रेडक्रसले फुटपाथ मिच्दै
समाजसेवाका निम्ति विश्वमै नाम कमाएको रेडक्रस नेपालमा भने आलोचनाको भागी बन्दैछ । बिपदमा उद्धार गर्नु, द्वन्द्वमा परेका पीडितलाई राहतको मलम लगाउनु र रक्त सञ्चार बैंकको व्यवस्थापन गर्नु यसको कर्तव्य हो । तर आधारभूत सिद्धान्त प्रतिकूल कार्य गरेको पुष्टि भएपछि तालुक संस्था आइएफआरसीले कारबाहीस्वरूप विघटनको चेतावनी दिएको छ । नेपाल सरकारसमेत नेपाल रेडक्रस सोसाइटीलाई कारबाही गर्न स्पष्टीकरण प्रक्रियामा गैसकेको छ ।
अस्पताल चोकमा रहेको रेडक्रस कास्कीले सञ्चालन गरेको ब्लड बैंकले दशकौंदेखि फुटपाथ अतिक्रमण गरी बनाएको संरचना हट्ने अझै अनिश्चित छ । वर्षौंअघि निर्मित भवनले पैदलयात्रुलाई सास्ती दिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । अस्पताल चोकको दक्षिण ढोका बायाँपट्टि रहेको भवनमा राखिएको पसलले पैदल यात्रीको अधिकारलाई कुण्ठित बनाएकोदेखिन्छ ।
फुट ट्र्याक अतिक्रमणका कारण ब्यस्त पिच सडकमा ओर्लेर हिँड्नैपर्ने बाध्यता रहेको र सवारी दुर्घटनामा जोखिम रहेको भन्दै थानीयले ११ नम्बर वडा कार्यालय र रेडक्रस कास्की कार्यालयमा पुगेर गुहार मागेका छन् । वडा कार्यालयले २०८२ वैशाख ११ गते रेडक्रस कास्कीलाई मापदण्ड कायम गरी भवन हटाउने सम्बन्धमा पत्राचार गरेको छ । पोखरा १० र ११ नम्बर वडाको सिमानामा रहेको रेडक्रस ब्लड बैंकको मोहोडा खण्डमा रहेको टहराहरूमा ५ वटा ब्यापारिक सटर कबल बनाई पसल थापिएको छ ।
सामाजिक संस्थाले नागरिकको सुरक्षित बाटो प्रयोग गर्ने अधिकारमाथि खेलवाड गरिरहेको दृश्य आमचासोको विषय बनेको छ । तत्कालीन अवस्थामा बाटोको मापदण्ड मिचेर संरचना बनाइए पनि हाल ब्यस्त सडकको अवस्थालाई ध्यानमा राखी अतिक्रमण हटाउनेतर्फ ध्यान जान नसक्नुलाई बिडम्बना मानिएको छ ।
सडकको केन्द्रबाट ३० फिट मापदण्ड छोडेर मात्र संरचना निर्माण गर्नुपर्ने कानुन छ । यसो गर्दा पसलसहित ब्लड बैंक रहेको भवन कार्यालय समेतमा क्षति पुग्न जाने निश्चित छ । स्थानीयको निवेदनपछि ११ नम्बर वडा कार्यालयले रेडक्रस कास्कीलाई पत्र लेखी अतिक्रमण हटाउन भनेको पत्र हामीसँग छ । पत्र देखाउनको लागि मात्र लेखिएको हो वा कानुन कार्यान्वयनका लागि त्यो त भविष्यले देखाउला नै !
रेडक्रसले अतिक्रमण गरेको फुटपाथ कहिले हटाउँछ भन्ने हाम्रो जिज्ञासामा रेडक्रस प्रमुख कृष्णप्रसाद कोइरालाले श्रावणसम्म हटाउने बताए । ब्लड बैंक पनि सोही भवनमा रहेको व्यवस्थापन गर्न केही समय लाग्ने उनैले बताए । यता फुटपाथको सटरमा व्यापार गरिरहेकाहरुले म्याद थप गरिदिन माग गरेकाछन् ।
- यदुनाथ बञ्जारा
टिप्पणीहरू