस्तो किसिमको विज्ञापन राख्न पाउने,नपाउने मापदण्ड स्थानीय पालिकाले तय गर्नुपर्ने विषय भएको सहायक प्रजिअले बताएका थिए । 

नभन्दै यसको भोलिपल्टै गत बिहिबार भरतपुर महानगरपालिका कार्यालयले स्वीकृत मापदण्ड कायम गर्ने तथा कर दाखिलासम्बन्धी जरुरी सूचना निकालेर विज्ञापनमा सञ्चालको तस्बिर हटाउन भनेको छ । यसले राजा, महाराजा शैलीमा आफ्नै फोटो विज्ञापनमा छपाएर गाइजात्रा देखाउँदै आएका वाइबी पौडेललाई ठूलै झट्का परेको छ । 

भरतपुर महानगरपालिका कार्यालयबाट सम्पूर्ण व्यवसायिक संघसंस्था तथा प्रतिष्ठानहरु सबैका नाममा जारी गरिएको सूचनामा भनिएको छ, ‘भरतपुर महानगरपालिका क्षेत्रभित्र रहेका केही स्वास्थ्य संस्थाहरु (अस्पताल,पोलिक्लिनिक, मेडिकलहरु) तथा शैक्षिक परामर्शदाता संस्थाहरु (कन्सल्टेन्सीहरु) लगायत सबै उद्योगी व्यवसायीहरुले आफ्नो व्यवसायिक बजार प्रवर्धन प्रयोजनका लागि गरिने विज्ञापनजन्य सामग्रीहरु (होर्डिङ बोर्ड,फ्लेक्स बोर्ड, लाइट बोर्ड लगायत) राख्ने क्रममा समेत प्रचलित कानुनबमोजिमको मापदण्ड र साइजमा राख्नुपर्नेमा केही व्यवसायीहरुले इजाजत नलिई मापदण्ड विपरीतका अस्वभाविक ठूला साइज तथा सञ्चालकको तस्बिरसमेत राखी अनधिकृत रुपमा विज्ञापन गरेको पाइएको हुँदा यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र महानगरपालिका कार्यालयबाट इजाजत प्राप्त गरी स्वीकृत मापदण्डबमोजिम तस्बिरहरु हटाई नियमित गर्नु गराउनु होला ।’ तोकिएको समयमा सो कार्य भए,गरेको नपाइएमा जुनसुकै व्यवसायिक संस्थाहरुबाट राखिएका इजाजत बेगरका र तस्बिरहरु भएका विज्ञापनजन्य सामग्रीहरु व्यवसाय बन्द गरी हटाइने र सो क्रममा लाग्ने व्ययभारसमेत कानुनबमोजिम सम्बन्धित व्यवसायीहरुबाट असुल उपर गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी गराए । 

टिप्पणीहरू