प्रोपोगण्डामा कमरेडहरू कसरी चुक्छन् ?

प्रोपोगण्डामा कमरेडहरू कसरी चुक्छन् ?

विपक्षीप्रति असहिष्णु र अशिष्ट, पार्टीभित्रैका प्रतिस्पर्धीमाथि निर्मम दमन एमाले अध्यक्ष केपी ओलीको जगजाहेर पहिचान हो । हिजोका नेता माधव नेपाललाई निचोरेर अर्कै दल खोल्न बाध्य पारे । झलनाथ खनाललाई ढिम्किन दिएनन् । वामदेवलाई सधैं उपयोग गरिरहे र भीम रावलबाट समेत खतरा देखेर पाखा लगाए । हिजो आफ्नै निवासको तालाचाबी बुझाएका गोकुल बाँस्कोटादेखि महेश बस्नेतसँगसमेत सम्बन्ध डिलैमा पुगेको देखिन्छ । 

यसबाहेक प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस संयोजक रामशरण बजगाईं र अधिकृत तहका उपस्वकीय अरुण लम्साल प्रधानमन्त्रीका तीन खम्बा हुन् जो भारतीय आमचुनावको अनुगमनदेखि गतहप्ताको साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रमका निम्ति सँगसँगै बेइजिङमा थिए । 

‘भारतमा नरेन्द्र मोदीले म चौकीदार हुँ भन्ने नारा घन्काएका थिए । कहाँ कहाँ यस्ता फण्डा हुने गर्दछन् भनेर खोजी बस्छन् । अनि विष्णुलाई सुझाउँछन्, विष्णुले ओलीलाई बुझाउँछन्’ प्रोपोगाण्डाको स्वरूपबारे स्रोतले प्रष्ट पार्दै भन्यो । तर ओलीले निक्कै प्रतिष्ठाको विषय बनाएको यो अभियानलाई उनैका कुनै समय विश्वासिला गोकुल बाँस्कोटाले अवज्ञा गरेर पार्टी मुख्यालयबाटै सामाजिक सञ्जालमा फोटो हाल्न भएको उर्दीका बीच ‘म कसैको झोले होइन’ भनेर विरोध गरिदिए । आजकाल पनि गोकुलले ओलीको प्रस्तावलाई एकैदिनमा तहसनहस पारिदिएको सगर्व बताउने गरेका छन् । 

एउटै निर्वाचन क्षेत्रमा रिसर्च भन्दै पाँच लाखसम्म उठाउने गरेका लम्साल इलामको उपचुनावमा नराम्ररी चुके । ‘सुहाङ नेम्वाङलाई उठाउँदा एमाले थर्ड हुन्छ भन्ने रिपोर्ट बनाउने उनै हुन्’ स्रोत भन्छ । शंकर पोखरेललाई सो क्षेत्रबाट उठाउने तयारी थियो । तर पश्चिमबाट हारेको मान्छे पूर्व गएर उठ्दा राम्रो सन्देश जाँदैन भन्ने भयो । यसै रिपोर्टमा आधारित हुँदा सुवास नेम्वाङका छोराले पनि नजित्ने, रास्वपा दोस्रो र कांग्रेस तेस्रो हुने रिपोर्ट ल्याएका थिए । सायद त्यतिबेला एमालेलाई दुःख दिएको पहिचानवादीले परिणाम उछिट्याउँछन् भन्ने आकलन थियो । कतिपयले शंकरलाई रोक्नको लागि सर्वेका नाममा यस्तो रिपोर्ट तयार गरिएको पनि बताउने गरेका छन् । तर २०८१ वैशाखमा सम्पन्न उपचुनावबाट एमालेकै नेम्वाङ कांग्रेसका डम्बर खड्कालाई ५८३० मतले पराजित गर्दै विजयी भैदिए । डकेन्द्र लिम्बूले ११ हजार ४५७ मत ल्याए । जमानत जफत हुृनेगरी रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत पाए । 

‘विष्णु रिमाल काम गर्ने र धेरै खट्ने भएकोले प्रधानमन्त्री र आमैलाई यत्तिको खट्ने अर्को मान्छे पाइँदैन भन्ने नै परेको छ । प्रविधि राम्रोसँग बुझ्छन् । भाषा ठीकै छ,’ एमाले स्रोतले भन्यो, ‘रिमाल म्यानेजर मात्र होइनन् । मीठो बोल्ने मात्रैले पुग्दैन, खरो मान्छे पनि चाहिन्छ भन्ने हिसाबले प्रधानमन्त्रीको सचिवालयमा विश्वास जितेरै बसेका हुन् । प्राविधिक पाटोमा बढी काम गर्छन् ।’ विष्णुले भनेपछि ओली पनि केही गरौं भन्नेमा पुग्ने गरेका छन् । रिमालले छुच्चो बोले पनि यसले बिगार्दैन भन्नेमा ओली ढुक्क छन् । ‘तीनै कार्यकाल ओलीसँगै जोडिए पनि आर्थिक रूपमा आरोपित छैनन् । बेला बेला छोरा र भाञ्जाको नामबाट तानिन खोज्छन् । तर नेताप्रतिको बफादारिता र क्षमतामा प्रश्न उठाउने ठाउँ छैन’ स्रोतले भन्यो । 

‘उता शंकर पोखरेल पनि लिप्त भएर कुनै पद पोजिसनको लागि लाग्दैनन् । खासमा केपी ओलीले यसपालि विष्णु पौडेललाई उपप्रधानमन्त्री बनाउन चाहेका थिएनन् । तर अर्थमन्त्री बन्ने मान्छे उपप्रधानमन्त्री हुनुपर्छ भनेर पौडेललाई बनाउन बल गर्ने शंकर हुन् । तर उनै विष्णु शंकरलाई प्रतिस्पर्धी ठान्छन्,’ स्रोत भन्छ, शंकर तिकडम गर्न जान्दैनन् । श्रीमती सुजिताको कारण केहीले जोड्न खोज्छन् । पैसाको धन्दामा लाग्दैनन् । कोशेली बुझेर सरुवा, बढुवा गर्दैनन् । यसमा नेताहरूको प्रष्ट बुझाइ छ ।’
 

टिप्पणीहरू